close

स्टार्टअपको ‘मिठो झुट’ बाँड्न बन्द गरौं

टेकपाना टेकपाना

कात्तिक १, २०७७ २०:३८

स्टार्टअपको ‘मिठो झुट’ बाँड्न बन्द गरौं

‘स्टार्टअप’ सुन्दा नै निकै आनन्द लाग्ने शब्द । आफ्नो कुनै हितेषीलाई सहसंस्थापक बनाएर नयाँ व्यवसायिक यात्रा थाल्दा वा सुरू गर्ने साेच राख्दा नै धेरै रमाइलो लाग्छ, होइन र ?

कतिपय ‘उद्यमी’ स्टार्टअप सुरु गर्न एक पैसा पनि लाग्दैन भन्ने कुरामा विश्वास गर्छन् । एउटा दमदार आइडियालाई वेब तथा एपबाट कार्यान्वयन गरेपछि नाम, दाम र इज्जत सबै मिल्छ भन्ने विश्वास गर्छन् । तर के यो साँच्चै हो त ? 

यदि साँच्चै नै यस्तै हो भने, नेपालमा कति धेरै ह्याकाथन र आइडिया पिचिङ प्रतिस्पर्धा आयोजना हुन्छन्, जसबाट हाम्रा युवाले धेरै राम्रा आइडिया बाहिर ल्याइरहेका हुन्छन् । तर वास्विक विश्वमा ती सबै आइडियाले किन सफल व्यवसायको मूर्तरुप लिन पाउँदैनन् ?

किन एकदमै कम आइडिया मात्र वास्तविक विश्वमा कार्यान्वयन हुन्छन् ? किन यी आइडिया टुटल, पठाओ र फुडमाण्डु जस्ता भेन्चर बन्न सक्दैनन् । असफल किन हुन्छन् ?

यी तमाम वास्तविकता तपाईंको अगाडि असरल्ल छरिएका छन् । अब एकपटक सोच्नुहोस् त कतै स्टार्टअपको अवधारणालाई हामी ‘फ्यान्टसाइज’ त गरिरहेका छैनौं ? कतै यो पुस्तालाई हामीले मिठो झुठ त बाँडिरहेको छैनाैं ?

कतै यिनै फ्यान्टसी र अज्ञानताबाट भ्रमित भएर हाम्रा उदाउँदा भविष्य स्टार्टअपको वास्तविक आवश्यकता र चुनौतीलाई सम्बोधन गर्न भुलिरहेका त छैनन् ?

मलाई लाग्छ स्टार्टअपको झुट पनि कोभिड १९ को भन्दा फरक छैन । जो मान्छे यसबाट संक्रमित नै छैनन्, उनीहरु यसबारे सर्वज्ञानीको रुपमा प्रस्तुत हुँदैछन् र वास्तविकतालाई नभई झुट फिँजाइरहेका छन् । 

म पनि अहिले एउटा स्टार्टअप कम्पनी सुरु गर्ने प्रक्रियामा छु । यसबीच मैले बजारमा व्याप्त अवधारणा र आफूले देखे भोगेका चुनौतीहरुबीच लेखाजोखा गर्न अवसर र ज्ञान पाएँ । 

वास्तवमै हामीले स्टार्टअपको अवधारणालाई एकदमै फ्यान्टसाइज गरेका छौं । एउटा राम्रो प्रडक्ट बनाइसकेपछि सजिलै ट्रयाक्सन पाउनुका साथै बजारमा नाम, दाम कमाउन सकिन्छ भनेर हामीलाई सिकाइएको छ ।

यसरी नयाँ उद्यमी स्टार्टअपको कपोलकल्पित स्वप्निल उडान गरिरहँदा त्यहाँसम्म पुग्न भोग्नुपर्ने कठिनाइहरुको बारेमा थाहा पाउन उनीहरु चुकिरहेका हुन्छन् । 

