close

समाचार प्रकाशकलाई १ अर्ब डलर बाँड्दै गुगल

टेकपाना टेकपाना

असोज १९, २०७७ १६:१८

समाचार प्रकाशकलाई १ अर्ब डलर बाँड्दै गुगल

काठमाडौं । गुगलले विश्वका समाचार प्रकाशकहरुलाई एक अर्ब डलर (करिब एक खर्ब १८ अर्ब रुपैयाँ) रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ । यो रकम आगामाी तीन वर्षको अवधिमा उपलब्ध गराइने छ ।

त्यसका लागि गुगलले ‘गुगल न्युज शोकेस’ को तयारी गरेको छ । जसमा कम्पनीसँग सहकार्य गर्ने प्रकाशकका समाचारलाई प्राथामिकता दिइनेछ ।

यसअघि पनि गुगलले विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार आफ्नो वेबपेजमा समेत राख्ने गरेको थियो । यसरी समाचार राख्ने र त्यसबापतको कुनै भुक्तानी नहुने खालको परिपाटी विद्यमान थियो ।

जसले गर्दा विश्वका चर्चित पत्रिका तथा समाचार एजेन्सीहरुले आफ्ना सामग्रीको उचित भुक्तानीको माग गर्दै आएका थिए । त्यसैलाई सम्बोधन गर्दै गुगलले नयाँ प्रडक्टको तयारी गरेको गुगलका सीईओ सुन्दर पिचाईले जनाकारी दिएका छन् ।

उनका अनुसार यो सेवाको सुरुवात जर्मनीबाट सुरु हुनेछ । जसमार्फत गुगल प्रयोगकर्ताले जर्मनीका विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार एकै ठाउँ पढ्न सक्नेछन् ।

यसको उद्देश्य उच्च गुणस्तरीय सामग्रीहरु सिर्जना तथा सम्पादन गरी उत्कृष्ट समाचारको अनुभव दिलाउनेमा रहेको छ । जर्मनी पछि यसलाई ब्राजिलमा सुरु गरिने गुगलले जनाएको छ ।

त्यसपछि क्रमशः बेल्जियम, अष्ट्रेलिया, भारत, अर्जेन्टिना, नेदरल्याण्ड, क्यानडा तथा बेलायत लगायतका देशमा यो सेवा सुरु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०