close

जिओका मुकेश अम्बानीले यसरी जिते मोबाइल डेटाको ‘प्राइस वार’

टेकपाना टेकपाना

असोज २५, २०७७ २१:२८

जिओका मुकेश अम्बानीले यसरी जिते मोबाइल डेटाको ‘प्राइस वार’

काठमाडौं । चार वर्ष अघिकाे कुरा हाे । एसियाका अहिलेका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले फोरजी मोबाइल नेटवर्क सार्वजनिक गरे ।

तेल कारोबारबाटै अचम्मकाे शिखर चुमेका अम्बानीले मुम्बईमा फोरजीको सफ्ट लञ्च गर्दा धेरैले उनीमाथि भराेस राख्न थालिसकेका थिए ।

बलिउड अभिनेता शाहरुख खान, ओस्कार अवार्ड विजेता संगीतकार एआर रेहमान लगायत हजारौंको उपस्थितिमा हँसिलो मुद्रामा अम्बानीले सुनौला सपना देखाए ।

‘यो समय यदि तपाईं डिजिटल हुनु भएन र विश्वको डिजिटल टूलसँग जुध्न सक्ने क्षमता राख्नु हुन्न भने यो प्रतिस्पर्धी दुनियाँमा बाँच्न सकिँदैन,’ अम्बानीले त्यतिबेलै भनेका थिए ।

९० मिनेटको उद्घाेषणमा उनले भनेका थिए, ‘रिलायन्स जिओले भारतको इन्टरनेटको भविष्य निर्धारण गर्नेछ । अब भारत र भारतीयहरु पछाडि रहन सक्दैनन् । आज भारत मोबाइल ब्रोडब्याण्डको दुनियाँमा १५५ औं स्थानमा छ । जिओ यसलाई परिवर्तन गर्ने उद्देश्यका साथ आएको हो ।’

अम्बानीले जिओलाई लिएर यतिसम्म बाेलिदिए, ‘जब जिओ सार्वजनिक रूपमा बजारमा जानेछ, त्यति बेला इन्टरनेटको मूल्य ‘वडा पाउ’ (भारतको सडक छेउछाउमा बेचिने आलुका परिकार) भन्दा सस्तो हुनेछ । त्यतिबेला उक्त पाउको मूल्य १२ रुपैयाँ मात्रै थियो ।

जुन कुरा उनले उक्त कार्यक्रममा बोलेको थिए । अम्बानीका ती सबै कुरा असम्भव जस्तै सुनिन्थे । जिओ सार्वजनिक हुनुभन्दा अघिसम्म भारतमा एक जीबी डेटाको मूल्य २२५ रुपैयाँ (३ डलर) थियो ।

ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच १७ प्रतिशतभन्दा कम थियो । उनी भारतका अन्य ठूला मोबाइल कम्पनी भोडाफोन, भारती एयरटेल, आईडिया सेलुलर, सरकारी स्वामित्वमा रहेको बीएसएनएल जस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्न आउँदै थिए ।

जसले धेरै लामो समयदेखि बजार आफ्नो कब्जामा राखिरहेका थिए । तर, जिओले तिनै कम्पनीलाई मोबाइल डेटाको मूल्य एकै पटक शून्यमा झार्न वाध्य बनाइदियो ।

त्यतिमात्रै होइन उसले टेलिकम उद्योगमै तहल्का मच्चायो । सेवा सुरु भएको चार वर्षपश्चात आज जिओ भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी र विश्वको सबैभन्दा सस्तो मोबाइल डेटा उपलब्ध गराउने कम्पनीको रुपमा स्थापित भएको छ ।

सबैलाई सिध्याउन सुरु भएको प्राइस वार

जिओको सुरुवाती अफर नै सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट बन्यो । सन् २०१६ सेप्टेम्बर ५ तारिखमा सेवा सुरु गर्दा सुरु भएको उक्त अफर त्यसै वर्षको डिसेम्बर ३१ तारिखसम्म सञ्चालनमा रह्यो ।

जसमा भ्वाइस कल पूर्ण रुपमा निःशुल्क थियो । सय वटा म्यासेज प्रत्येक दिन निःशुल्क गरिएको थियो र प्रत्येक दिन चार जीबी फारेजी डेटा पनि सबैका लागि निःशुल्क नै थियो ।

