अब ईसेवाबाट १ हजारसम्मको बैंक ट्रान्सफर निःशुल्क

काठमाडौं । ईसेवा वालेटबाट निःशुल्क रुपमा एक हजार रुपैयाँसम्मको बैंक ट्रान्सफर गर्न सकिने भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनीले आफ्ना प्रयोगकर्ताको सहजताका लागि यस्तो योजना ल्याएको हो । ईसेवाका अनुसार यो सेवा ग्राहकले दिनमा दश पटकसम्म र महिनामा ५० पटकसम्म उपयोग गर्न सक्नेछन् ।
त्यस माथिको बैंक ट्रान्सफर तथा विथड्रमा भने २० रुपैयाँदेखि माथिको शुल्क लाग्नेछ । जसअनुसार १० हजार रुपैयाँसम्मका लागि २० रुपैयाँ, २० हजार रुपैयाँ ट्रान्सफरका लागि ३० रुपैयाँ र ३० हजार रुपैयाँ ट्रान्सफरका लागि ४० रुपैयाँ शुल्क तोकिएको छ ।
यस्तै ५० हजार रुपैयाँ ट्रान्सफरका लागि ६० रुपैयाँ र एक लाख रुपैयाँसम्म ट्रान्सफरका लागि ७५ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । ईसेवाका ग्राहकले आफ्नो एउटा बैंक अकाउन्टलाई ‘सेभ्ड अकाउन्ट’ तथा ‘फ्रि अकाउन्ट’ को रुपमा राख्न पाउनेछन् ।
जसमा प्रयोगकर्ताले निःशुल्क रुपमा रकम ट्रान्सफर तथा विथड्रको सुविधा पाउनेछन् । यसमा पाँच हजार रुपैयाँसम्म अथवा महिनामा तीन पटकसम्म निःशुल्क विथड्रको सुविधा पाउन सक्नेछन् । यस्तो बैंक खाताबाट त्यसमाथिको रकम विथड्रमा भने नियमित शुल्क लाग्नेछ ।
यस्तो छ ईसेवाबाट बैंक ट्रान्सफरमा लाग्ने शुल्क
कारोबार रकम | सेवा शुल्क |
१०० देखि १,००० सम्म | ० रुपैयाँ |
१,००१ देखि १०,००० सम्म | २० रुपैयाँ |
१०,००१ देखि २०,००० सम्म | ३० रुपैयाँ |
२०,००१ देखि ३०,००० सम्म | ४० रुपैयाँ |
३०,००१ देखि ४०,००० सम्म | ५० रुपैयाँ |
४०,००१ देखि ५०,००० सम्म | ६० रुपैयाँ |
५०,००१ देखि १,००,००० सम्म | ७५ रुपैयाँ |