close

यसपालि दशैंमा घर जान ट्याक्सीकै भर, एपबाटै बुकिङ गर्न सकिने

टेकपाना टेकपाना

असोज ९, २०७७ १८:२४

यसपालि दशैंमा घर जान ट्याक्सीकै भर, एपबाटै बुकिङ गर्न सकिने

काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण देशभर सार्वजनिक यातायात संचालनमा समस्या भइरहेको छ । यही अवस्थालाई मध्यनजर राख्दै इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जान चाहने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ ।

विगत लामो समयदेखि उपत्यकाका ट्याक्सी व्यवसायीलाई व्यवस्थित, मर्यादित र सुरक्षित तरिकाले संचालन गर्न सहयोग गर्दै आएको इजी ट्याक्सीले ‘चाडवाड अफर, ट्याक्सी चढी दशैंमा गाउँघर’ प्याकेज ल्याएको हो ।

जसअनुसार इजी ट्याक्सी नेपाल एपले ट्याक्सीमार्फत घर जाने सुबिधा सहितको बुकिङ खुला गरेको छ । एपमार्फत यात्रुले आफूले चाहेअनुसार ट्याक्सी रिजर्भ तथा बुकिङ गर्न सक्नेछन् ।
अहिलेको विषम परिस्थितीमा इजी ट्याक्सी नेपालले दशैंमा घरजानेहरुका लागि सुरक्षित विकल्प प्रस्तुत गरेको छ ।

इजी ट्याक्सी नेपालको एप डाउनलोड गरी काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने भन्ने कुरा सुनिश्चित गरी ग्रिम बुकिङ गराउन सकिने कम्पनीले जनाएको छ । नेपालमै पहिलो पटक एपमार्फत ट्याक्सी बुकिङ गर्न सकिने सुबिधा आफूहरुले नै ल्याएको इजी ट्याक्सीका अध्यक्ष संजित पौडेलको दाबी छ ।

‘कोभिड १९ ले गर्दा मानिसहरु सुरक्षित रुपमा यात्रा गर्ने माध्यम खोजिरहेका छन्,’ उनले भने, ‘ हामीले ट्याक्सीमार्फत सहज तथा सुरक्षित रुपमा दशैंमा मानिसहरु घर जाने सकुन भन्ने उद्देश्यका साथ यो नयाँ सेवा सुरु गरेका हौं ।’

यसका लागि इजी ट्याक्सी नेपाल एपमा गएर यात्रुले आफ्नो सम्पूर्ण यात्राको विवरण भरेर दर्ता गर्नुपर्नेछ । सोही दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा म्यासेज प्राप्त हुनेछ । उक्त म्यासेज प्राप्त भएसँगै कम्पनीले यात्रुसँग व्यक्तिगत रुपमा बुकिङ सुनिश्चित गर्नेछ ।

इजी ट्याक्सी एपमा कुन स्थानसम्म जाने भनेर छनौट गर्दा यात्रामा लाग्ने शुल्कको जानकारी लिन सकिनेछ । ट्याक्सी बुक भए नभएको जानकारी र ट्याक्सी नम्बरका आधारमा ट्र्याक गर्न सकिने सुविधा समेत यसमा रहेको छ ।

एपमा आबद्ध ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बीमा समेत गरिसकेको छ भने सुरक्षित यात्रा गराउन स्यानिटाइजर, मास्क र पञ्जाको समेत व्यवस्था मिलाएको छ । एपमार्फत यात्रुहरुले सरकारी दररेटमै घरसम्मका लागि ट्याक्सी बुकिङ गर्न र आरामदायी यात्रा गर्न सक्नेछन् ।

इजी ट्याक्सी नेपाल एपमा हाल देशभरका पाँच हजार भन्दा बढी ट्याक्सी आवद्ध रहेका छन् । सेवाग्राहीहरुले हाल आफ्नो मोबाइलमा एप अपडेट गरेर यो सुबिधा लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०