यो सबै अफर जिओका सबै सिमकार्डमा उपलब्ध थियो । ‘जिओको यो सुरुवात नै झड्का दिने खालको थियो,’ भारतको टेलिकम क्षेत्रमा अनुसन्धान गर्ने अनुसन्धानकर्ता दीपक महेश्वरीले भनेका छन्, ‘सबैको अनुमान थियो, सेवा सुरु हुँदाको मूल्य केही सस्तो पक्कै हुनेछ । तर, जुन रुपमा मूल्य तय भएको थियो, त्यो मान्छेको आँकलनभन्दा धेरै बाहिरको कुरा थियो ।’

त्यसबेला शाहरुख खान कम्पनीका ब्राण्ड एम्बेसडर नियुक्त भएका थिए । उनै खानको भूमिकामा जिओको पहिलो कमर्सियल भिडियो बनेको थयो ।

जसमा भारतको हरेक समुदायलाई समेटिएको थियो । जसमा ‘सिखा कपल’, किसान, कथक्कल्ली डान्सर लगायतले निःशुल्क रुपमा फोनमा गफ गरिरहेका थिए ।

साथै अन्त्यमा खानले अब भारत उड्नेछ भन्दै नोटेड गरेका थिए । यसले जिओको डिलर अघि लाइन बस्नु पर्ने अवस्था नै सिर्जना भयो ।

एयरटेल, भोडाफोन प्रयोग गर्ने प्रयोगकर्ता जियो सिम लिनेतर्फ आकर्षित भए । त्यहिबेला कतिपय मिम बनाइए ।

जसमा अन्य टेलिकम टाइकुनको मृत्यु भएको र अम्बानी सस्तो स्मार्टफोनबाट बनेको फलामको सिंहासनमा बसिरहेको देखाउन थालिएको थियो । अम्बानीले एक वर्षमै दश करोड नयाँ ग्राहक बनाउने योजना बनाएका थिए ।

जब कि उक्त लक्ष्य केवल १७० दिनमै पुरा भयो । त्यस समय अन्य कम्पनीले फोरजी सेवा सुरु नगरेको भन्ने पनि थिएन ।

एयरटेलले सन् २०१४ बाटै केही सहरी क्षेत्रमा फोरजी सेवा सुरु गरिसकेको थियो । तर, त्यसरी अनलिमिटेड रुपमा फोरजी डेटा उपलब्ध गराउने जिओको प्लानले विश्वकै ध्यान आकर्षित गर्‍यो ।

टेलिकम उद्योगमा जिओको प्रवेश त्यतिबेला धुमधाम मात्रै भएन, प्राइसवार नै सुरु भयो । कतिपय प्रतिस्पर्धी कम्पनीले जिओले तेल र रिटेल व्यवसायबाट आम्दानी गरेको कालो धन यसमा प्रयोग गरेको आरोप समेत लगाए ।

त्यस समय रिलायन्सले तेलमार्फत वार्षिक ४५ अर्ब डलरको हाराहारीमा आम्दानी गर्दै आएको थियो । त्यसपछि प्राइस वार नै सुरु भयो । सन् २०१६ सम्म टेलिकम सेवा प्रदायकको प्रति ग्राहक आम्दानी मासिक दुई डलर रहेकोमा सन् २०१९ मा आइपुग्दा त्यसको आधामै झर्‍यो ।

‘निःशुल्क सर्भिसले ठूलो संख्यामा ग्राहक जोडिएका थिए भने त्यसको दबाव अन्य कम्पनीहरुमा परिरहेको थियो,‘ भारतका टेलिकम परामर्शदाता महेश उप्पाल भन्छन्, ‘जीयो जस्तो लागत भन्दा कममा सेवा दिँदा अन्य कम्पनीलाई पैसा कमाउन सम्भव थिएन ।’

भयो पनि त्यस्तै । सन् २०१६ बाट सन् २०१८ सम्म टेलिकम क्षेत्रबाटट बाहिरिने, मर्जमा जाने, बजेट घटाउने खालका काम भए । जिओका प्रतिस्पर्धी कम्पनीहरु ग्रोथका लागि विभिन्न योजना बनाउन थाले ।

