close

टेलिभिजनमा कसरी हेर्ने मोबाइलको स्क्रिन ?

टेकपाना टेकपाना

असोज ३०, २०७७ १२:३१

टेलिभिजनमा कसरी हेर्ने मोबाइलको स्क्रिन ?

काठमाडौं । यदि तपाईंसँग ठूलो साइजको स्मार्ट टिभी छ भने तपाईं आफ्नो फोन तथा ट्याबलेटमा हेरिने सामग्रीलाई सोझै उक्त टिभीमा हेर्न सक्नुहुन्छ ।

पछिल्लो स्क्रिन मिरर प्रविधिले तपाईंको फोन तथा ट्याबलेटको स्क्रिनलाई टिभीको ठूलो पर्दामा हेर्न सक्नुहुन्छ । 

यदि तपाईं आफ्ना बालबालिकालाई पढाइरहनु भएको छ र उनीहरुलाई इन्टरनेटबाट कुनै चिज देखाउन चाहनुहुन्छ भने फोनको स्क्रिनमा देखाउन मुस्किल हुने गर्दछ । कतिपय समय टिभीमा इन्टरनेट चलाउन पनि झन्झटिलो काम बनिदिन्छ ।

यस्तोमा स्क्रिन मिरर प्रविधि प्रयोग हुने गर्दछ । जसमार्फत तपाईंले फोनको भिडियो फोटो वा प्रिजेन्टेसनलाई टिभीको ठूलो स्क्रिनमा देखाउन सक्नुहुन्छ ।

यो प्रविधि अफिसको मिटिङमा पनि निकै उपयोगी हुने गर्दछ । स्क्रिन मिररिङ एउटा वायरलेस प्रविधि हो, जसले तपाईंको एन्ड्रोइड तथा आईओएस डिभाइसको स्क्रिनलाई सजिलै टेलिभिजनको स्क्रिनमा हेर्ने सुविधा दिन्छ ।

स्क्रिन मिररिङले तपाईंको ल्यापटप, ट्याबलेट वा स्मार्टफोनमा देखिने विषयवस्तुलाई वायरलेस वा केवल कनेक्सनको माध्यमबाट टिभी वा प्रोजेक्टरमा पठाउने काम गर्दछ ।

यसको सहयोगमा इन्टरनेट वा नेटफ्लिक्स,  युट्युवजस्ता एपका कन्टेन्टलाई समेत टिभीमा सहजै हेर्न सकिन्छ । हरेक फोनबाट टिभी वा प्रोजेक्टरमा स्क्रिन मिरर सम्भव हुँदैन । 

यसका लागि दुवै डिभाइसमा स्क्रिन मिररिङ प्रविधि सपोर्ट गर्ने फिचर जरुरी हुन्छ । यद्यपि कतिपय समय एउटै कम्पनीका दुईवटा डिभाइसमा मात्र कम्प्याटिबल हुने गर्दछन् ।

जस्तो आईफोन तथा आईप्याडको स्क्रिन एप्पल टिभीमा सहजै स्क्रिन मिरर गर्न सकिन्छ । केही आईफोन तथा आईप्याड अन्य स्मार्ट टिभीमा स्क्रिन मिरर गर्न अनुमति दिने किसिमका पनि हुन्छन् ।

यसबाहेक जुन एन्ड्रोइड फोन, ट्याबलेट र स्मार्ट टिभीमा स्क्रिन मिररको अप्सन हुन्छ, त्यसमा पनि यो प्रविधिले राम्रोसँग काम गर्दछ ।

कसरी गर्ने स्क्रिन मिररिङ ?

यसका लागि सबैभन्दा पहिला तपाईंसँग एउटा स्मार्टफोन र स्मार्ट टिभी हुन जरुरी छ । आजकलका फोन र टिभी दुवैमा स्क्रिन मिरर एप हुने गर्दछ । जसको सहयोगमा तपाईं आफ्नो फोनको स्क्रिनलाई टिभीमा हेर्न सक्नुहुन्छ ।

उदाहरणको लागि आईफोन र एप्पल टिभीका लागि एयरप्ले एप हुने गर्दछ । यसका लागि अर्को तरिका भनेको छुट्टै डिभाइसको सहयोगमा तपाईं आफ्नो फोनको स्क्रिन टेलिभिजन स्क्रिनमा हेर्न सक्नुहुन्छ ।

यसका लागि स्मार्टफोन त जरुरी नै छ, र साथमा यसमा सपोर्ट गर्नका लागि क्रोमकास्ट, रोकु, फायर स्टिक जस्ता डिभाइस पनि जरुरी हुन्छ । यस्ता डिभाइसको सहयोगमा तपाईं सामान्य टिभीमा समेत स्क्रिन शेयर गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३