close

ह्वाट्सएपबाट यसरी जोगाउनुहोस् आफ्नो डेटा र मोबाइलको स्टोरेज

टेकपाना टेकपाना

असोज १३, २०७७ २२:१

ह्वाट्सएपबाट यसरी जोगाउनुहोस् आफ्नो डेटा र मोबाइलको स्टोरेज

काठमाडौं । पछिल्लो समय ह्वाट्सएपको प्रयोग निकै बढेको छ । मानिसहरुले भिडियो कलदेखि बालबालिकाको पढाइ र अफिस मिटिङसम्मका अनेकौं कामका लागि यसको प्रयोग गरिरहेका हुन्छन् ।

यदि तपाईं वाईफाईको पहुँचमा हुनुहुन्न भने धेरै डेटा खर्च भइरहेको हुन्छ । जसले गर्दा मोबाइलमा हुने तपाईंको खर्च समेत निकै बढिरहेको हुन्छ । यदि तपाईंले केही टिप्स अपनाउनु भयो भने ह्वाट्सएपमा हुने डेटाको खपतलाई भारी मात्रामा कम गर्न सक्नुहुन्छ ।

ह्वाट्सएपले डेटाकै कारण फोनमा धेरै स्पेस ओगटिरहेको हुन्छ । फोनको मेमोरी फुल हुनुमा समेत यसको योगदान धेरै रहने गर्दछ ।

किन भने भिडियो र फोटो डाउनलोड भएर बस्ने भएकाले त्यसले फोनको धेरै स्पेस ओगटिरहेको हुन्छ । सामान्यतया ह्वाट्सएपबाट अनावश्यक फोटो तथा भिडियो समेत आफै फोनमा डाउनलोड भएर बसिरहेका हुन्छन् ।

जसलाई तपाईं कुनै पनि हालतमा डाउनलोड गर्न चाहनुहुन्न, त्यस्ता फोटो तथा भिडियोको थुप्रो समेत स्मार्टफोनमा स्टोरेजमा लागेको हुन्छ । ह्वाट्सएपमा केही सेटिङ मिलाउने हो भने तपाईंको डेटा र फोनको स्टोरेजको बर्बादीलाई टार्न सक्नुहुन्छ ।

त्यसका लागि के गर्ने ?

सबैभन्दा सुरुमा तपाईंले आफ्नो ह्वाट्सएपको सेटिङमा जानुपर्ने हुन्छ । त्यहाँ अटो डाउनलोड तथा सेभ अप्सनलाई बन्द गर्नुपर्ने हुन्छ ।

त्यसका लागि सबैभन्दा पहिला ह्वाट्सएपको माथि दयाँ कुनामा रहेको तीन वटा थोप्लोमा थिच्नुहोस् । अब त्यसमा रहेको सेटिङमा जानुहोस् । त्यहाँ डेटा एन्ड स्टोरेज युसेजमा ट्याप गर्नुहोस् ।

त्यसपछि मिडिया अटो डाउनलोड देख्न सक्नुहुनेछ । जसमा सुरुमा तपाईंले ह्वेन युजिङ मोबाइल डेटाको अप्सन फेला पार्नु हुनेछ । त्यसभित्र फोटो, अडियो, भिडियो र डकुमेन्टको विकल्प रहेको हुन्छ ।

यसमा सबै ठाउँमा रहेको टिक मार्क (सही चिन्ह) लाई हटाउनुहोस् र ओके बटन थिच्नुहोस् । अब ह्वेन कनेक्टेड वाईफाईमा समेत त्यसै गरी टिक मार्कलाई हटाएर ओके गर्नुहोस् । अब अन्तिममा रहेको कल सेटिङको अगाडिको टोगल (बटन) दबाउनुहोस् ।

यसो गर्दा भ्वाइस कल गर्दाको क्वालिटी केही कमजोर भए पनि तपाईंको मोबाइल डेटालाई जोगाउन भने धेरै सहयोग पुग्नेछ । यति गरेपछि तपाईंको मोबाइलको डेटासँगै फोनको स्टोरेज समेत जोगिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०