close

अम्बानीलाई व्यवसायको हिस्सा बेचेपछि फ्युचर ग्रुपलाई अमेजनको लिगल नोटिस

टेकपाना टेकपाना

असोज २४, २०७७ ८:२१

अम्बानीलाई व्यवसायको हिस्सा बेचेपछि फ्युचर ग्रुपलाई अमेजनको लिगल नोटिस

काठमाडौं । भारतको दोस्रो ठूलो रिटेल चेन फ्युचर ग्रुपलाई अमेजनले लिगल नोटिस पठाएको छ । फ्युचर ग्रुपले अम्बानीको रिलायन्स रिटेललाई आफ्नो व्यवसायको ठूलो हिस्सा बिक्री गरेर सम्झौताको शर्तलाई मिचेको आरोपमा अमेजनले सो लिगल नोटिस पठाएको हो । 

फ्युचर ग्रुपले गत अगस्ट महिनामा ३.४ विलियन डलरको रिटेल तथा होलसेल व्यवसायका साथै लजिस्टिक्स तथा वेयर हाउजिङ व्यवसाय रिलायन्सलाई बेचेको घोषणा गरेको थियो । 

तर रिलायन्स यो कारोबारमा आउनुअघि अमेजनसँग पनि फ्युचर ग्रुपले कारोबार सम्झौता सम्पन्न गरिसकेको थियो । 

गत वर्ष अमेजनले फ्युचर कुपनबाट ४९ प्रतिशत स्वामित्व खरिद गरेको थियो । सो कारोबार अन्तर्गत अमेजनले फ्युचर रिटेलमा ३.५८ प्रतिशत स्वामित्व लिएको थियो । 

उक्त लिगल नोटिसको बारेमा रिपोर्ट प्रकाशन गर्ने टिभी नेटवर्क ईटी नाउको अनुसार अमेजन र फ्युचर रिटेलमा भएको सो सम्झौतामा भारतका केही कम्पनीहरुलाई समावेश नगर्न शर्त सम्झौता भएका थिए । 

अमेजन आफैं पनि भारतको सबैभन्दा ठूलो रिटेल चेन रिलायन्स रिटेलमा अर्बौं डलरको स्वामित्व लिने तयारी गरिरहेको अवस्थामा यो लिगल नोटिसको खबरले धेरै मानिसहरुलाई उल्झनमा पारेको छ ।

भारतका ईकमर्शले खुद्रा बिक्री बजारमा तीनदेखि सात प्रतिशत मात्र हिस्सा ओगटेको अवस्थामा अमेजन र फ्लिपकार्ट जस्ता जाइन्ट ईकमर्श व्यवसायविरुद्ध उत्रिन रिलायन्सले आफ्नै रिटेल ईकमर्शको सुरुवात गर्दैछ ।

रिलान्यस रिटेलसँग अमेजनको सम्झौतालाई धेरै उद्योग विश्लेषकहरुले भारतमा अमेरिकी ईकमर्श कम्पनीहरुको भविष्यको लागि एकदमै महत्वपूर्ण घटनाको रुपमा हेर्दै आइरहेका छन् । 

भारतमा सात वर्ष अघिदेखि व्यवसायिक यात्रा सुरु गर्दै आइरहेको अमेजनले त्यहाँकै स्थानीय व्यवसायमा साढे ६ अर्ब डलरको लगानी गरिसकेको छ । 

अमेजनले सो लिगल नोटिसको खबरलाई पुष्टि गरेको छ, तर त्यसको विषयमा कुनै विस्तृत प्रतिक्रिया भने दिएको छैन । 

१९८० देखि स्टोनवास्ड फेब्रिक सेलरको रुपमा व्यवसायिक यात्रा सुरु गरेको फ्युचर ग्रुपको भारतका ४०० भन्दा धेरै शहरहरुमा १५ सय भन्दा धेरै स्टोरहरु छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४