close

नयाँ आईफोन बिक्री गराउन पुराना आईफोन स्लो बनाएको देखिका एप्पलका विवाद

टेकपाना टेकपाना

कात्तिक १, २०७७ ११:४७

नयाँ आईफोन बिक्री गराउन पुराना आईफोन स्लो बनाएको देखिका एप्पलका विवाद

काठमाडौं । एप्पलले हालै मात्र आईफोन टेल्भ सिरिज सार्वजनिक गरेको छ । हाई स्पिड नाम दिइएको इभेन्टमार्फत सार्वजनिक अर्को पुस्ताका यी आईफोनमा स्पिड सुधारिएको छ ।

अहिले एप्पलले जुन स्पिडको कुरा गरेको छ, त्यही स्पिडकै विषयमा कम्पनीले ५७ अर्ब रुपैयाँभन्दा बढी मूल्य चुकाईसकेको छ । सन् २०१७ अघि आएका आईफोनमा कम्पनीले जानाजान स्लो गरेको आरोप लागेको थियो ।

जसमा एप्पलले प्रयोगकर्तालाई ५० करोड डलर क्षतिपूर्ति दिनु परेको थियो । पुराना आईफोन स्लो गरेको विषयमा एप्पलमाथि अमेरिकाको स्यान जोस जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

एप्पलले सन् २०१७ मा आफ्नो अपरेटिङ सिस्टमको नयाँ अपडेट आईओएस ११ रिलिज गरेको थियो । उक्त ओएसमा अपडेट गरेपश्चात आईफोन एसई, आईफोन सिक्स, आईफोन सिक्स प्लस, आईफोन सिक्स एस, आईफोन सेभेन र आईफोन सेभेन प्लसका लागि पर्फरमेन्स म्यानेजमेन्ट फिचर रहेको थियो ।

जसका कारण ती मोडेलहरु निकै स्लो हुन पुगे । पुराना आईफोन स्लो बनाएको आरोप लागेपछि कम्पनीले त्यसलाई स्वीकार समेत गर्‍यो ।

यद्यपी कम्पनीले त्यसमा स्पष्टीकरण दिँदै पुराना आईफोनको आयु बढाउनका लागि केही स्लो बनाइने गरेको दाबी गरेको थियो । एप्पलले आईओएस इलाभेनमा ब्याट्री हेल्थ भित्र पिक पर्फर्मेन्स क्यापेबिलिटी फिचर दिएको थियो ।

त्यस अघि उक्त फिचर सबै आईफोनमा डिफल्ट फिचरको रुपमा आउने गर्थ्यो । यो फिचरका कारण पुराना आईफोनको पर्फर्मेन्स निकै स्लो भएको थियो । त्यसपछि एप्पलले आईओएस ११.३ मा उक्त फिचरलाई अन वा अफ गर्ने अप्सन दियो ।

तर यो फिचरका कारण आईफोन प्रयोगकर्तालाई समस्या उत्पन्न भयो । एप्पलले जानाजान नयाँ आईफोन बिक्री गराउन पुराना आईफोनलाई स्लो बनाएको आरोप लाग्यो । त्यस अघि पनि एप्पलमाथि यस्तो आरोप नलागेको होइन ।

सन् २०१६ मा समेत पुराना आईफोन स्लो गराएको आरोप कम्पनीमाथि लागेको थियो । उक्त आरोप पश्चात कम्पनीले माफी समेत मागेको थियो । एप्पलले पर्फरमेन्स म्यानेजमेन्ट फिचर सिस्टमले सीपीयू र जीपीयूलाई स्लो बनाइदिन्छ ।

जसका कारण ब्याट्री लाइफ कम हुने र आईफोनको आयू बढ्ने एप्पलको तर्क छ । उसले नयाँ सफ्टवेयर अपडेटमार्फत प्रयोगकर्तालाई राम्रो अनुभव दिइने गरेको बताउँदै आएको छ । कम्पनीका अनुसार लिथियम आयन ब्याट्री चिसो मौसममा उच्चतम पावर दिन कम सक्षम हुने गर्दछ ।

