close

सेकेन्ड ह्याण्ड फोन किन्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

टेकपाना टेकपाना

असोज २०, २०७७ ९:८

सेकेन्ड ह्याण्ड फोन किन्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

काठमाडौं । पछिल्लो समय सेकेन्ड ह्याण्ड स्मार्टफोनको व्यापार राम्रैसँग बढेको छ । यसका लागि फेसबुक ग्रुप मात्र नभएर ईकमर्स कम्पनीले व्यवसायिक रुपमा नै सेकेन्ड ह्याण्ड मोबाइल खरिद बिक्रीमा काम गरिरहेका छन् ।

यस्ता अनलाइन माध्यम माध नभएर अफलाइनमा समेत सेकेन्ड ह्याण्ड स्मार्टफोनको कारोबार हुने गरेको छ । काउन्टरप्वाइन्टको अनुसन्धानले अमेरिका र युरोपमा मात्रै गत वर्ष प्रयोग भइसकेका १३ करोड ७० लाख वटा स्मार्टफोन बिक्री भएका थिए ।

नेपालमा भने वार्षिक रुपमा कति संख्यामा यस्ता स्मार्टफोन बिक्री हुन्छन् भन्ने विषयमा खासै अनुसन्धान हुन सकेको छैन । यदि तपाईं सेकेन्ड ह्याण्ड फोन किन्ने सोचमा हुनुहुन्छ भने ध्यान दिनुपर्ने केही महत्वपूर्ण विषयमा बताउँदै छौं । ता कि तपाईंलाई कुनै किसिमको हानी, नोक्सानी अथवा झमेला व्यहोर्न नपरोस् ।

१. फोनको मूल्य

तपाईं जुन सेकेन्ड ह्याण्ड फोन खरिद गर्दै हुनुहुन्छ त्यो फोन कहिले सार्वजनिक भएको थियो र त्यसको अहिलेको मूल्य कति छ भन्ने कुरा पत्ता लगाउनुहोस् । कतिपय समय सेकेन्ड ह्याण्ड फोनको मूल्य त्यसको नयाँ मोडलको आसपास हुन सक्छ अथवा अन्तर एकदमै थोरै हुन्छ ।

उदाहरणको लागि तपाईं जुन सेकेन्ड ह्याण्ड स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ त्यसको मूल्य १० हजार छ भने त्यसको नयाँ मोडेल १२ हजार रुपैयाँमै हुनसक्छ ।

२. फोनको एक्सेसरिज

चार्जर एडप्टर, यूएसबी केबल, इयरफोन लगायतका फोनसँगै आउने एक्सेसरिजले राम्रोसँग काम गरिरहेका छन् कि छैनन् भन्ने कुरा पनि चेकजाँच गर्नुहोस् । साथै यूएसबी केबलबाट डेटा ट्रान्सफर भइरहेको छ कि छैन भन्ने कुरा पनि चेक गर्न जरुरी छ ।

सबैभन्दा महत्वपूर्ण विषय यी एक्सेसरिज ओरिजिनल हुन् वा होइनन् भन्ने कुरा पनि हेरिहाल्नुहोस् । सामान्यतया मोबाइल कम्पनीहरुले यस्ता एक्सेसरिजमा ६ महिनाको वारेन्टी दिइरहेका हुन्छन् ।

३. फोन फर्मेट गर्नुहोस्

फोनमा सिम राख्नु अगाडि त्यसमा दुई वा तीन पटक फर्मेट तथा फ्याक्ट्री रिसेट गर्नुहोस् । फोनमा कुनै प्रि इन्स्टल्ड एप वा कुनै बग अथवा भाइरस भएको खण्डमा यसबाट त्यसलाई हटाउँछ ।

फोनलाई फर्मेटका लागि सेटिङमा गएर सेक्युरिटी हुँदै फर्मेट वा फ्याक्ट्री रिसेटको अप्सन फेला पार्न सक्नुहुनेछ । त्यसमा ट्याप गर्नुहोस् । अब फोनमा सिम र मेमोरी कार्ड राखेर अन गर्नुहोस् ।

फोन अन भइसकेपछि मेमोरी कार्ड रिड हुन्छ वा हुँदैन भन्ने कुरा यकिन गर्नुहोस् । र मोबाइलको नेटवर्क कत्तिको आइरहेको छ त्यो पनि ख्याल राख्नुहोस् ।

४. डिस्प्ले र क्यामेराको जाँच गर्नुहोस्

जब फोन अन हुन्छ तब सबैभन्दा पहिले फोनकको स्क्रिनका सबै भागमा टच गरेर हेर्नुहोस् । सकेसम्म फोनमा कुनै गेम खेलेर यसको जाँच गर्न सक्नुहुन्छ ।

यसबाट फोनको डिस्प्ले कत्तिको प्रभावकारी छ भन्ने कुरा थाहा हुन्छ । साथै फोनको रियर तथा फ्रन्ट क्यामेरालाई समेत राम्रोसँग चेकजाँच गर्नुहोस् ।

यसबाट क्लिक गर्दा निस्किने फोटोको क्वालिटी सही छ वा छैन त्यो पनि विचार गर्नुहोस् । अब फोनबाट कल गरेर चेक गर्नुहोस् । फोनमा उचित किसिमले नेटवर्क र आवाज आइरहेको छ वा छैन विचार पुर्‍याउनु होस् ।

५. कनेक्टिभिटी र ब्याट्री ब्याकअप

फोन कति समयमा फुल चार्ज हुन्छ र त्यसको ब्याट्री कति समयसम्म टिक्छ भन्ने कुराको पनि ख्याल राख्नुहोस् । साथै फोनका कनेक्टिभिटी फिचरलाई समेत जाँच पड्ताल गर्न नबिर्सिनुहोस् । यदि फोनले ओटीजी केबललाई सपोर्ट गर्दछ भने त्यसमा पेनड्राइभ लगाएर हेर्नुहोस् ।

६. बिल र आईएमईआई

अन्तिम अनि सबैभन्दा महत्वपूर्ण कुरा तपाईं जुन सेकेन्ड ह्याण्ड स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ त्यसको इन्वाइस बिल चेक गर्न नबिर्सिनुहोस् । फोन बिक्री गर्ने व्यक्तिले बिल हराइसकेको बताउन सक्छ ।

यदि मोबाइल चोरीको वा हराएको रहेछ भने तपाईं अनावश्यक रुपमा प्रहरीको झमेलामा पर्न सक्नुहुन्छ । त्यसैले सकेन्ड ह्याण्ड मोबाइल किन्दा पुरानो बिल लिन चाहिँ नबिर्सिनुहोस् ।

फोनको आईएमईआई नम्बर चेक गरेर बिलसँग दाँजेर हेर्नुहोस् । मोबाइलमा *#06# डायल गरेर फोनको आईएमईआई नम्बर थाहा पाउन सक्नुहुन्छ । यसरी बिलमा भएको आईएमईआई नम्बर र मोबाइलमा देखिएको आईएमईआई नम्बर एउटै भएको सुनिश्चित गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०