close

१०८ मेगापिक्सेल क्यामेरा र १४४ हर्ज रिफ्रेश रेट भएको फोन एमआई टेन सार्वजनिक

टेकपाना टेकपाना

असोज १९, २०७७ २१:१९

१०८ मेगापिक्सेल क्यामेरा र १४४ हर्ज रिफ्रेश रेट भएको फोन एमआई टेन सार्वजनिक

काठमाडौं । साओमीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन एमआई टेन टी प्रो सार्वजनिक गरेको छ । यो फोन पनि आफ्ना पूर्वर्ती एमआई नाइन र नाइन टी प्रोको जस्तै फिचर र स्पेसिफिकेसनमा केन्द्रीत छ । 

सन् २०१९ मा बजारमा उपलब्ध स्मार्टफोनहरुमा एमआई नाइन टी प्रो एउटा उत्कृष्ट फोन रहेका कारण मानिसहरुले टेन टी प्रोबाट पनि ठूलो अपेक्षा राखेका छन् । 

यो फोनको विशेष फिचर भनेको यसको स्क्रिन र ब्याट्री नै हो । यसमा ६.६७ इन्चको १०८० पिक्सेल २०:९ एलसीडी स्क्रिन छ । यसको स्क्रिनको रिफ्रेश रेट पनि १४४ हर्जको रहेको छ । जुन हाई इण्ड गेमिङ मनिटरमा मात्र पाउन सकिन्छ । 

यसको स्क्रिनमा एलसीडी प्यानलको प्रयोग भएको छ भने फिङ्गरप्रिन्ट सेन्सर पावरबटनतिर रहेको छ । ब्याट्रीको कुरा गर्दा यसमा पाँच हजार एमएएचको ब्याट्री रहेको छ । जुन अहिलेका कमै मात्र फ्ल्यागशिप फोनहरुमा देखिन्छ । ९.३३ एमएम मोटाइ भएको यस फोनको तौल २१८ ग्राम रहेको छ । 

यसमा ३३ वाटको यूएसबी टाइप सी फास्ट चार्जिङ राखिएको छ । यो फोनबाट साओमी कम्पनीले सस्तो मूल्यमा हाई पर्फमेन्स दिने लक्ष्य लिएको छ । 

यसमा स्नापड्रागन ८६५ प्रोसेसर रहेको छ भने आठ जीबी र्‍याममा १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा आएको छ । यसमा ह्यापटिक फिडब्याक सिस्टम, स्टेरियो स्पिकर र २० मेगापिक्सेलको पन्च होल सेल्फी क्यामेरा रहेको छ । 

क्यामेराकै कुरा गर्दा यसको ब्याक सेटअपमा निकै ठूलो क्यामेरा बम्प रहेको छ । जसमा १०८ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ । यस्तै बाँँकी चार साना मोड्युलमा एउटा १३ मेगापिक्सलको अल्ट्रावाइड, पाँच मेगापिक्सेलको म्याक्रो क्यामेरासँगै एउटा एलईडी फ्ल्याश रहेको छ । 

यस्तै एमआईको अर्को मोडल एमआई टेन टी पनि रहेको छ । टेन टी र टेन टी प्रोबीच ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर र छ जीबी र्‍याममा मात्र फरक छ । 

यस्तै अर्को एमआई टेन टी केही हलुका रहेको छ । यसमा भने स्नापड्रागन ७५० जी प्रोसेसर, ४,८२० एमएएचको ब्याट्री र १२० हर्जको एलसीडी स्क्रिन रहेको छ । बाँकी सबै फिचरहरु यी दुवै फोनमा उस्तै छन् । 

तर एमआई टेन प्रोको तुलनामा एमआई टेन टी प्रोमा स्लिकर डिजाइन, सानो बेजल र कर्भ्ड ओलेड प्यानल भने छैन । साथै यसमा इनडिस्प्ले सेन्सर र भर्सटाइल क्वाड क्यामेरा पनि छैन । तर यसको रिफ्रेश रेट र ब्याट्री क्षमता भने अभूतपूर्व नै छ । तर साओमीले हालसम्म यो फोनको मूल्य भने सार्वजनिक गरेको छैन । 

हालै विश्वबजारमा आएको एमआई टेन टीको मूल्य ४९९ युरो (६८ हजार २५० रुपैयाँ) तथा टेन टी प्रोको मूल्य ५९९ युरो (८२ हजार) रहेको छ । नेपालमा समेत संभवतः त्यसैको आसपासमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

यही अक्टोबर १५ मा छिमेकी भारतमा सार्वजनिक हुने यो फोन नेपालमा सार्वजनिक हुने विषयमा हालसम्म आधिकारिक तवरमा कुनै जानकारी प्राप्त भएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०