साथै मोबाइल पुरानो हुँदै जाँदा त्यसको ब्याट्री लाइफ समेत कम हुँदै जान्छ । यसै कारणले नै कयौं समय पुराना आईफोन बन्द हुने गर्दछन् ।

एप्पलका ठूला विवाद

एप्पल यस्ता अनेकौं विवादमा मुछिएको छ । कम्पनीलाई सबैभन्दा बढी विवादित बनाएको एपको विषयले पनि हो । एप्पलले एप स्टोरमा रहेका कयौं एपमाथि रोक लगायो ।

यी यस्ता एप थिए, जसलाई कम्पनीले प्रयोगकर्ताको मनोरञ्जनका लागि आईओएसमा राखेको थियो, तर पछि गएर हटाउनु पर्‍यो । जसमा गर्ल अराउन्ड मी, बेबी शेकर, गेटो ट्वीट, मि सो होली, मिस्टर चेकप्वाइन्ट, आईएम रिच लगायतका एप थिए ।

करिब दुई महिना अघि एप्पल र वर्डप्रेसबीच विवाद सुरु भयो । एप्पल एप स्टोरमा वर्डप्रेस एप निःशुल्क रुपमा डाउनलोड गर्न सकिने थियो । जसमा प्रयोगकर्ता निःशुल्क रुपमा वेबसाइट बनाउन सक्छन् ।

कम्पनीले जसै एपको नयाँ अपडेट जारी गर्‍यो, तब एप्पलले त्यसलाई एबिलिटी दिएन । त्यसपछि वर्डप्रेसका संस्थापक डेभलपर म्याट मुलेनवेगले एप्पलले एप अपडेटका लागि अनुमति नदिएको आरोप लगाए ।

म्याटले एक ट्वीटमार्फत आईओएसमा वर्डप्रेसका केही समयदेखि किन अपडेट दिइएको छैन भन्ने विषय उल्लेख थियो । यद्यपी पछि गएर एप्पलले एक वक्तव्यमार्फत वर्डप्रेससँगको समस्या समाधान भइसकेको जानकारी गराएको थियो ।

यसै साल अमेरिकी गेमिङ कम्पनी इपिक गेम्ससँग समेत एप्पलको विवाद हुन पुग्यो । वास्तवमा एप्पलले उक्त कम्पनीको लोकप्रिय एप फोर्टनाइट गेमलाई आफ्नो एप स्टोरबाट हटाइदिएको थियो ।

उक्त मामिलामा एप्पलले आफ्नो नियमलाई बाइपास गर्दै प्रयोगकर्ताबाट सोझै भुक्तानी योजना ल्याएका कारण एप हटाउनुपरेको जवाफ दिएको थियो । वास्तवमा एप्पल र गुगलले यो एपको आम्दानीको ३० प्रतिशत कमिसन लिँदै आएका छन् । अहिले गुगलले समेत यो एपलाई आफ्नो प्ले स्टोरबाट हटाइसकेको छ ।

एप्पलको सामसङसँगको सात वर्ष पुरानो विवादको श्रृङ्खला सन् २०१८ मा आएर समाप्त भयो । आईफोनको डिजाइन कपी गरेको विषयलाई लिएर सन् २०११ मा यो विवाद सुरु भएको थियो ।

सुरुवातमा अदालतले एप्पलको पक्षमा फैसला सुनाउँदै सामसङमाथि एक अर्ब डलर जरिवाना लगायो । तर पनि मुद्दा समाप्त भएन । एप्पलले सामसङमाथि ट्याप टु जुम, होम स्क्रिन एप ग्रिड र लेआउट जस्ता आधारभूत फंसन चोरी गरेको आरोप लगाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३