close

विद्यार्थीलाई टेलिकमले दिन थाल्यो सहुलियत दरमा इन्टरनेट, यसरी लिन सकिन्छ सेवा

टेकपाना टेकपाना

असोज १२, २०७७ ९:२२

विद्यार्थीलाई टेलिकमले दिन थाल्यो सहुलियत दरमा इन्टरनेट, यसरी लिन सकिन्छ सेवा

काठमाडाैं । विद्यार्थीका लागि सहुलियत दरमा इन्टरनेट दिने सरकारी याेजना अनुरूप नेपाल टेलिकमले ‘पाठशाला सियुजी सिम’ वितरण गर्न थालेकाे छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अन्तर्गत टेलिकमले सस्तो दरमा यस्ताे सिम दिन थालेकाे हाे ।

याे सिममा अनलिमिटेड भ्वाइस सेवा, पाँच जिबी डेटा र बल्क एसएमएस उपलब्ध हुनेछ । सिमबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेब पोर्टल नि:शुल्क चलाउन समेत सकिन्छ ।

केन्द्रको वेबसाइटमा कक्षा १ देखि १० सम्मको सबै पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुनेछ ।

याे याेजना अनुसार प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको क्लाेज्ड युजर ग्रुप (कज) मा आबद्ध गरिने छ।

कर्पोरेट युजर ग्रुप बनाउनका लागि सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरीलाई एउटा सिमकार्ड दिइनेछ।

सो विद्यालयका प्रत्येक शिक्षकको सिमकार्डको फोन नम्बर संकलन गरेर प्रत्येक विद्यालयका यी फोन नम्बरलाई याे सेवामा आवद्ध गराइन्छ।

कसरी लिने याे सेवा ?

यो सेवाअन्तर्गत सिमकार्डका लागि प्रत्येक विद्यार्थी र शिक्षककाे नागरिकता र परिचयपत्रको फोटोकपी, अभिभावकको नागरिकताको फोटोकपी र एकप्रति फोटो चाहिन्छ।

विद्यार्थीले उनीहरुकै वा अभिभावकको नाममा पनि सिमकार्डलागि अप्लाई गर्न सक्नेछन्।

विद्यार्थी वा अभिभावकलाई उपलब्ध गराइने ‘पाठशाला सीयूजी सिम’ विद्यालयले रितपूर्वक भरेकाे फाराममा स्थानीय निकायबाट सिफरिस लिई नजिकैको नेपाल टेलिकमकाे कार्यालयबाट एकमुष्ट लिन सक्नेछन् ।

याे सिम करबाहेक मासिक ९९ रुपैयाँ उपलब्ध हुनेछ ।

सिम लिएपछि शिक्षक, विद्यार्थी र अभिभावकबीच असीमित कुराकानी गर्न, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस पठाउन सकिने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कम्पनीले प्राविधिक दृष्टिकोणले सम्भव भएसम्म सहुलियत दरमा टोल फ्री नम्बरसमेत उपलब्ध गराउने तयारी गरेकाे छ ।

यसैबीच शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इन्टरनेट नपुगेका सार्वजनिक विद्यालयहरुको गाउँपालिकासहितको नामावली संकलन गरी पठाएपश्चात् नेपाल टेलिकमले विद्यालयमा वायरलेस ब्रोडब्यान्ड प्रविधिबाट इन्टरनेट सेवा दिने तयारी गरेकाे छ ।

यसकाे अध्ययन गरी पाइलटिङ गर्ने र उक्त स्थानमा आफ्नो कार्ययोजनाअनुसार टेलिकमले मोबाइल र एफटीटीएच विस्तार गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०