close

बग हन्टरका लागि फेसबुकले ल्यायो लोयल्टी प्रोग्राम ‘ह्याकर प्लस’

टेकपाना टेकपाना

असोज २५, २०७७ १८:१०

बग हन्टरका लागि फेसबुकले ल्यायो लोयल्टी प्रोग्राम ‘ह्याकर प्लस’

काठमाडौं । फेसबुकले बग हन्टरका लागि पहिलो लोयल्टी प्रोग्राम स्वरुप बग बाउन्टी प्लेटफर्म ह्याकर प्लस सार्वजनिक गरेको छ । 

एयरलाइन्स र होटलहरुले यस्ता लोयल्टी प्रोग्रामहरु प्रयोग गरेपछि फेसबुकले ह्याकर प्लस ल्याएको हो । यसले बग हन्टरहरुको विगतको रिपोर्टको आधारमा उनीहरुलाई बोनस तथा स्पेसल पर्क्सहरु प्रदान गर्ने फेसबुकले बताएको छ ।  

फेसबुकको बग बाउन्ट प्लेटफर्मभित्र बग सब्मिट गर्ने बग हन्टरहरु आफै ह्याकर प्लसको लोयल्टी प्रोग्रामभित्र र्‍याङ्कमा बस्ने छन् ।

फेसबुकले अनुसन्धानकर्ताहरुको समग्र परिमाण, स्कोर, बग सब्मिसनको ‘सिग्नल टु न्वाइज रेसियो’को आधारमा उनीहरुको पर्फमेन्सको निरन्तर मूल्याङ्कन गर्ने योजना रहेको बताएको छ । 

स्कोरको आधारमा बग हन्टरहरुलाई ब्रोन्ज, सिल्भर, गोल्ड, प्लेटिनम र डायमन्ड गरेर पाँच लिगमा विभाजन गरिनेछ । सफल बग सब्मिसनसँगै जोडिदै जाने बोनसले लिगको र्‍याङकिङमा सहयोग गर्नेछ । 

ब्रोन्ज लिगमा भएका हन्टरहरुले प्रत्येक बगको सफल सब्मिसनमा पाँच प्रतिशत बोनस प्राप्त गर्छन् । यस्तै डायमन्ड लिगमा भएका हन्टरहरुले प्रत्येक बाउन्टीमा २० प्रतिशत बोनस प्राप्त गर्दछन् ।

सबैभन्दा माथिल्ला गोल्ड, प्लाटिनम र डायमन्डमा रहेका बग हन्टरहरुले लन्च अगाडि नै नयाँ फिचर स्ट्रेस टेस्ट गर्नका लागि एक्सक्लुसिभ इन्भिटेसन पाउन सक्नेछन् । 

डायमन्ड र प्लाटिनम लिगमा भएका हन्टरहरुले यात्रा र अकोमोडेसन सहितको बग बाउन्टी इभेन्टमा सहभागी हुन सक्नेछन् । 

यससँगै फेसबुकले बग हन्टरहरुका लागि नयाँ टुल पनि सार्वजनिक गरेको छ । उसले फेसबुक बग डिस्क्रिप्सन ल्याङग्वेज अर्थात् एफबीडीएल नामको नयाँ टूल सार्वजनिक गरेको हो ।

यसले हन्टरहरुलाई उनीहरुले पत्ता लगाएको सुरक्षा कमजोरीबारे राम्रो डिस्क्रिप्सन लेख्न मद्दत गर्दछ । यसले गर्दा रिपोर्ट सब्मिट गरिसकेपछि फेसबुकका कर्मचारीरुले रिपोर्टलाई विश्लेषण गरेर सजिलै बग भेट्टाउन सक्ने कम्पनीको अपेक्षा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४