close

अफ्रिकी फोन बजारमा चीनको ट्रान्सियनले यसरी जमायो आधिपत्य

टेकपाना टेकपाना

कात्तिक २, २०७७ १८:५९

अफ्रिकी फोन बजारमा चीनको ट्रान्सियनले यसरी जमायो आधिपत्य

काठमाडाैं । सन् २००८ मा ट्रान्सियन होल्डिङले आफ्नो पहिलो मोबाइल फोन नाइजेरियामा बिक्री गर्‍यो । चीनमा कुनै पहिचान नै नभएको ट्रान्सियनले एक दशकभित्रै अफ्रिकाभर आफ्नो प्रभाव विस्तार गर्‍यो । २०१७ मा यसले सामसङलाई पछि पार्दै अफ्रिका महादेशको नम्बर एक सप्लायर बन्न सफल भयो । 

ट्रान्सियनको पछाडि को छ ?
चिनियाँ मोबाइल फोन निर्मार्ता निङ्गो बर्डको ओभरसिज बिजनेस आर्मका लागि २००० को दशकमा झु झाओजियाङले काम गरे । तर पछि आफ्नै कम्पनी ट्रान्सियन होल्डिङ खोल्न झाओजियाङले निङ्गो बर्ड छोडे ।

उनले लागोसमा २००८ मा ट्रान्सियनको पहिलो कार्यालय स्थापना गरे । सब-सहरन अफ्रिकी क्षेत्रलाई लक्षित गर्दै अफ्रिकी बजारमा मोबाइल फोन बेच्ने उद्देश्यले उनले कम्पनी स्थापना गरेका थिए ।

‘विगतमा अफ्रिका र दक्षिण एशियामा व्यवसाय गर्ने कम्पनीहरुले रिसर्च एण्ड डेभलपमेन्टमा खर्च गर्दैन थिए । वास्तवमा उदयीमान बजारलाई (आरएण्डडी) एफोर्टको खाँचो पर्छ,’ झूले ग्लोबल टाइम्ससँग भने ।

एक दशकभन्दा धेरै  लामो समयपछि ट्रान्सियनले चीनको सेन्जेन स्थित आफ्नो मुख्यालयबाट तीनवटा ब्राण्डहरु सञ्चालन गर्न थाल्यो । जुन इन्फिनिक्स, आइटेल र टेक्नो थिए ।

यी तीन ब्राण्डले संयुक्त रुपमा अफ्रिका महादेशमा उत्कृष्ट बिक्री हुने मोबाइल फोन ब्राण्डको रुपमा प्रतिनिधित्व गरेका थिए । उसले दुवै फिचर र स्मार्टफोन बिक्री गर्दथ्यो ।

२०१९ को अन्तिम चौमासिकमा अफ्रिका महादेशमा ट्रान्सियनले ४० प्रतिशत स्मार्टफोन बिक्री गरेको रिसर्च कम्पनी आइडीसीले बताएको छ । विगत तीन वर्षदेखि ट्रान्सियनले मार्केट शेयरको मामिलामा अफ्रिकालाई नेतृत्व गर्‍यो । 

अहिले यो कम्पनी चीनको टेक फोकस स्टार मार्केटमा पनि सूचिकृत छ । उसले २०१९ को सेप्टेम्बरमा ४० करोड डलरको आईपीओ संकलन गरेको थियो ।

यो कम्पनीको अहिलेको मार्केट क्याप सात अर्ब डलरभन्दा माथि छ । विश्वको लिडिङ बजेट स्मार्टफोन उत्पादक कम्पनी साओमीको मार्केट क्याप ३९ अर्ब डलर रहेको छ । 

यसलाई कसरी सम्भव तुल्याए ?
ट्रान्सियनको आदर्श नै ‘ग्लोकलाइजेसन’ को व्यवसायिक रणनीतिमा अडिएको छ । उ विश्वभरी बिक्री हुन सक्ने, तर विशेष बजार वा क्षेत्रमा भने कस्टमाइज गर्न सकिने वस्तु उत्पादन गर्छ । स्मार्टफोन निर्माणको मामिलामा ट्रान्सियनले अफ्रिकी मुलुकहरुलाई आवश्यक फिचरमा सधै ध्यान दिइरह्यो । 

धेरै मोबाइल पारखी अफ्रिकीहरुलाई थाहा छ कि,नेटवर्क शुल्कबाट बच्न र न्युन कभरेज एरियामा राम्रो कनेक्टिभिटी पाउन एउटा भन्दा धेरै सिमकार्डको आवश्यकता पर्दछ । तर धेरैले यसका लागि दुईवटा फोन खरिद गर्न सक्दैनन् ।

तर ट्रान्सियनले २००८ मा नै डुअल सिम फोन ल्याएर उक्त समस्याको समाधान गरेको थियो । त्यसको दुई वर्षपछि नोकिया फोनले पनि डुअल सिमको सेवा ल्याएको थियो । आज कुनै कुनै ट्रान्सियन फोनमा चारवटा सम्म सिम फिचर उपलब्ध छन् ।

यस्तै टेक्नो ब्राण्डलाई फरक उभ्याउने अर्को फिचर भनेको यसको क्यामेरा हो । जसले कालो स्किन टोनमा समेत राम्रो एक्सपोजर दिन सक्थ्यो । यो परियोजनाको आर एण्ड डीका लागि ट्रान्सियनले भारी लगानी गरेको छ ।

उसले कालो छाला भएका अफ्रिकीहरुको लाखौं लाख तस्वीरहरुको विश्लेषण गरेको थियो । स्थानीय प्रयोगकर्ताहरुको एक्सपोजर र कलर टेम्प्रेचर सेटिङमाथि पनि सर्वेक्षण गरेको थियो । अन्त्यमा उसले आफ्नै क्यामेराको डिजाइनमा ती कुराहरुलाई सेन्थेसाइज गरेको थियो ।

