close

अदालतले उल्टायो टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको आदेश

टेकपाना टेकपाना

असोज १२, २०७७ १३:४

अदालतले उल्टायो टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको आदेश

काठमाडौं । अमेरिकाको वासिङ्गटनमा आइतबार अबेर रातिसम्म एक संघीय न्यायाधीशले चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा रोक लगाइदिएका छन् ।

ट्रम्पले हालैमात्र एप राष्ट्रिय सुरक्षाका लागि खतराको विषय बनेको भन्दै टिकटकलाई गुगलको प्ले स्टोर र आईफोनको एप स्टोरमा प्रतिबन्ध लगाउने आदेश दिएका थिए ।

जसमा ट्रम्प प्रशासनको तर्फबाट आइतबारदेखि अमेरिकामा प्ले स्टोर र एप स्टोरबाट टिकटक डाउनलोड गर्न नसकिने बताइएको थियो ।  

यस्तो थियो ट्रम्पको आदेश यस अघि डोनल्ड ट्रम्पले राष्ट्रिय हित रक्षाको हवाला दिँदै टिकटक र विच्याट गरी दुई वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने फैसला गरेका थिए ।

ट्रम्पले यी एपको माध्यमबाट प्रयोगकर्ताका जानकारी ठूलो संख्यामा संकलन भइरहेको दाबी गर्दै त्यसबाट राष्ट्रिय सुरक्षामाथि नै जोखिम उत्पन्न भएको बताएका थिए । एपबाट संकलित डेटामा चिनियाँ कम्प्युनिस्ट पार्टीको एक्सेस रहेको उनको दाबी थियो । 

ट्रम्पले एप प्रतिबन्धको आदेश जारी गरेसँगै संघीय न्यायाधीशको तर्फबाट अस्थायी रुपमा उक्त आदेशमाथि रोक लागेको छ । विशेषज्ञहरुका अनुसार चीनले आफ्नो राष्ट्रिय सुरक्षा जोगाउन एपमाथिको अमेरिकी अधिग्रहण रोक्न आवश्यक कदम चाल्नेछ । 

अमेरिकी सञ्चारमाध्यमहरुमा प्रकाशित रिपोर्टमा टिकटकको  विषयमा प्रतिबन्धको फैसला लिने सन्दर्भमा आफूले वालमार्ट र ओराकलका प्रतिनिधिसँग कुराकानी गरेको ट्रम्पले बताएका छन् । टिकटक चिनियाँ कम्पनी बाइटड्यान्सको एप हो । अमेरिकामा टिकटकका दश करोड प्रयोगकर्ता रहेका छन् । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०