close

टिकटक : सोसल मिडिया ‘डार्लिङ’ देखि अमेरिकाको मोस्ट वान्टेडसम्म

टेकपाना टेकपाना

असोज २६, २०७७ १०:२३

टिकटक : सोसल मिडिया ‘डार्लिङ’ देखि अमेरिकाको मोस्ट वान्टेडसम्म

काठमाडौं । भविष्यमा टिकटकको बारेमा सुन्न नपाउने थोरै सम्भावना छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको श्रृंखलाबद्ध प्रतिक्रिया, घोषणाले लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्मको भविष्यलाई एउटा रोचक मोडमा ल्याएर उभ्याएको छ । 

आज हामी टिकटकको उत्पत्ति, यसको लागि खतरा पैदा गर्नसक्ने मुलुक तथा त्यसले अरबाैं डलरको बाइटड्यान्स कम्पनीमाथि पर्ने असरको बारेमा तपाईंहरुलाई बताउने छौं । 

टिकटकको उत्पत्ति कहाँबाट भयाे ?

टिकटकको उत्पत्ति चिनियाँ स्टार्टअप कम्पनी बाइटड्यान्सबाट भएको हो, जसले आफूलाई आर्टिफिशियल इन्टेलिजेन्स कम्पनीको रुपमा परिचित गराएको थियो ।

यो कम्पनीलाई ३७ वर्षीय सीईओ झाङ यिमिङले स्थापना गरेका थिए । झाङ प्रारम्भिक चरणमा अल्गोरिदम ड्रिभन कन्टेन्ट शेयरिङ प्लेटफर्मबाट चिनियाँ बजारमा प्रवेश गरेका थिए ।

झाङको कम्पनीको पहिलो महत्वपूर्ण सफलता भनेको कुरेटेड न्युज शेयरिङ एप टाउटियो थियो, जसले सार्वजनिक भएको मात्र चार वर्षमा साढे पाँच करोड दैनिक सक्रिय प्रयोगकर्ता बनाउन सफल भएको थियो ।

तर टाउटियोलाई केही समयमा नै टेन्सेन्टले विस्थापन गर्‍यो । टेन्सेन्ट चीनको शक्तिशाली टेक जाइन्ट हो । यसको न्युज एप चीनमा सर्वाधिक प्रयोग हुने एन्ड्रोइड समाचार एप हो । 

तर २०१६ मा आइसकेपछि बाइटड्यान्सले आफ्नो ध्यान भिडियो शेयरिङ प्लेटफर्मतिर लगायो । त्यस समय साङ्घाइ आधारित भिडियो शेयरिङ प्लेटफर्म म्युजिकल्लीले विश्व बजारमा तहल्का पिटिरहेको थियो ।

यस्तै क्युसाओ नामको अर्को चिनियाँ सर्ट-फर्म भिडियो प्लेटफर्मले त्यस समय स्थानीय रुपमा निकै आकर्षण बटुलिरहेको थियो । बाइटड्यान्सले सोही वर्ष ती दुवै एपको स्वामित्व आफूले लियो ।

झाङको अपेक्षाले फल पनि दियो । म्युजिकल्लीको कपिक्याट डाउइन २०१७ को स्प्रिङमा आइपुग्दा चीनमा निकै लोकप्रिय बन्यो । सोही वर्षको अगस्ट महिनासम्म आइपुग्दा म्युजिकल्लीको भिडियो भ्युज प्रतिदिन एक अर्ब  पुग्न थाल्यो ।

म्युजिकल्लीको सफलताकै कारण सोही वर्षको नोभेम्बरदेखि विश्व बजारमा त्यसलाई सार्वजनिक गर्न झाङले स्वामित्व खरिद गरे । बाइटड्यान्सले करिब एक अर्ब डलर रुपैयाँमा म्युजिकल्लीको स्वामित्व लिएको थियो ।

सन् २०१८ मा म्युजिकल्ली र क्युसाओलाई मिलाएर बाइटड्यान्सले टिकटक भिडियो शेयरिङ प्लेटफर्म सार्वजनिक गर्‍यो । 

टिकटक कसरी यति धेरै लोकप्रिय बन्यो ?