सन् २०१७ मा भारती एयरटेल आफ्नोभन्दा बाहिरको व्यवसायमा‍ रहेको लगानी बेच्न बाध्य भयो । सोही वर्षको अन्त्यतिर एयरटेल पूर्वी अफ्रिकाको बजारबाट केही रुपमा पछि हट्दै भारतमै केन्द्रीत हुने योजनामा फर्कियो ।

बेलायतको लगानी रहेको भोडाफोन र भारतको आईडिया आफ्नो ग्राहक आधार राम्रो बनाउन सन् २०१८ मा मर्जरमा गए । यसैबीच जिओले ल्याएको अफरमाथि अन्य सवा प्रदायकले प्रश्न उठाउन थाले ।

उक्त अफरले नियामकको नीति अवज्ञा गरेको आरोप लाग्यो । उसले सार्वजनिक गरेको अफरको अवधि ९० दिनमै अर्थात सन् २०१६ मै सकिएको थियो । तर, उसलाई सन् २०१७ सम्म चलाउन दिइयो ।

यसले कम्पनीको आम्दानी बढ्दै गयो । सोही समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयले पनि यसलाई अझ बल पुग्यो ।

यसले सरकार र जिओबीच सहकार्यको आँकलन गर्न थालियो । संयोग पनि कस्ता, त्यही समयमा भारतका दुई ठूला पत्रिका दी टाइम्स अफ इन्डिया र हिदुस्तान टाइम्समा नरेन्द्र मोदीको फोटो सहतिको विज्ञापन जिओले छाप्यो ।

यसले शंकालाई अझ बढावा दियो । यसैबीच जिओलाई भारतको उपभोक्ता मामिला मन्त्रालयबाट चेतावनी आयो र जिओले अन्जानमा गल्ती भएको भन्दै माफी नै माग्यो ।

सन् २०१९ को अन्त्यतिर आइपुग्दा जिओले सेवा सुरु गर्दा सुरु भएको प्राइस वार सेटलमेन्टतर्फ आइपुग्यो । त्यसबेला जिओको प्रति ग्राहक आम्दानी १२८.४ मा आइपुगेको थियो ।

लगातार सात त्रैमासिक घाटा बेहोर्दै आएको कम्पनी सन् २०१९ मा केही राम्रो भएको थियो । सामान्यतया टेलिकम कम्पनीहरु ऋणमै चल्दै आएका हुन्छन् ।

तर, जिओको ऋण अव्यवस्थित थियो । यसैबीच अन्य प्रतिस्पर्धी कम्पनीहरु भारतको टेलिकम क्षेत्रको नियामक सेलुलर अपरेटर एसोसिएसन अफ इन्डियासँगको सहकार्यमा मोबाइल डेटाको मूल्य बढाउन सहमत भए ।

यसरी कम्पनीहरु ऋणमा चलिरहेको भएतापनि सस्तो मूल्यमा मोबाइल डेटा चलाउने छाप करोडौं प्रयोगकर्तामा बसिसकेको थियो । मिडिया प्रोफेसर राहुल मुखर्जी भन्छन्, ‘त्यतिबेला प्राइस वार मात्रै थिएन, जुन रुपमा जिओले परिवर्तन सम्भव तुल्याएको थियो, त्यो पनि एउटा च्यालेन्ज थियो ।’

उनी आफैंले पनि उवर चढ्ने र उनको ड्राइभरले लाइभ क्रिकेट हेर्ने परिपाटीबाटै परिवर्तन महसुस गरेका थिए ।

जिओको असर

जिओले ग्राहकमाझ छुट्टै वातावरण सिर्जना गरेको थियो । जसले गरिब जनतामा पनि इन्टरनेट जडान भएको मोबाइल राख्न र त्यसलाई फरक तरिकाले प्रयोग गर्न सिकाएको थियो ।

सन् २०१८ को तथ्याङ्क हेर्ने हो भने भारतमा अनलाइन कन्टेन्ट र लाइभ स्ट्रिमीङ प्लेटफर्मको आम्दानीले नयाँ रेकर्ड कायय गरेको देखिन्छ । जसमध्ये आधाभन्दा बढी भारतको ग्रामीण भेगबाट संकलन भएको उल्लेख गरिएको थियो ।

