close

गुगल प्ले स्टोरको विकल्पमा पेटीएमले सार्वजनिक गर्‍यो मिनी एप स्टोर

टेकपाना टेकपाना

असोज २०, २०७७ ८:२

गुगल प्ले स्टोरको विकल्पमा पेटीएमले सार्वजनिक गर्‍यो मिनी एप स्टोर

काठमाडौं । पेटीएम डिजिटल पेमेन्ट एपले सोमबार नयाँ पेटीएम मिनी एप स्टोर सार्वजनिक गरेको छ । भारतका प्रविधि उद्यमीहरुले गुगलको एकाधिकारको अन्त्य गर्न भारतमा आफ्नो राष्ट्रिय एप स्टोर सुरु गर्ने घोषणा गरेको केही दिनपछि पेटीएम मिनी एप स्टोर सार्वजनिक भएको हो ।

तर पेटीएम मिनी एप स्टोरले आम समुदाले अपेक्षा गरेको जस्तो स्वदेशी एप तथा डेभपरलाई भने ठाउँ दिएको छैन । यसले इन्स्टलेसनको खाँचो नपर्ने वेब ब्राउजरभित्र चल्नसक्ने लाइट प्रोग्रेसिभ वेब एपहरुको लिङ्क होस्ट गरिरहेको छ । 

हाल यो मिनी एप स्टोरमा केही थोरै एपहरु मात्र छन् । तर कम्पनीले आगामी दिनमा तीन सयभन्दा धेरै एपहरु राख्ने बताएको छ ।

पेटीएमको प्रेस विज्ञप्ति अनुसार यो एप भारतका साना डेभलपर तथा व्यवसायीहरुलाई जाभा स्क्रिप्ट र एचटीएमएल प्रयोग गरेर न्यून मूल्यमा सजिलै बनाउन सकिने एपहरु निर्माण गर्नका लागि डिजाइन गरिएको हो । 

पेटीएम एपभित्र छुट्टै विण्डोमा ओपन हुने यो मिनी एप स्टोरमा एपहरु निःशूल्क रुपमा सूचिकृत हुन सक्छन् । पेटीएमले डेभलपरहरुलाई पेटीएम वालेट, पेटीएम पेमेन्ट बैंक र यूपीआई लगायत निःशूल्क पेमेन्ट एभिन्यूहरु प्रदान गर्ने बताइएको छ । 

यद्यपी क्रेडिट कार्ड प्रयोग गरेर गरिएको भुक्तानीमा दुई प्रतिशत लेभी चार्ज लाग्ने कम्पनीले बताएको छ । डेभलपरहरुका लागि पेटीएमले एनालिटिक्स, पेमेन्ट कलेक्स र विभिन्न मार्केटिङ टूलका लागि ड्यासबोर्ड प्रदान गरेको छ । 

तर हाल यो एप आफ्नो बेटा टेस्टिङ चरणमा रहेको कम्पनीले बताएको छ । गत सेप्टेम्बरमा यसमा करब एक करोड २‍० लाख भिजिट भइसकेको उसले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०