close

अनलाइन मार्फत आईपीएलमा सट्टेबाज गर्नेहरू धमाधम पक्राउ पर्दै

टेकपाना टेकपाना

असोज २७, २०७७ १९:४५

अनलाइन मार्फत आईपीएलमा सट्टेबाज गर्नेहरू धमाधम पक्राउ पर्दै

काठमाडौं । अनलाइन मार्फत युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी खेलाउने र खेल्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेकाे छ ।

हालै महानगरीय प्रहरी वृत्त, कालिमाटीले सट्टेबाजी खेलाएको आरोपमा आइतबार ६ जना र साेमबार १ जना गरी ७ जनालाई पक्राउ गरेको हो । त्यसमध्ये तीन जना भारतीय छन् ।

पक्राउ पर्नेमा भारत घर भइ कमलपोखरीको कोनार्क इन होटलमा बस्दै आएका कुलदीप शरण, सन्जीव शरण र कानपुर घर भई कुलेश्वर बस्दै आएका अजय गौतम छन् ।

त्यस्तै सिन्धुपाल्चोक घर बताउने प्रदीप घिमिरे, कुलेश्वरका उत्तम सापकोटा र सोल्टीमोडका अनिलकुमार वंशल छन् । पक्राउ परेकाहरूमाथि सोधपुछ गरी सोमबार नवीन जैनलाई पनि पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सट्टेबाजीको अपरेसन भारतबाट भएको र पक्राउ पर्नेहरु एजेन्टहरू हुन् । भारत बसेर सट्टेबाजी खेलाउने ओम सरह भन्ने व्यक्ति रहेको बताइएको छ । नेपालमा बसेर सट्टेबाजी खेलाउने मुख्य व्यक्ति कुलदीप शरणले डार्क वेबुको प्रयोग गरेको खुलको छ ।

उनले अरूलाई पासवोर्ड र युजरनेम दिइ डार्क बेवमा प्रवेश गरी सट्टेबाजी खेलाउने गरेको बताइएको छ । 

त्यस्तै यहाँ लगानी गरी उठेको पैसा सबै भारत पठाउने गरेका थिए । उनीहरूले आईपीएल, बिग ब्यास, क्यारेबियन प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग, लगायतमा पनि सट्टबाजी खेलाउने गरेका थिए । 

उनीहरूबाट मोबाइल, मोटरसाइकल, स्कुटर र एक लाख ८५ हजार १ सय २० रुपैयाँ पनि बरामद भएको छ ।

प्रहरीले अन्य ठाउँबाट पनि सट्टेबाज समूह पक्राउ गर्ने अभियान सञ्चालन गरेकाे छ । यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) को अनलाइन सट्टेबाजीमा पक्राउ परेका विराटनगरका तीन जनाको सम्बन्ध पर्साको वीरगन्जलाई केन्द्र बनाएको एक भारतीय नेटवर्कसँग रहेको खुलेको थियाे ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका ३ का सञ्‍जीव गुप्तालाई सट्टेबाजीको आरोपमा पक्राउ गरेको थियाे ।

प्रहरीका अनुसार नेपाली समूहले संकलन गरेको रकम सोझै भारतका गिरोहसम्म पुग्ने गर्छ । सट्टेबाजीमा हुने जित र हारको बीचमा नेपाली सट्टेबाजहरूले निश्चित कमिशन पाउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४