close

हाम्रो पात्रोको बेटा भर्सनमा चाहेको समाचार मात्रै देखिने फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

असोज १५, २०७७ २१:२६

हाम्रो पात्रोको बेटा भर्सनमा चाहेको समाचार मात्रै देखिने फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । हाम्रो पात्रो एपको न्युज पर्सनलाइजेसन फिचर बेटा भर्सनमा उपलब्ध भएको छ । कम्पनीले बिहीबार एन्ड्रोइड प्रयोगकर्ताका लागि यसको बेटा भर्सन सार्वजनिक गरेको हो । 

अबको केही दिनमा आईओएस प्रयोगकर्तालाई समेत यो फिचरको बेटा भर्सन उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले आफ्नो व्यक्तिगत रुची र प्राथमिकताअनुसार चाहेजस्तै न्युज फिड तयार पार्न सक्ने गरी यो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ ।

एपको समाचार खण्डमा ‘For You’ अर्थात ‘तपाईंको लागि’ अप्सनको रुपमा रहने यो फिचर प्रयोग गरी तपाईंले समाचार स्रोत र समाचारको क्याटेगरी (वर्ग) रोज्न सक्नुहुनेछ । हाम्रो पात्रोले सन् २०१४ मा पहिलो पटक समाचार पढ्न सकिने फिचर ल्याएको थियो ।

हाल यो फिचर हाम्रोपात्रो एपको लोकप्रिय फिचर बनेको छ । एपमा हाल ६० भन्दा बढी न्युज पोर्टलहरु पार्टनरको रुपमा रहेका छन् । समाचार माध्यमहरु धेरै हुँदा प्रयोगकर्तालाई आफूले चाहजस्तै समाचार फेला पार्न कठिनाइ हुने गरेको छ ।

प्रयोगकर्ताको मागअनुरुप यस किसिमको अहसहजतालाई अन्त्य गर्न हाम्रो पात्रोले यो फिचर ल्याएको हो । हाल सीमित प्रयोगकर्तामाझ परीक्षणको क्रममा रहेको यो फिचर अर्को सातासम्म पब्लिक भर्सनको रुपमा सबैका लागि उपलब्ध हुने हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले जानकारी दिए ।

कसरी प्रयोग गर्ने हाम्रो पात्रोको बेटा भर्सन ?

हाम्रो पात्रोको एन्ड्रोइड बेटा भर्सन प्रयोग गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् । 

अब ‘बिकम अ टेस्टर’ बटनमा ट्याप गर्नुहोस् । 

यति गरेसँगै तपाईंको मोबाइलमा रहेको हाम्रो पात्रो स्वतः बेटा भर्सनमा रुपान्तरण हुनेछ । 

यदि तपाईंको स्मार्टफोनमा हाम्रो पात्रोको एप इन्स्टल गरिएको छैन भने यहाँ क्लिक गरी डाउनलोड गर्नुहोस् ।

अब हाम्रो पात्रो एप खोल्नुहोस् र समाचार खण्डमा प्रवेश गर्नुहोस् । 

त्यहाँ अब तल पुछारको दोस्रो विकल्पमा ‘तपाईंका लागि’ विकल्प देख्नुहुनेछ, त्यसमा दबाउनुहोस् ।

हाम्रो पात्रो लगइन छैन भने त्यहाँ दिइएको लगइन बटनमा थिच्नुहोस् ।

लग इन गरेसँगै तपाईंले अब प्लस (जोड) चिन्ह देख्नुहुनेछ, त्यसमा दबाउनुहोस् । 

अब त्यहाँ देश, साहित्य, स्वास्थ्य, प्रविधि, अर्थ, विश्व, मनोरञ्जन, खेलकुद जस्ता समाचार वर्गहरु देख्नुहुनेछ । 

त्यसमा आफूलाई मन पर्ने वर्गहरु छान्नुहोस् र माथि दायाँ कुनामा रहेको ‘अर्को’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ तपाईंले विभिन्न न्युज पोर्टलहरु देख्नुहुनेछ ।

जसबाट तपाईं कुन कुन न्युजपोर्टलको समाचार पढ्न चाहनुहुन्छ रोजेर माथि दायाँ कुनामा रहेको ‘भयो’ मा दबाउनुहोस् ।  

यति गरेसँगै अब हाम्रो पात्रोको एपमा अघिकै ‘तपाईंको लागि’ अप्सनमा जानु भयो भने त्यहाँ तपाईंले रोजेका समाचार मात्रै देखा पर्नेछन् । 

यदि तपाईं हाम्रो पात्रोको बेटा टेस्टिङ भर्सनबाट पब्लिक भर्सनको एपमा फर्किन चाहनुहुन्छ भने यसलाई अनइन्स्टल गरी पब्लिक भर्सनको एप इन्स्टल गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०