म्युजिकल्लीलाई बाइटड्यान्सले अधिग्रहरण गरिसकेपछि उक्त भिडियो शेयरिङ प्लेटफर्ममा पनि झाङले आफ्नो पृथक व्यवसायिक इथोज लागू गरे ।

म्युजिकल्ली एउटा प्रोडक्ट ड्रिभन कम्पनी भएको टेक विश्लेषक रिउ मा बताउँछिन् । ‘बाइटड्यान्स एउटा एल्गोरिदम र अपरेसन ड्रिभन कम्पनी हो,’ मा भन्छिन् । 

चिनियाँ बजारमा बलियो पकड र अत्याधुनिक कन्टेन्ट शेयरिङ एआईको बलमा मोबाइल इन्टरनेट र सोसल मिडियासँग भर्खरै परिचित भइरहेको प्रयोगकर्ताबाट टिकटकले विश्व व्यापकताको मार्ग कोर्न सफल भयो ।

त्यस समय हरेक चिनियाँ इन्टरनेट कम्पनीहरुलाई एउटै प्रश्न तेर्स्याइन्थ्यो कि प्रयोगकर्ताको चिनेजानेका फ्रेन्डलिस्ट नभएको इकोसिस्टमलाई कसरी सुरु गर्ने ?

तर बाइटड्यान्सले आफ्नो गोप्य अल्गोरिदमको मद्दतबाट यसलाई सम्बोधन गर्न सक्षम भयो । उसले अर्बौं अर्ब प्रयोगकर्ता र अर्बौं डलर र अर्बौं पेज भ्युज कमायो ।

कोरोना भाइरस र लकडाउनको समयमा विश्वभर स्क्रिन टाइम बढ्दा अमेरिका, भारतमा यो एपको लोकप्रियता छुट्टै उचाईमा पुग्यो । यस्तै ब्राजिल, इन्डोनेसिया, रसिया र म्याक्सिकोमा डाउनलोड संख्या बढ्यो । 

तर लोकप्रियतासँगै यसलाई लिएर संशय पनि बढ्यो । 

प्लेटफर्ममाथि किन अनुसन्धान भइरहेको छ ?

गत वर्षको नोभेम्बरमा टिकटक करोडाैं प्रयोगकर्ता समक्ष पुगिरहेकाे थियो । त्यही समय वासिङटनस्थित एउटा अन्तरनिकाय सरकारी प्यानल जसलाई अमेरिकामा वैदेशिक लगानीको समिति अर्थात् सीएफआइयुएस भनिन्छ ।

त्यसले टिकटक अघि २०१७ को म्युजिकल्ली माथि अनुसन्धान गर्ने भयो, जसलाई बाइटड्यान्सले नै अमेरिकी बजारमा ल्याइपुर्‍याएको थियो । 

त्यस समय राष्ट्रिय सुरक्षामाथि जोखिम पुर्‍याउने वैदेशिक लगानीमाथि अनुसन्धान गर्ने सीएफआइयुएसले कम्पनीको मर्जरले केही पनि जोखिम पुर्‍याउने बारेमा कुनै अनुमान गरेको थिए ।

तर समय बित्दै जाने क्रममा उक्त प्यानलले सो प्लेटफर्ममाथि बढ्दो चासो देखाउन थाल्यो । २०२० को प्रारम्भमा उक्त प्यानलले एउटा नियमावली जारी गर्‍यो, जसले राष्ट्रिय सुरक्षालाई पुन: परिभाषित गर्‍यो ।

टिकटकमाथि भइरहेको अनुसन्धानलाई थप वृहत्तर बनाउन उसले आर्थिक सुरक्षालाई पनि राष्ट्रिय सुरक्षाभित्र समावेश गरेर परिभाषा गर्‍यो ।

यसले गर्दा टिकटकको चिनियाँ स्वामित्व पनि चिनियाँ टेक्नोलोजी कम्पनी ह्वावे र टेन्सेन्ट जस्तै भूराजनीतिक भँडखालोमा पर्‍यो ।

बाइटड्यान्सले देशबाहिर सेवा सञ्चालन गर्न पनि चिनियाँ कम्युनिष्ट पार्टीकै नियम र नियमावली अनुपालन गर्नु पर्ने र त्यसले विदेशी प्रयोगकर्ताहरुको डेटा सुरक्षामा गम्भिर खतरा ल्याउने संशयहरु उठ्न थाले ।

