close

४० पालिकामा अझै पुग्न सकेन इन्टरनेट र टेलिफोन

टेकपाना टेकपाना

असोज २९, २०७७ ७:५७

काठमाडौं । अझैसम्म पनि देशका ४० वटा गाउँपालिकाको केन्द्रमा टेलिफोन र इन्टरनेट पहुँच पुगेका छैनन् । सुदूरपश्चिमको बझाङ, दार्चुला र बाजुरा, कर्णाली प्रदेशका जाजरकोट र डोल्पा, लुम्बिनी प्रदेशका पूर्वी रुकुम र पश्चिमी रोल्पाका स्थानीय तहमा यो समस्या रहँदै आएको खबर गाेरखापत्रले प्रकाशित गरेकाे छ । ।

गण्डकी प्रदेशको पश्चिमी बागलुङ र उत्तरी गोरखा, नेपाल टेलिकमको टावर नहुँदा टेलिफोन र इन्टरनेटको पहुँचबाट गाउँपालिकाहरू वञ्चित भएका हुन् । त्यहाँको पालिकाका प्रशासनमा समेत आधुनिक सञ्चार सेवा पुग्न नसकेको गाउँपालिका महासङ्घले जनाएको छ ।

बागमती प्रदेशको दक्षिणी ललितपुर र काभ्रेको डाँडापारि क्षेत्रमा प्रदेश १ को माथिल्लो सङ्खुवासभा र उदयपुर तथा खोटाङको सुनकोसी क्षेत्रमा पनि नेपाल टेलिकमको टावर नहुँदा टेलिफोन र इन्टरनेटको पहुँचबाट गाउँपालिकाको प्रशासनिक केन्द्रहरू वञ्चित भएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मङ्गलबार भर्चुअल पत्रकार सम्मेलन गरी उक्त जिल्लाका गाउँपालिकामा इन्टरनेट र टेलिफोनको पहुँच नपुगेको जनाएको हो ।

ती गाउँपालिकाको आसपासको बस्तीलाई समेत सेवा पुग्ने गरी नेपाल टेलिकमको टावर स्थापना गर्नु अति आवश्यक भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८१ १७:२०