close

‘गिट’ ओपन सोर्स र यसको कामलाई सजिलोसँग यसरी बुझ्नुहोस्

टेकपाना टेकपाना

असोज २४, २०७७ ९:२६

‘गिट’ ओपन सोर्स र यसको कामलाई सजिलोसँग यसरी बुझ्नुहोस्

काठमाडौं । आजको समयमा हरेक कम्पनीले गिट प्रयोग गर्छ । गिट एउटा ओपनसोर्स सफ्टवेयर हो । यो निशुल्क उपलब्ध छ । तर धेरैलाई गिट के हो भन्ने कुरा थाहा नहुन सक्छ । आज हामी तपाईंलाई गिटको बारेमा सरल तरिकाले जानकारी दिँदै छौं । 

सबैभन्दा पहिले गिटलाई बुझ्नका लागि तपाईंले सफ्टवेयर कम्पनीमा देखापर्ने एउटा आम समस्यालाई बुझ्नुपर्दछ । एउटा सफ्टवेयर कम्पनीमा पाँचजना डेभलपर काम गर्छन् भने उनीहरुलाई विभिन्न किसिमका समस्याहरु आउन सक्छन् । 

सबै डेभलपरले आफ्नो काम गरिसकेपछि ती सबैको कोडलाई कसरी मर्ज गर्ने भन्ने पहिलो समस्या देखा पर्दछ ।

यसबाहेक यदि कुनै डेभलपरको कोड हरायो वा एउटाले अर्कोको झुक्किएर कोड डिलिट गरिदिएको अवस्थामा कोड हराउने समस्या हुन्छ । त्यस्तो बेलामा हराएको वा डिलिट भएको कोडलाई कसरी फिर्ता ल्याउने त भन्ने समस्या हुन्छ ।

कहिलेकाहिँ पुरानो कोड प्रयोग गर्दा गर्दै नयाँ डेभलपर आएर नयाँ कोडमा काम गर्न सक्छ । तर त्यो कोड खराब भएर पुरानै कोड आवश्यकता पर्‍यो भने ती सबै अवस्थामा कोडलाई कसरी ल्याउने त ? यसको लागि एउटा समाधान जरूरी भएर नै गिट उत्पन्न भएकाे हाे । 

गिट के हो त ? 

जुनसुकै वेब, एप डेभलपर तथा प्रोग्रामरहरुलाई कुनै न कुनै समय गिटको आवश्यकता परिरहेको हुन्छ । गिट वास्तवमा एउटा भर्सन कन्ट्रोल सिस्टम हो ।

यो एउटा टुल हो, जसले जुनसुकै फाइल चाहे वर्ड फाइल हाेस् वा प्रोग्रामिङ फाइल । त्यसलाई ट्रयाक गर्ने काम गर्दछ । फाइलमा जति पनि परिवर्तन आउँछ, ती सबै कुरालाई गिटले ट्रयाक गर्दछ ।

गिटलाई तपाईं आफ्नो डेस्कटप वा ल्यापटपमा इन्स्टल गर्न सक्नुहुन्छ । यदि तपाईं कुनै पनि एप वा वेब बनाउँदै हुनुहुन्छ र त्यसमा धेरै फाइलहरु छन् । यी सबै कामलाई गिटको माध्यमबाट व्यवस्थापन गर्न सकिन्छ । 

गिट कसरी प्रयोग गर्ने कुनै ठूलो अप्ठ्यारो काम होइन । यसलाई प्रयोग गर्न तपाईंले गिटमा एक/दुईवटा फाइल एड गरेपछि तपाईंको गिट प्रोजेक्ट इन्स्टल हुन्छ ।  

यदि कुनै पनि डेभलपरले गलत काम गर्छ, कसैको कोड डिलिट गर्न वा तलमाथि गर्ने काम गर्छ भने उसको पुरै हिस्ट्री बन्छ । यो लाइन नम्बरमा डेलभपरले यो दिन यस्तो काम गरेको थियो भनेर पुरै हिस्ट्री बन्छ ।

यसो हुँदा तपाईंको जति पुरानो कोड कहिले हराउँदैन । यदि १० वर्षदेखि गिट प्रयोग गर्दै हुनुहुन्छ भने पनि तपाईंको १० वर्षदेखिकै कोड सुरक्षित हुन्छ ।

यसमा शेयर गर्न पनि एकदमै सजिलो छ । कुनै एउटा डेभलपरले गिटमा कोड पुस गरिसकेपछि अर्को डेभलपरले अघिल्लो कोड डाउनलोड गरेर मात्र आफ्नो कोडलाई अपलोड गर्दछ ।

दुई डेभलपरले काम गरिरहँदा यसमा कुनै समस्या आउँदैन । दुवैले एकदमै स्मार्ट तरिकाले काम गर्न सक्छन् । यदि कतै समस्या आयो, दुई डेभलपरले एउटै लाइन लेखे भने गिटले त्यसको बारेमा जानकारी दिन्छ र समाधानको अवसर दिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४