close

मोफसलमा ईकमर्स : घरघरमा अत्यावश्यक सामानको डेलिभरी थाल्दै ‘फास्टमार्ट’

टेकपाना टेकपाना

असोज २२, २०७७ १९:२३

मोफसलमा ईकमर्स : घरघरमा अत्यावश्यक सामानको डेलिभरी थाल्दै ‘फास्टमार्ट’

काठमाडौं । कोभिड १९ को महामारीसँगै सपिङको माध्यम अनलाइन बनिरहेकाे छ । सामाजिक दुरी कायम गर्नुपर्ने अहिलको अवस्थामा बजारमा गएर सामान किन्दा जाेखिम निम्तिने खतरा छ ।

यही कारण शहरका उपभाेक्ता अनलाइनबाटै सामान मगाउन अग्रसर देखिन्छन् । उपभाेक्ताकाे मर्मअनुसार ईकमर्स कम्पनीहरु राजधानी शहरमा मात्रै हाेइन, माेफसलमा पनि विस्तार हुँदै छन् ।

यसै क्रममा प्रदेश ५ को बुटवल र भैरहवालाई लक्षित गर्दै फास्टमार्ट नेपाल प्रालीले ‘द फास्टमार्ट डटकम’ नामक ईकमर्स आइतबारदेखि सञ्चालनमा ल्याउने भएको छ ।

वेबसाइटबाट सामान खरिद गर्दा ३० मिनेटदेखि २ घण्टाभित्र ग्राहकको घरमा सामान डेलिभरी हुने कम्पनीले जनाएको छ ।

ग्राहकले यसकाे अनलाइन प्लाटफर्म मार्फत रेस्टुरेन्टमा पाइने खाजा, खाना, नास्तादेखि दैनिक जीवनमा आवश्यक पर्ने घरायसी सामान, कपडा, विभिन्न प्रकारका जुत्ता र चप्पल, सौन्दर्य सम्बन्धी सामग्रीका साथै मासु समेत अर्डर गर्न सक्नेछन् ।

यी सामानमा पसलकाे तुलनामा सस्तो मूल्यका साथै विशेष छुटसमेत प्रदान गरिनेछ । कम्पनीले सुरुवाती चरणमा यी दुई शहरमा १० लाख बराबरको ५० र १०० रुपैयाँको छुट सपिङ भौचर उपलब्ध गराउने जनाएको छ ।

कोरोना महामारिको अवस्थामा शपिङ गर्न जाँदा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न अनलाइन सेवा सुरु गरेको कम्पनीका प्रमुख कार्यकारी निर्देशक अनुज श्रिले बताए ।

‘हामी ग्राहकलाई छिटो छरितो सेवा उपलब्ध गराउने छौं,’ उनले भने, ‘अनलाइन मार्फत ग्राहकले अर्गानिक र पहाडी तरकारी फलफुल र विभिन्न खाद्यवस्तु खरिद गर्न सक्नेछन् । यसका लागि पैंचो पसलसँग सहकार्य गरिएको छ ।’

इन्टरनेट नभएकाे अवस्थामा ग्राहकले फोनबाटै पनि अर्डर गर्न सक्नेछन् । सामान डेलिभरी भएपछि पैसा भुक्तानी गर्न मिल्ने व्यवस्था ल्याइएकाे छ ।

कम्पनीले यो सेवा क्रमश: भरतपुर, पोखरा, काठमाडौं लगायतका शहरमा विस्तार गर्ने योजना ल्याएकाे छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४