यस्तै इथोपियामा उसको मातृभाषा एम्हारिक भाषामा कीबोर्ड प्रदान गर्ने टेक्नो पहिलो फोन ब्राण्ड बन्यो । यसले गर्दा नयाँ कस्टमर बेस बने । समयक्रममा स्वाहिली र हौसा कीबोर्ड पनि ट्रान्सियन डिभाइसमा थप भयो । 

यी फोन सस्ता छन् 

ट्रान्सियनका फिचर फोन अहिले २० डलरसम्मको मूल्यमा बिक्री हुन्छन् । केन्या, घाना र इथियाेपिया जस्ता उप-साहारी अफ्रिकी मुलुकमा एन्ट्री लेभलको मोबाइल फोनको औसत मूल्य व्यक्तिको मासिक आयको ६९ प्रतिशत मूल्य पर्ने मोबाइल नेटवर्क ट्रेड असोसिएसन जीएसएमएको २०१९ को रिपोर्टले देखाएको छ ।

तर यी मुलुकका २० प्रतिशत मानिस एकदमै गरिब छन्, जसको तीन महिनाको मासिक आय बराबर एन्ट्री लेभलको फोनको मूल्य पर्न जान्छ । यसैकारण यी मुलुकहरुमा फोनको मूल्यले ठूलो महत्व राख्दछ । 

यिनै कुरालाई मध्यनजर गर्दै फोनको शूल्कलाई न्युन बनाउन ट्रान्सियनले पाम साइज स्क्रिन, मल्टिपल लेन्स क्यामेरा र एड्भान्स कम्प्युटिङ पावर जस्ता फिचरहरुलाई फोनमा राखेन । फूल फ्लेज स्मार्टफोनको सट्टामा उसले फिचर फोनहरु बिक्री गर्‍यो ।

यसबाट प्रयोगकर्ताहरुले कल, टेक्स्ट म्यासेज गर्न सक्थे भने फेसबुक जस्ता एप र ओपेरा मिनी जस्ता इन्टरनेट ब्राउजर पनि प्रयोग गर्न सक्दथे । उनीहरुसँग थर्ड पार्टी एन्ड्रोइड एप स्टोरको एक्सेस थिएन ।  

सबैभन्दा पहिले त ट्रान्सियन सस्तो मोडल फोन निर्माणमा केन्द्रित रह्यो र समयसँगै उ विस्तारै स्मार्टफोन निर्माणतिर पनि अगाडि बढ्दै गयो र ग्रामीण क्षेत्रमा पनि आफ्नो प्रभाव विस्तार गर्‍यो । यही लो एण्ड मार्केटले टेक्नो र आईटेललाई स्थापित गरायो । 

२०१९ अगस्टमा अफ्रिकामा बिक्री हुने शीर्ष १० स्मार्टफोनमध्ये ट्रान्सियन ब्राण्ड आठौं स्थानमा पर्दछ । यो सूचीमा आइटेलको आइटी१४०६ फोन सबैभन्दा सस्ताे फोन हो, जसको खुद्रा मूल्य ३५ डलर रहेको छ । यसको नजिकको प्रतिस्पर्धी ह्वावेले वाई सिक्स प्रोलाई १०१ डलरमा बिक्री गर्दछ । 

आज न्यून मूल्य सेग्मेन्टको फोनमा पनि ट्रान्सियनले नोकिया लगायतका प्रतिस्पर्धीलाई पछाडि पारिसकेको छ । अफ्रिकामा १९९० को मध्यदेखि फोन बिक्री गर्न सुरु गरेको फिनिस कम्पनीले एकपटक त्यस बजारको नेतृत्व गर्दथ्यो ।

तर फिचर फोनमा भने २०१९ मा अफ्रिकामा यो दोस्रो स्थानमा पर्‍यो र उसको बिक्री अवस्था बजारको १० प्रतिशत थियो । ट्रान्सियनले अहिले यो बजारको दुई तिहाइभन्दा धेरै भाग ओगटेको छ । 

के उनीहरु अफ्रिकामै रोक्किने छन् ?

ट्रान्सियनले आफ्नो निर्माण अपरेसन २०१९ मा पाकिस्तान, बङ्गलादेश र भारतमा समेत विस्तार गरेको छ । आईडीसीका वरिष्ठ मोबाइल बजार अनुसन्धान व्यवस्थापक रमाजान याभुज क्षेत्रीय आधारमा सफल ब्राण्ड भएको कारण भारतीय उप महादीपमा पनि यो सफल हुन सक्ने बताउँछन् ।

ट्रान्सियनले भारतको ठूलो र अझै प्रतिस्पर्धी वातावरणमा आफ्नो ग्लोकलाइजेसनको रणनीतिलाई प्रयोग गर्ने क्षमताको पनि परीक्षण गर्नेछ । भारतमा ट्रान्सियनले काम गरेको अफ्रिकी बजारमा भन्दा प्रिमियम मोडलको स्मार्टफोन खरिद गर्न सक्ने जनसंख्या छ ।

बजेट सेग्मेन्टका कम्पनीहरु ओप्पो, ह्वावे र साओमीले यहाँ वर्षौं बिताइसकेका छन् । चीनपछि भारत विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार हो । यहाँ ‘अल्ट्रा लो एण्ड डिभाइस’ का लागि अझै पनि स्थान खाली छ । 

रेस्ट अफ वर्ल्डमा प्रकाशित लेखकाे अनुवाद

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३