close

चाडपर्व लक्षित सहुलियत पसलमा क्यूआर कोड प्रयोग गर्दै सरकार

टेकपाना टेकपाना

असोज १६, २०७७ १८:२५

चाडपर्व लक्षित सहुलियत पसलमा क्यूआर कोड प्रयोग गर्दै सरकार

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएका पसलहरुमा क्यूआर कोड प्रयोग गरिने भएको छ । कोभिड १९ को जोखिमलाई कम गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ सरकारले क्यूआर भुक्तानीमा जोड दिएको हो ।

वाणीज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अनलाइन अर्डर तथा डेलिभरी र बिक्री स्थलमा क्यूआर कोड प्रयोग गरिने बताएका छन् ।

सुवेदीले ट्वीट गर्दै भनेका छन्, ‘आउँदै गरेको चाडपर्व लक्षित गरी सञ्चालन गरिएका सहुलियत पसलमा समेत यी विकल्पको प्रयोगलाई विस्तार गर्ने तयारी भइरहेको छ । सुरक्षित सेवा लिन आग्रह समेत गर्दछौं ।’

सरकारले दशैं, तिहार र छठ पर्व लक्षित गरी सञ्चालनमा ल्याउने ‘सहुलियत पसल’ यसवर्ष अनलाइनबाट पनि उपलब्ध हुनेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका देशभर रहेका कार्यालय, डिपो, डिलरका साथै घुम्ती सेवा पसल एवम् अनलाइन मार्फत उपभोक्ताले सहुलियत रुपमा सामान खरिद गर्न सक्नेछन् ।

दशैको बजार महंगो हुने भएकाले सरकाले लामो समयदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने गरेको छ । उक्त पसलमा उपभोक्ताले सहुलियत मूल्यमा दैनिक उपभोग्य खाद्य वस्तुहरु चामल, चिनी, नून, सिमी (गेडा), दाल, खसी र च्याङ्ग्रा लगायतका सामान उपलब्ध हुनेछ ।

उक्त सामान अनलाइनबाटै पनि खरिद गर्न सकिने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी जावलाखेल, भक्तपुरका साथै घुम्ती सेवा सहित ४९ स्थानबाट यो सेवा उपलब्ध हुनेछ ।

अनलाइनबाट गरिएको सामानको हाेम डेलिभरी पनि उपलब्ध हुनेछ । दुग्ध विकास संस्थानका केन्द्रहरू लैनचौर, न्यूरोड, खुमलटारका साथै तोकिएका अन्य स्थानबाट असोज १५ गते देखि छठ पर्वको भोलिपल्टसम्म सामान खरिद गर्न सकिने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०