close

ब्लकचेन र क्रिप्टो करेन्सी

सूर्य बस्नेत सूर्य बस्नेत

असोज १३, २०७७ १९:१७

ब्लकचेन र क्रिप्टो करेन्सी

ब्लकचेन प्रविधि क्लस्टर अफ कम्प्युटर (कम्प्युटरहरुको एउटा सञ्जाल) हो । यसमा कुनै एउटा कम्प्युटरले अर्कोलाई कन्ट्रोल गर्ने भन्ने सेन्ट्रलाइज्ड सिस्टम हुँदैन ।

सबैले संयुक्त रुपमा एउटा चेनमा बसेर ब्लक बनाउने र त्यसलाई माइनिङ गर्ने सबैले संयुक्तरुपमा भेरिफाइड गर्ने काम गर्नुपर्ने हुन्छ । जब चेनमा भएका सबै कम्प्युटरहरुले कुनै ब्लकलाई भेरिफाई गर्छन्, अनि मात्रै त्यो ब्लक ब्लकचेनमा थपिन्छ ।

इम्युटेबल (युनिक) क्रिप्टोग्राफिक डिस्ट्रिब्युटेड लेजर र डिसेन्ट्रलाइज्ड अल्गोरिदम प्रयोग गरेर ब्लकचेनले काम गर्छ । ब्लकचेनको हरेक कारोबारमा एउटा ब्लक तयार हुन्छ र त्यसलाई चेनमा भएका सबै कम्प्युटरले भेरिफाई गर्दछन् ।

यसो गर्दा कुनै एउटा कम्युटरको अथवा केन्द्रीकृत अथोरिटीको नियन्त्रणमा नभएर ब्लकचेनमा प्रयोग भएका कम्प्युटरहरुको यसमा एकीकृत किसिमको नियन्त्रण रहन्छ ।

क्रिप्टो करेन्सीलाई ब्लकचेन प्रविधिको अहिलेसम्मको सबैभन्दा प्रभावकारी प्रयोग मानिन्छ । तर यसलाई क्रिप्टो करेन्सीमा मात्र नभएर अन्य विविध क्षेत्र र प्रयोजनमा उपयोग गर्न सकिन्छ ।

उदाहरणको रुपमा म्युजिकलाई ब्लकचेन प्रविधिमा इनकोड गरेर राख्न सकिन्छ । रेकर्डेड म्युजिक बिक्री गर्नुपरेमा अहिले एप्पल, स्पोटिफाई जस्ता माध्यमको प्रयोग गरिन्छ ।

त्यसो नगरीकन यो प्रविधि प्रयोग गर्दा ग्राहकले सोझै म्युजिक बनाउनेबाट त्यसलाई खरिद गर्न सक्दछन् । यद्यपी यो परीक्षणकै चरणमा छ ।   

अहिलेको समयमा ईबुकहरुको खरिद बिक्री अमेजन जस्ता ईकमर्स प्लेटफर्मको माध्यमबाट हुने गर्छ । र त्यसको भुक्तानीका लागि क्रेडिट कार्ड तथा डिजिटल पेमेन्टका माध्यम प्रयोग हुने गर्दछन् ।

जसले गर्दा खरिदकर्ताले क्रेडिटकार्डको मात्र होइन, ईकमर्स प्लेटफर्मको कमिसन समेत व्यहोर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा ग्राहकले महंगो शुल्क तिर्नुपरेको छ भने अर्कोतर्फ लेखकले रोयल्टी मात्रै पाउने तर पुरै नाफा भने अरुले लिने अवस्था बनिरहेको छ ।

तर ब्लकचेन प्रविधि प्रयोग गर्दा थर्डपार्टीले लिने कमिसन तथा नाफा लेखकले नै पाउने अवस्था बन्न पुग्छ । यसरी यो प्रविधि खरिद गर्ने पाठक र सर्जक दुवैका लागि फाइदाजनक हुन्छ । 

