close

आईपीएलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको अभियोगमा ३ जना पक्राउ

टेकपाना टेकपाना

असोज १४, २०७७ १८:०

आईपीएलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको अभियोगमा ३ जना पक्राउ

मोरङ । यूएईमामा जारी इन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेट खेलमा अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुकी प्रहरीले मोरङबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१५ भट्टीमोड बस्ने ३८ वर्षीय मुन्ना भनिने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र सोही महानगरपलिका-१७ रानी बस्ने ४२ वर्षीय जगदिश साह रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सत्यजितलाई फेला पारेको थियो ।

उनलाई मोबाइल फोनबाट आईपीएल खेल हार्ने वा जित्ने भनी अनलाइनमार्फत सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न बैजनाथ र जगदिशलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

साथै उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ, तीन थान मोबाइल, एक थान ल्यापटप र एक थान मोटरसाइकल समेत बरामद गरिएको छ । पक्राउ परेका व्यक्तिहरू उपर जुवा तथा सट्टाबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०