close

आईटीका १५ जना छात्रालाई फेलोशिप दिँदै डब्लूएलआईटी

टेकपाना टेकपाना

असोज १४, २०७७ १२:३७

आईटीका १५ जना छात्रालाई फेलोशिप दिँदै डब्लूएलआईटी

काठमाडौं । वुमन लिडर इन आईटी (डब्लूएलआईटी) ले १५ जना छात्रालाई फेलोशिप प्रदान गर्ने भएको छ । संस्थाले स्नातक तहमा आईटी विषय लिएर पढिरहेका छात्रालाई प्राविधिक सीपसँगै नेतृत्व विकास सम्बन्धी तालिम सहितको नौ महिने फेलोशिप दिने भएको हो ।   

यस अघिका वर्षमा काठमाडौं र पोखराका विद्यार्थीलाई लक्षित गर्दै फेलोशिप प्रदान गरिँदै आएकोमा यस पटक भने भर्चुअल रुपमा तालिम प्रदान गरिने हुँदा देशभरबाट आवेदन दिन सकिनेछ ।

डब्लूएलआईटीकी कार्यक्रम निर्देशक  न्हसला जोशीका अनुसार फेलोशिप प्राप्त गर्ने छात्राहरुलाई जाभा स्क्रिप्ट, वेब डेभलपमेन्ट तथा डिजाइनिङ, लिडरशिप तथा पेशागत दक्षता, परियोजना व्यवस्थापन लगायतका विषयमा तालिम दिइनेछ । 

फेलोशिप लिँदालिँदै सामुदायिक स्कुलमा गएर आफूले सिकेको कुरा २० देखि ३० जना विद्यार्थीलाई सिकाउनु समेत पर्नेछ । साथै इन्टर्न अवधिमा प्रतिष्ठित आईटी कम्पनीमा दुईदेखि तीन महिनाको इन्टर्नशिपको व्यवस्था समेत मिलाइने संस्थाले जनाएको छ । 

फेलोशिपका लागि ३५ सय रुपैयाँ शूल्क राखिएको छ । तालिम कार्यक्रमको लागतको रुपमा नभएर कमिटमेन्ट (प्रतिवद्धता) को सामान्य शुल्कको व्यवस्था गरिएको संस्थाले जनाएको छ । फेलोशिपका लागि आउँदो २८ असोजसम्म आवेदन बुझाइसक्नुपर्नेछ । 

यहाँ क्लिक गरी आवश्यक विवरण भरेर फेलोशिपका लागि आवेदन दिन सकिनेछ । जातीय र वर्गीय सहभागीतालाई संस्थाले प्राथमिकता दिने छ ।

फेलोशिप अन्तर्गत प्रदान गरिने तालिमको पाठ्यक्रम डब्लुएलआईटीकै प्राविधिक टिमले तयार पारेको छ । लिडरशिप र डिजाइन थिङ्किङको विषयमा भने संस्थाका पार्टनर कम्पनीहरुबाट तालिमको व्यवस्था मिलाइएको छ । 

सन् २०१५ मा सुरु भएको डब्लूएलआईटीले हालसम्म ८० जना छात्रालाई फेलोशिप प्रदान गरिसकेको छ । संस्थाले फेलोशिप कार्यक्रमसँगै ह्याकाथन, अध्ययन अनुसन्धान लगायतको काम समेत गर्दै आएको छ । 

प्रविधि तथा स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) मा तुलनात्मक रुपमा महिला सहभागीता निकै कम छ । यस क्षेत्रमा रोलमोडल महिलाहरु तयार पार्न सकेको खण्डमा भविष्यमा महिला सहभागीता बढाउन सकिने विश्वासका साथ डब्लूएलआईटी स्थापना भएको हो । 

‘सीप सिकेर मात्र महिलाहरु नेतृत्वमा पुग्न सक्दैनन्,’ कार्यक्रम निर्देशक जोशी भन्छिन्, ‘त्यसका लागि नेतृत्व तहमा पुग्ने आधार समेत तयार पार्न आवश्यक छ । कम्पनीको नेतृत्व तहमा महिला हुँदा मात्रै त्यहाँ महिलामैत्री वातावरण बन्न सक्छ । त्यसैले हामीले सीप विकाससँगै नेतृत्व विकासको क्षेत्रमा काम थालेका हौं ।’ 

डब्लूआईटीले नेपाल दूरसञ्चार प्राधिकरणसहित स्थानीय संघ संस्था तथा कम्पनीबाट सामाजिक उत्तरदायीत्वको रुपमा सहयोग जुटाउँदै आएको छ । यसका साथै योङ फेमिनिस्ट फण्ड (फ्रिदा) को सहयोग समेत संस्थालाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०