शैक्षिक क्षेत्रमा ट्रान्सक्रिप्ट शेयरिङ गर्न, गोप्य विवरण शेयर गर्न, क्राउडफण्डिङ, कृषि, सप्लाइ चेन व्यवस्थापन तथा मनिटरिङ, गभर्नेन्स, सर्टिफिकेट वितरण, डिजिटल आईडी, डिजिटल भोटिङ, वौद्धिक सम्पत्तिको संरक्षण, रियल स्टेटको डेटा संकलन, मेडिकल रेकर्ड राख्न, हातहतियारको ट्र्याकिङ गर्न, आईओटीको व्यवस्थापन गर्न लगायतमा समेत यसलाई प्रयोग गर्न सकिन्छ ।

ब्लकचेन र क्रिप्टो करेन्सीबीचको भिन्नता

सन् १९९० सम्मको इन्टरनेटलाई हामीले वेब १.० को रुपमा बुझ्दछौं । यसमा वेबसाइटहरु स्टाटिक (एकतर्फी) मात्रै थिए । १९९० देखि २००९ सम्मको २.० वेब भर्सनमा ईकमर्स, सामाजिक सञ्जाल, लगायतका बिभिन्न सेवाहरु उपलब्ध हुन थाले ।

अब २००९ पछि विकास भएको ब्लकचेन टेक्नोलोजीलाई हामी त्यही वेब भर्सनको तेस्रो संस्करणको रुपमा लिन सक्छौं । जसले पियर टु पियर (बीचको मध्यस्तकर्ता बिना काम गर्ने प्रणाली) को रुपमा काम गर्दछ ।

अर्थात यसले विभिन्न क्षेत्रमा रहेका एजेन्ट तथा मध्यस्तकर्ता र केन्द्रीकृत नियन्त्रणलाई खारेज गर्दछ । यसरी इन्टरनेटमा चल्ने अहिलेसम्मका प्रविधिमध्ये ब्लकचेनलाई हामी पछिल्लो पुस्ताको प्लेटफर्मको रुपमा बुझ्न सक्छौं । 

अहिलेको वित्तीय शक्ती बैंक तथा वित्तीय संस्थाहरुको नियन्त्रणमा छ । त्यस्ता बैंक तथा वित्तीय संस्थाहरु कारोबारमा एक किसिमको मध्यस्तकर्ताको रुपमा रहेका हुन्छन् । ब्लकचेन प्रविधिमा आधारित क्रिप्टोकरेन्सीले यस्ता बैंक तथा वित्तीय संस्थाको मध्यस्ततालाई बाइपास (खारेज) गरेरै वित्तीय कारोबार गर्न संभव तुल्याउँछ ।

क्रिप्टो करेन्सीका प्रकार

अहिलेसम्म ब्लकचनेमा आधारित ३५०० भन्दा धेरै प्रकारका क्रिप्टोकरेन्सी विकास भइसकेका छन् । जसलाई बिटक्वाइन, अल्ट क्वाइन र टोकन गरी तीन वटा मुख्य अवधारणामा विभाजन गरेर हेर्न सकिन्छ ।

जसमा सबैभन्दा चल्तीका क्रिप्टो करेन्सीमा बिटक्वाइन, इथेरियम, र रिप्पललाई लिन सकिन्छ ।बिटक्वाइन एउटा क्रिप्टोकरेन्सी हो भने अल्ट क्वाइन त्यसैको वैकल्पिक भर्सन जस्तै हो ।

इथेरियम र निओ अल्ट क्वाइन भित्रैका भिन्न आयाम हुन् । अल्ट क्वाइनमा आधारित अहिले हजारभन्दा बढी प्रकारका क्रिप्टोकरेन्सी अस्तित्वमा छन् । केही बन्ने क्रममै रहेका छन् ।

टोकन पनि अल्ट क्वाइनमै आधारित अलि फरक खालको अवधारणा सहित आएको क्रिप्टो करेन्सी हो । नेपालमा पछिल्लो समय चर्चामा रहेको पाई भने क्रिप्टोकरेन्सीको रुपमा अस्तित्वमा आइसकेको छैन ।  

क्रिप्टो करेन्सी फरक फरक प्रकारका भए पनि आपसमा विनिमय गर्न भने मिल्छ । तर परम्परागत मुद्रा जस्तै यसमा पनि आआफ्नै विनिमय दर हुन्छ । अहिलेको समयमा बिटक्वाइन नै सबैभन्दा मूल्यवान क्रिप्टो करेन्सीको रुपमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०