तर बाइटड्यान्सले लगातार अमेरिकी प्रयोगकर्ताहरुको डेटा अमेरिका र सिंगापुरको सर्भरमा राख्ने गरेको र चीनले डेटा माग गरेको अवस्थामा अस्वीकार गर्ने आफ्नो नीति नै रहेको भन्दै आरोप तथा संशयहरुको खण्डन गर्दै आइरहेको छ ।

तर यो राजनीतिक सरगर्मीमा अमेरिकी प्रशासन टिकटकको दावी र प्रतिबद्धताहरुसँग नतमस्तक रहन सकेन । 

गत अगस्ट ३ मा बाइटड्यान्सका संस्थापक झाङले आफ्ना कर्मचारीहरुलाई एउटा निराशाजनक आन्तरिक मिमो पठाए ।

उक्त मिमोमा बाइटड्यान्सले विश्वको संशय र चिन्तालाई सम्बोधन गर्न धेरै स्पष्टिकरण र प्राविधिक हलहरु दिए पनि सीएफआइयुएसको चित्त बुझाउन नसकेकोले दुख व्यक्त गर्दै सीएफआइयुएसले बाइटड्यान्स टिकटक अमेरिकी अपरेसनलाई बिक्री गर्ने विश्वास गरेको तर, आफू त्यस निर्णयसँग असन्तुष्ट रहेको बताएका थिए । 

ट्रम्प र टिकटक

गत अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमरिकामा टिकटकको अपरेसनमाथि प्रतिबन्ध लगाउन आफ्नो संकटकालीन आर्थिक शक्तिको प्रयोग गर्ने घोषणा गरेका थिए ।

भारतमा गत जून २९ मा टिकटक लगायत अन्य ५८ चिनियाँ एपहरु बन्द भएपछि त्यसकै जोशमा ट्रम्पको सो अभिव्यक्ति आएको थियो ।

तर विज्ञहरुले भारतको प्रतिबन्ध पूर्णतह राजनीतिक रहेको र उक्त निर्णय अघि कुनै पनि किसिमको स्पष्ट अडिट भारतले नगरेको बताएका छन् । 

अमेरिकाले टिकटकको स्वामित्व खरिद गर्नुको अर्काे अर्थ

टिकटकको कहानी अन्य चिनियाँ उद्यमीहरुका लागि एउटा पाठशाला बनेको छ । हङकङ आधारित एकजना उद्यमी तथा लगानीकर्ता जेनिफर झुको अनुसार चिनियाँ कम्पनीहरुलाई घरेलु बजारभित्रै बस्न पनि इन्सेन्टिभ प्रदान गरिन्छ ।

तर आफ्नो प्रोडक्टलाई अन्य तीन राज्यमा मात्र विस्तार गर्ने वा दशौं करोड प्रयोगकर्ता बटुलेर विश्वमा छाउने वा अमेरिमामा पुगेर यस किसिमको व्यापक चुनौती उठाउने ?

यी सबै कुराको निर्णय आफ्नै हातमा हुने झु बताउँछिन् । टिकटक जुन अवस्थामा पुगेको छ त्यसलाई देख्दा चिनियाँ उद्यमीहरुले सबैभन्दा पहिलो कदम नै रोज्ने उनी बताउँछिन् । 

चीनको भेन्चर क्यापिटल बजार विश्वकै दोस्रो ठूलो भएको कारण लगानीकर्ताहरु हिच्किचाउँदैनन् । तर वितेका केही वर्षयता यो बजार ओरालो लागेको छ ।

२०२० को पहिलो चौमासिकमा बजार ६० प्रतिशतले खस्केको थियो । चिनियाँ एपहरुमाथि लगातार वैदेशिक अनुसन्धान जारी रहँदा र संशयहरु पैदा भइरहँदा विश्विक महत्वका‌ंक्षा बोकेका चिनियाँ कम्पनीहरुमाथि लगानी गर्न लगानीकर्ताहरु डराइरहेका छन् । 

टिकटकको सम्भावित खरिद बिक्रीले चीनको दमदार स्टार्टअप इकोसिस्टममा व्यापक परिवर्तन ल्याउने सक्ने रुइ मा बताउँछिन् ।

लगानीकर्ताहरुसँग निरन्तर सम्पर्कमा रहने रुइमा अहिले चिनियाँ कम्पनीहरुमाथि लगानी गर्न लगानीकर्ताहरु अनिच्छुक देखिरहेको बताउँछिन् ।

रेस्ट अफ वर्ल्डबाट साभार

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४