close

अब सार्वजनिक यातायातमा विद्युतीय भुक्तानीको व्यवस्था गर्नुपर्ने

टेकपाना टेकपाना

असोज १९, २०७७ २०:२८

अब सार्वजनिक यातायातमा विद्युतीय भुक्तानीको व्यवस्था गर्नुपर्ने

काठमाडौं । सरकारले सार्वजनिक यातायातमा विद्युतीय भुक्तानी प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक यातायात सञ्चालन निर्देशिका जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।

निर्देशिकाको ५.१ को छ मा भाडा अशुलीका लागि वैकल्पिक उपायको अवलम्बन गर्ने सम्बन्धी व्यवस्था गरिएको छ । जसमा सकभर भाडा भुक्तानीका लागि मोबाइलमा आधारित स्क्यान एन्ड पे वा कन्ट्याक्टलेस कार्ड प्रणाली सुरुवात गर्ने उल्लेख छ ।

अनलाइन तथा इलेक्ट्रोनिक भुक्तानीको व्यवस्था सम्भव नभएमा यात्रुसँग भाडा संकलन गर्दा भौतिक सम्पर्क नहुने वा सामाजिक दुरी कायम गर्नका लागि यात्रुले भाडा संकलन बाकसमा भाडा बराबरको रकम स्वयम् राख्न सकिने गरी व्यवस्था मिलाउनुपर्नेछ ।

जसमा अगाडि भनिएको छ, ‘भाडा भुक्तानीको लागि यात्रुहरुले टिकट काउन्टरबाट एक पटक वा धेरै पटक वा कुनै निश्चित अवधिका लागि मान्य हुने टिकट किन्न सक्ने व्यवस्था मिलाउने, सकभर भाडा असुलीमा प्रत्यक्ष नगदको प्रयोग नगर्ने ।’

मन्त्रालयले यातायात सेवा सहज, सस्तो, सुरक्षित, भरपर्दो र प्रविधिमैत्री बनाउन सकेको खण्डमा यातायात प्रणालीको उच्च गुणस्तरलाई प्रत्याभूति दिन सकिने विश्वास व्यक्त गरेको छ । कोभिड १९ को जोखिम कम गर्नका लागि मानिसहरुको भिडभाड कम गर्न र आपसमा सामाजिक दुरी कायम गर्न विद्युतीय भुक्तानी लगायतका वैकल्पिक उपायको प्रबन्ध गरिएको हो ।

विस्तृत निर्देशिका पढ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०