close

‘हल्ट प्राइज अन क्याम्पस’ को तयारी हुँदै, विजेताले १० लाख डलर पाउने

टेकपाना टेकपाना

असोज २५, २०७७ १४:२८

‘हल्ट प्राइज अन क्याम्पस’ को तयारी हुँदै, विजेताले १० लाख डलर पाउने

कैलाली । कृषि तथा वन विज्ञान विश्वविद्यालयको सुदुरपश्चिम टीकापुरमा अवस्थित आङ्गिक कलेज प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा पहिलोपटक ‘हल्ट प्राइज अन क्याम्पस’ प्रतियोगिता हुने भएकाे छ ।

हल्ट प्राइजलाई विश्वमा विद्यार्थीहरुको नोबल पुरस्कार भनेर चिनिन्छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत पहिलाे पटक प्राकृतिक स्रोत व्यवस्थापन कलेजले ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत र गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरी ‘अन क्याम्पस’ प्रोग्राम गर्न लागेकाे हाे ।

याे प्रतियाेगिताकाे तयारी नेपालका अन्य विश्वविद्यालयमा पनि भइरहेकाे छ । एउटा विचारले लाखौँं मानिसलाई प्रभावित बनाउन सकोस्, जसले मानिसले प्रत्यक्ष भोगेका समस्याहरुको समाधान पनि गरोस्, त्यस्तो विचारको विश्वव्यापी प्रतिस्पर्धा हो ‘हल्ट प्राइज प्रतिस्पर्धा’ ।

विश्वभरबाट सहभागी हुने यस कर्यक्रममा १२१ देशका २५ सयभन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरुले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टेरनेशनल बिजनेश स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त  रुपमा आयोजना गर्छन् ।

हल्ट प्राइज ऊर्जावान विद्यार्थी युवाहरुको लागि एक सुनौलो अवसर हो, जो समाजमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति एक सफल र सामाजिक उद्यमी हुन कोशिस गर्दछन्।

अहिलेसम्म शिक्षा, बिजुली, पानी, खाद्य सुरक्षा र यस्तै अन्य किसिमका चुनौतीहरूमा आधारित रही अमेरिकाका ४२औं राष्ट्रपति बिल क्लिन्टनले हरेक वर्ष कुनै एक चुनौतीका निम्ति विषयवस्‍तु रोज्ने गरेका छन् ।

हरेक वर्ष चुनौतीहरु संयुक्त राष्ट्र संघको दिगो विकासमा आधारित रहेर घोषणा गरिन्छ। हल्ट पुरस्कार एक अन्तर्राष्ट्रिय खुला प्लेटफर्म पनि हो, जसले विद्यार्थीहरुलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन अवसर दिन्छ ।

यो प्रतिस्पर्धाका विजेता विद्यार्थीहरूका लागि एक मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ । यो युवाहरुको सञ्जाल हो, जसले युवापुस्तालाई समाज र विश्व परिवर्तन गर्न उत्प्रेरित गर्छ। यो विद्यार्थीहरुको लागि संसारकै ठूलो प्रतिस्पर्धा हो।

कसरी र कस्तो विषय हुनेछ ?
हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले ‘दिगो विकासका लक्ष्यमा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै ‘चुनौती र विषय’ घोषणा गर्दछ र उक्त विषयभित्र रहेर प्रतियोगीहरु आफ्नो व्यापार आइडिया सहित प्रस्तुत हुनुपर्छ।

यो वर्षको चुनौती र विषय “फूड फर गुड” घोषणा भइसकेको छ र प्रतियोगिहरुले सोही विषयमा आधारित भएर आफ्नो उद्यमशीलता विचार प्रस्तुत गर्नुपर्ने हुन्छ।

प्रतियोगी कति छन् ?
विश्वभरबाट सहभागी हुने यस कार्यक्रममा १२१ देशका २५ सयभन्दा बढी विश्वविद्यालयहरुबाट तीन लाखभन्दा धेरै विद्यार्थीले सहभागिता जनाउने गरेका छन्।

कसरी हुन्छ त कार्यक्रम ?
यस कार्यक्रम विश्वविद्यालयहरूले फरक फरक रूपले तयारी गरिरहेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आगिंक कलेज प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरमा पहिलोपटक आयोजना हुन गइरहेको छ ।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, ब्राइट मध्य पश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत तथा गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर बाँके गरी ३ क्याम्पसको संयुक्त आयोजनामा याे प्रतियोगिता हुँदै छ ।

प्रत्येक क्याम्पस अथवा विश्वविद्यालहरुमा हुने प्रतियोगिता वा समाजिक आन्दोलनलाई “अन क्याम्पस प्रोग्राम” को नाम दिएको छ ।

‘अन क्याम्पस प्रोग्रामको’ विजेताले ‘रिजनलको’ लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धीहरुका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरु आयोजना गरिने जानकारी हल्ट प्राइजका क्याम्पस निर्देशक भरत साउदले जानकारी दिएका छन् ।

यो प्रतियोगितामा स्नातक र स्नातकोत्तर अध्ययनरत तीन देखि चारजना विद्यार्थीहरुको समूहले भाग लिन सक्दछ्न् (४ भन्दा बढी विद्यार्थीहरूको समूह मान्य हुने छैन)।

उनका अनुसार तिनै क्याम्पसका प्रमुख, केही प्रतिनिधि पदाधिकारी र सरोकारवालासँग भर्चुअल मिटिङ भई कार्यक्रमको प्रक्रिया र ढंङ्गको बारेमा बहस भइसकेको छ ।

किन भाग लिने ?
‘अन क्याम्पस प्रोग्रामको’ विजेताले ‘रिजनलको’ लागि प्रतिस्पर्धा गर्ने छन्। रिजनलका विजेता एक्सिलेरेटरमा प्रतिस्तर्धा गर्ने मौका पाउने छ्न् ।

यसकाे विजेताले ग्लाेबल फाइनल्समा प्रतिस्पर्धा गर्न यूएन हेडक्रवार्टरमा गएर आफ्नो व्यवसायिक साेच प्रस्तुत गर्ने मौकाको साथसाथै प्रतिस्पर्धा जितेर आफ्नो उद्यम सञ्चालन गर्न एक मिलियन अमेरिकी डलर प्राप्त गर्ने मौका पाउने छन्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४