जसको प्रतिफल मातृ भाषाभन्दा बाहिरका कन्टेन्टमा पनि मान्छेको पहुँच पुग्यो । सन् २०१९ मा टिकटकको प्यारेन्ट कम्पनी बाइटड्यान्सको ‘हेलो’ ले हरेक महिना पाँच करोड भन्दा बढी एक्टिभ प्रयोगकर्ता भारतमै बनाउन सक्यो ।

यसरी प्रयोगकर्ता बढ्दा लकडाउनको समयमा टेलिकम कम्पनीले भारतमा इन्टरनेटको क्षमता धान्न नसक्ने प्रक्षेपण गरिएको थियो । तर पनि त्यसका कुनै असर नपर्ने गरी सेवा प्रदायक सेवा दिन सफल भए ।

ग्लोवल प्लेयर

जिओले आफूलाई टेलिकम कम्पनीको रुपमा स्थापित गर्‍यो । प्राइस वारको बाबजूद कम्पनीले पाएको सफलता पश्चात अन्य क्षेत्रमा समेत आफूलाई विस्तार गर्ने योजना बनायो ।

कम्पनीले आफ्नो पोर्टफोलियोमा जिओ टिभी, जिओ सिनेमा र जिओ सावन र ई–कमर्स कम्पनी जियो मार्ट थप्यो । यसको उद्देश्य प्रति ग्राहक आम्दानीलाई बढाउनु थियो ।

अहिले कम्पनी क्लाउड सर्भिस समेत तयार पार्दै आफ्नो व्यवसायको दायरालाई बढाउँदै लगेको छ । कम्पनीले सफ्टवेयर निर्माण गर्ने सफ्टवेयर एज ए सर्भिस नामक कम्पनीको स्वामित्व खरिद गरिसकेको छ ।

तर, यी सबैमा मोबाइल डेटाको मूल्यमा ल्याएको कमी र त्यसले इन्टरनेट प्रयोकर्ताको संख्यामा आएको उल्लेख्य वृद्धी नै जिओको आजको सम्पत्ती हो । जसले गर्दा आज डिजिटल प्रडक्टको आधार सिर्जना गर्न मद्दत पुगेको छ ।

‘जिओ योजना, यसको कनेक्टिभिटी, कन्टेन्ट र व्यवसाय युक्त विश्वकै पहिलो टेलिकम कम्पनी हो,’ अन्तर्राष्ट्रिय डेटा कर्पोरेसनका एनालिसिस्ट रवि शर्मा भन्छन्, ‘यसले कम्पनीलाई सबैभन्दा ठूलो ग्राहक आधार भएको आईटी कम्पनीको रुपमा आफूलाई उभ्याउन सफल भएको छ ।’

सन् २०२० को मार्च महिनादेखि जिओमा लगानी गर्नेको लहर नै चलेको छ । जसले गर्दा केही महिनाको बीचमा १३ अर्ब अमेरिकी डलर लगानी कम्पनीमा भित्रिएको छ ।

जसमा फेसबुकको ५.८ अर्ब, सिलिकन भ्यालीको इन्भेस्टमेन्ट कम्पनी सिल्भर लेक प्राइभेट इक्युटी फार्म, साउदीको पब्लिक इन्भेस्टमेन्ट फण्ड, गुगलको ४.५ अर्ब डलर लगानी रहेको छ ।

सन् २०१७ मा इकनोमिक्स टाइम्ससँगको अन्तर्वार्तामा अम्बानीले भनेका थिए, ‘सस्तो डेटाले सबै कुरा सम्भव बनाउँछ । डेटा अबको नयाँ प्राकृतिक सम्पत्ति हो । हामी यस युगको सुरुवातमा छौं । जहाँ डेटा तेल जस्तै महत्वपूर्ण छ ।’

यो कुरा प्रेट्रोलबाट ठूलो आम्दानी गर्ने अम्बानीबाटै आउँदा धेरैले विश्वास गर्न सकेनन् । तर, आज उनले बोलेको उक्त कुरा सम्भव भएको छ । आज विश्वमा प्रति जीबी मोबाइल डेटाको मूल्य ५.०९ डलर हुँदा भारतमा प्रति जीबी डेटोको मूल्य १८.५ रुपैयाँ अर्थात २६ सेन्ट रहेको छ । जुन उनले सुरुवातमा भने जस्तै ‘वडा पाउ’ को मूल्यकै समान हो ।

एजेन्सीकाे सहकार्यमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४