close

बुटवलका किशोरले बनाए खेतबारी खन्ने, जोत्ने र घाँस काट्ने रोबोट

टेकपाना टेकपाना

असोज २६, २०७७ १८:५२

बुटवलका किशोरले बनाए खेतबारी खन्ने, जोत्ने र घाँस काट्ने रोबोट

रुपन्देही । बुटवल कालिका माविका पाँचजना विद्यार्थीले कृषि प्रयोजनका लागि दुई उपकरण र त्यसलाई सञ्चालन गर्ने एप तयार गरेका छन् । 

कक्षा १२ मा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत साजन पौडेल, लक्ष्मण पौडेल, सुरज बस्याल, अनिश भण्डारी र निराजनप्रसाद भट्टराईले संयुक्त रुपमा जेस्चर कन्ट्रोल कार र एग्रोबोट निर्माण गरेका हुन् ।

यी दुवै रोबोट हुन् । एग्रोबाेट मोबाइल एप सफ्टवेयरबाट कोठामा बसेर सञ्चालन गर्न सकिन्छ भने जेस्चर कन्ट्रोल कार हातको मोसनबाट चल्ने नवीन प्रविधि रहेको टिम सदस्यमध्येका एक साजन पौडेलले टेकपानालाई बताए । 

१७ देखि १९ वर्ष उमेर समूह बीचका यी कलिला अन्वेषकहरुले निर्माण गरेको याे कृषि प्रविधिले मानिसले जस्तै खेतबारी खन्ने, जोत्ने, सिंचाई गर्ने तथा घाँस काट्ने काम गर्दछ । 

टिमले तयार गरेक एग्रोबोटमा माइक्रो नियन्त्रक अर्डिनो मेगा रहेको छ जसले रोबोटमा रहेका सम्पूर्ण उपकरणलाई निर्देशन दिन्छ ।

ब्लुटूथ मोड्युल रहेको कारण यसलाई सजिलै मोबाइलबाट सञ्चालन गर्न सकिन्छ । यसमा जमिन जोत्ने र घाँस काट्ने दुईवटा अस्त्र छन् । यसमा भएको स्वेल मस्च्यूर सेन्सरले माटोमा आवश्यक पर्ने पानीको मात्राबारे रोबाेटलाई जानकारी दिन्छ । 

पाइथनको लाइब्रेरी फाइलबाट प्रयोग भएको एआई प्रविधियुक्त क्यामेरा यसमा जडान गरिएको छ । जसले कुनै पनि बालीका लागि घातक किरा तथा किटलाई डिटेक्ट गर्न सक्छ ।

यसमा लागेको क्यामेराले मसिनको गतिविधिलाई मोबाइल वा ल्यापटपको स्क्रिनमा एप मार्फत डिस्प्ले गर्दछ । यसैका आधारमा यसलाई अगाडि/पछाडि घुमाउन, डुलाउन सकिने पौडेल बताउँछन् । 

नेपाली कृषकका लागि बनाइएको यो प्रविधि सूर्यको किरण र बिजुलीबाट चार्ज भएर चल्दछ । यसले कृषकलाई बाली नालीमा किरा लागे कुन मल प्रयोग गर्ने भन्ने जस्ता जानकारी पनि प्रदान गर्दछ । 

लकडाउनको खाली समयमा आफूहरुले निर्माण गरेको यो प्रोटोटाइपलाई करेसाबारीमा सफल परीक्षण पनि गरिसकेको पौडेलले बताए । 

विद्यालयको साथ सहयोगमा तयार पारेको यो प्रोडक्टलाई लगानीकर्ताले सहयाेग गरे व्यवसायिक रूपमा लैजाने साेच उनीहरूकाे छ ।

‘हामीले खाली समयमा बनाएका हौं । यो प्रोटोटाइप मात्र हो,’ साजनले भने, ‘सफल भयौं भने स्टार्टअप खोल्ने विचार हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४