close

नेपालका ७५०० स्थानमा फेसबुकको एक्सप्रेस वाईफाई

टेकपाना टेकपाना

असोज २२, २०७७ १४:३९

नेपालका ७५०० स्थानमा फेसबुकको एक्सप्रेस वाईफाई

काठमाडौं । फेसबुकले नेपालमा एक्सप्रेस वाईफाई सेवा सुरु गरेको घोषणा गरेको छ । कम्पनीले नेपालको सबैभन्दा ठूला इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कसँगको सहकार्यमा नेपालमा नेपालका सात हजार ५०० स्थानमा एक्सप्रेस वाईफाई दिन थालेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत वर्ल्डलिङ्कले फेसबुकसँगको सहकार्यको विषयमा आधिकारिक रुपमा जानकारी गराएको हो । वर्ल्डलिङ्कका अनुसार फेसबुकले उपलब्ध गराउँदै आएको एक्स्प्रेस वाईफाई नेपालका सार्वजनिक स्थानमा उपलब्ध गराइनेछ ।

फेसबुकले एक्स्प्रेस वाईफाईका लागि विभिन्न देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्दै आएको छ । त्यसमा हाललाई एसियाका भारत र नेपालमा मात्र यस्तो सेवा यो सेवा उपलब्ध हुनेछ ।

दुई कम्पनीबीचको सहकार्यबाट नेपालमा सस्तो, भर पर्दाे र उच्च गतिको पब्लिक वाईफाई प्रदान गरिनेछ । त्यसका लागि फेसबुकले वर्ल्डलिङ्कलाई आवश्यक पूर्वाधार तथा सामग्री समेत उपलब्ध गराउनेछ ।

वर्डलिङ्कले नेपालमा फ्री वाईफाई दिन थालेको दुई तीन वर्ष भइसकेको भन्दै कम्पनीका सीईओ केशव नेपालले यो सहकार्यबाट त्यसमा थप सहयोग पुग्ने बताए ।

वर्ल्डलिङ्कका वाईफाई प्रोजेक्टका म्यानेजर पुनित मानन्धरले हाल देशभर १० हजार साइटमा पब्लिक वाईफाई उपलब्ध गराइएको जानकारी दिए । जसलाई पनि जहाँ पनि जुनसुकै समयमा पनि कनेक्ट गराउने भिजनका साथ यो परियोजना सुरु गरिएको बताए ।

‘यो हाम्रो सबैभन्दा ठूलो सामाजिक उत्तरदायीत्वको योजना हो,’ उनले भने, ‘यो निःशूल्क भए पनि लिमिटेड छ । यसलाई दुरुपयोग हुनबाट रोक्न केवाईसी अनिवार्य गरेका छौं ।’

दश हजार साइटमा ७५०० साइटमा फेसबुकको एक्सप्रेस वाईफाईबाट सेवा दिइरहेको जानकारी दिँदै मानन्धरले एक पटक कम्पनीको नेटवर्कमा कनेक्ट भइसकेपछि अबको समयमा कम्पनीको वाईफाई भएका सबै ठाउँमा स्वचालित रुपमा कनेक्ट हुने बताए ।

प्रयोगकर्ताले कम्पनीको पब्लिक वाईफाईमा कनेक्ट हुन् आफ्नो मोबाइल नम्बर राखिसकेपछि कोड प्राप्त हुने र त्यससबाट सजिलै रजिस्टर गर्न सकिनेछ । देशका ३० हजार ठाउँमा यो फ्री वाईफाई विस्तार गर्ने योजना वर्ल्डलिङ्कले बनाएको छ ।

कम्पनीले इन्टरनेट नपुगेका स्थानहरुलाई प्राथमिकतामा राख्दै फ्री वाईफाई विस्तार गर्ने जनाएको छ । लोकल नम्बर नरहेका व्यक्तिहरुले ह्वाट्सएप नम्बर राखेरै फ्री वाईफाईमा कनेक्ट हुन पाउनेछन् ।

फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले  फोरजी नेटवर्कमा परेको चाप घटाउँदै प्रयोगकर्तालाई हाई स्पीड इन्टरनेटका लागि एक्सप्रेस वाईफाईले सहयोग पुर्‍याउने बताए ।  

‘प्रयोगकर्तालाई फास्टर इन्टरनेट स्पीड र विश्वसनीय सेवाका लागि एक्सप्रेस वाईफाईले सहयोग पुर्‍याउनेछ,’ उनले भने, ‘प्रयोगकर्ताले कस्तो किसिमको अनुभव प्राप्त गर्न सकिरहेका छन् भन्ने कुराको जानकारी (विस्तृत इन्साइट) सेवाप्रदायकले प्राप्त गर्न सक्छ । जसबाट सेवालाई थप स्तरीय बनाउन सहयोग पुग्नेछ ।’

एक्सप्रेसका लागि फेसबुकले वर्ल्डलिङ्कलाई क्लाउडमा आधारित सफ्टवेयर सिस्टम उपलब्ध गराएको छ । विश्वका आधा जनसंख्यामा अझै इन्टरनेट पहुँच पुग्न नसकेको भन्दै फेसबुकका करन खराले फेसबुकले एक्सप्रेस वाईफाईको अवधारणा अगाडि बढाएको बताए ।

वर्डलिङ्कका अध्यक्ष तथा प्रबन्ध निर्देशक दीलिप अग्रवालले सुरुवाती समयदेखि नै नेपाली जनतामा कनेक्टिभिटी उपलब्ध गराउने सन्दर्भमा अग्रसरता देखाएको बताए । लामो समयदेखि सरकारले नेपालका इन्टरनेट सेवा प्रदायकलाई फ्रिक्वेन्सी नदिएको गुनासो गरे ।

‘सरकारको तर्फबाट कुनै सहुलियत र साथ नभए पनि इन्टरनेट विस्तार नगरी बस्ने कुरा पनि भएन,’ हामीले ‘त्यसको विकल्पमा एफटीटीएच प्रविधि प्रयोग गरिरहेका छौं ।’

एफटीटीएच सेवा खरिद गर्न नसक्ने सर्वसाधारण तथा गरिब घरपरिवारलाई लक्षित गर्दै वाईफाई सेवा सुरु गरिएको अग्रवालले बताए । ‘हामीसँग जनतालाई दिन इन्टरनेट त थियो, ‘उनले भने, ‘ तर त्यसका लागि आवश्यक राम्रो सफ्टवेयर सिस्टम थिएन । त्यसैका लागि अहिले फेसबुकसँग सहकार्य सुरु भएको हो ।’

नेपाली जनतामा इन्टरनेटको लाभ पुर्‍याउने दिशामा फिक्वेन्सी उपलब्ध गराएर सहयोग गर्न उनले सरकारसँग आग्रह समेत गरे ।

वर्डलिङ्कका प्रमुख प्राविधिक अधिकृत समित जनका अनुसार वाईफाई नेटवर्कलाई आधुनिक बनाउन आवश्यक पूर्वाधार फेसबुकले उपलब्ध गराउनेछ । उनले भने, ‘एक्सेस प्वाइन्ट, नेटवर्क र ब्याण्डविथ वर्डलिङ्ककै हुनेछ र फेसबुकले त्यसका लागि सफ्टवेयर प्लेटफर्म उपलब्ध गराउनेछ ।’ 

वान टाइम पासवर्ड बारम्बार राखिरहनुपर्ने हालको बाध्यतालाई समेत यो नयाँ सहकार्यले अत्य गरिदिएको छ । फ्री वाईफाई सेवाका लागि स्थानहरुअनुसार १५ मिनेटदेखि दुई घण्टाको सीमा हुनेछ । तर सीमित अवधि सकिएपछि पनि वाईफाई इन्टरनेट प्रयोग गर्न सकिने समित जनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०