close

पहिलो पटक आईफोन मिनी ल्याउँदै एप्पल !

टेकपाना टेकपाना

असोज १३, २०७७ १८:२७

पहिलो पटक आईफोन मिनी ल्याउँदै एप्पल !

काठमाडौं । एप्पलले आउँदो महिना (अक्टुबरमा) चारवटा नयाँ आईफोन सार्वजनिक गर्ने भएको छ । बाहिरिएका रिपोर्टअनुसार ती चारवटा आईफोनमा एउटा ५.४ इन्चको डिस्प्ले भएको आईफोन मिनी समेत हुनेछ ।

एप्पलले यसलाई आईफोन ट्वेल्भ मिनीको नाम दिएको छ । आईफोन ट्वेल्भको सबैभन्दा सानो आकारको आईफोनको तस्वीर समेत बाहिएको छ ।

आईफोन ट्वेल्भ मिनीसँगै ६.७ इन्चको आईफोन ट्वेल्भ प्रो म्याक्स र ६.१ इन्चको आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ प्रो मोडेल समेत आउने तरखरमा छन् । रिपोर्टअनुसार एप्पलले पहिलो पटक आफ्नो कुनै फोनमा मिनी शब्द प्रयोग गर्दैछ ।

यस अघि एप्पलले आईप्याड मिनी र आईपड मिनी सार्वजनिक गरेको थियो । आईफोन ट्वेल्भ मिनी आईफोन इलाभेन प्रोभन्दा पनि सानो हुनेछ ।

आईफोन इलाभेन प्रोको आकार ५.८ इन्च रहेको छ । आगामी चारवटै आईफोनमा ओलेड डिस्प्ले हुनेछ र यी फोनले फाइभजीलाई समेत सपोर्ट गर्नेछन् ।

यस्तो छ संभावित फिचर

आईफोन ट्वेल्भ मिनी ५.४ इन्चको ओलेड डिस्प्ले, ए १४ चिपसेट, फाइभजी कनेक्टिभिटी र डुअल क्यामेरा सेटअपका साथ आउने बताइएको छ । एप्पलले यो सिरिजमा आईफोनका चारवटा मोडेल सार्वजनिक गर्नेछ ।

आईफोन ट्वेल्भ प्रो र आईफोन ट्वेल्भ प्रो म्याक्समा तीन वटा क्यामेराको सेटअप हुनेछ । चार वटै मोडलका आईफोनको फ्रन्ट प्यानलमा चारवटा होल देख्न सकिनेछ ।

जसमा सेल्फी क्यामेरा, फेस अनलक सेन्सर, प्रोक्सिमिटी सेन्सर र लाइट सेन्सर आदि हुन सक्छन् । आईफोनको आगामी सिरिजका फोनमा आईओएस फोर्टिन हुनेछ भने डिभाइसमा कयौं महत्वपूर्ण अपग्रेडहरु समेत देख्न सकिनेछ ।

जसमा नेटवर्क अपग्रेड समेत हुने बताइएको छ । आईफोन ट्वेल्भमा ५.४ इन्चको ओलेड सुपर रेटिना डिस्प्ले रहनेछ ।

फाइभजी प्रविधि सपोर्टबाहेक फरक फरक स्टोरेज भेरयन्ट यसमा रहनेछ । चार जीबी र्‍याममा स्टोरेज क्षमतालाई दुई वटा भेरियन्टमा प्रस्तुत गर्ने संभावना छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०