मेरो विचारमा समस्या सबैभन्दा पहिले त्यहाँबाट सुरु हुन्छ, जब हामी आफ्नो कम्पनीलाई दोस्रो फेसबुक बनाउने सपना देख्न थाल्छौं र त्यहीँ अनुसार काम सुरु गर्छौं ।

तर यसले परिणाम त पक्कै दिदैँन । नेपालको कुनै एउटा शहरमा उत्पत्ति भएको कम्पनी कहिल्यै पनि दोस्रो फेसबुक बन्न सक्दैन । दोस्रो फेसबुक पनि मार्कले सुरु गरेकै फेसबुक बन्नेछ ।

तपाईले कुनै पनि ब्राण्डलाई कपी गरेर त्यसलाई आफ्नो बनाउन सक्नु हुँदैन । यसो भनिरहँदा स्टार्टअप भन्दैमा कसैले नसोचेको आइडियामा तपाईंले काम गर्नुपर्छ भन्ने होइन । पृथक र नयाँ नै केही गर्नुपर्छ भन्ने अनिवार्यता छैन ।

तर तपाईले कुनै पनि एउटा सोसल मिडिया साइट बनाएर त्यसलाई ‘नेक्स्ट फेसबुक अफ नेपाल’ भनेर ब्राण्डिङ गर्नु हुँदैन । जब एउटा उद्यमीले आफ्नो प्रडक्टलाई दोस्रो फेसबुक बनाउने महत्वकांक्षा लिएर काम गर्न थाल्छ तब अपेक्षाकृत परिणाम नपाउन सक्छन् ।

यसले उनीहरुमा नैराश्यता उत्पन्न गराउँछ । एक किसिमको उत्साह त यत्तिकैमा बिलाएर जान्छ ।तपाई त त्यस्तो प्रडक्ट बनाउन लाग्नुहोस्, जुन अरुभन्दा फरक होस् र त्यसले समुदायको वास्तविक समस्या समाधान गरोस् ।

जसलाई तपाईं अघि आएका वा सँगै आएका अन्य ब्राण्ड वा प्रडक्टले सम्बोधन गर्न नसकेको होस् । हामीले केही यस्ता समस्याहरुमा आखाँ पुर्‍याउनु पर्छ, जुन अहिलेसम्म समाधान हुन नसकेको होस् । वास्तवमा स्टार्टअपको आत्मा भनेकै समस्याको समाधान हो ।

तपाई पृथक हुनुहुन्छ, तपाईको प्रडक्ट र सेवालाई पनि पृथक बनाउने प्रयास गर्नुहोस् । मानिसहरुले भीडमा भिन्न कुरा खोजिरहेका हुन्छन् । दोस्रो फेसबुक बन्ने महत्वकांक्षालाई स्टार्टअपको अवधारणा सुरु गर्दै गर्दा नै पन्छाइदिनुहोस् ।

किनभने मार्कले सुरुमा हावर्डको कलेजका विद्यार्थीहरुको नेटवर्कलाई जोड्न खोजेको थियो । तर भाग्यवश उसले सम्बोधन गर्न खोजेको समस्या त्यस समयको विश्व समस्यासँग मिल्न गयो र उनको प्रडक्ट नै ग्लोबलाइज भयो ।

तर तपाईंले त्यस्तै नै अवधारणामा प्रडक्ट बनाउन खोज्नुभयो भने चलिरहेको प्लेटफर्मलाई छोडेर तपाईको प्लेटफर्ममा आउनुपर्ने कारण के हुन्छ त ? हामीले यो कुरा बुझ्नुपर्छ । 

यसो भनिरहँदा अर्को पक्ष के विचार गर्नुपर्छ भने फेसबुक जस्तै अवधारणामा बनेको इन्स्टाग्राम पनि ग्लोबल सेन्सेसन बन्यो किनभने उसले पनि एउटा छुट्टै समस्याको समाधान गरेको छ, जसलाई सम्बोधन गर्न फेसबुकको नजर कहिल्यै परेन ।

कति धेरै मानिसहरु आफ्नो स्टोरी शेयर गर्न चाहन्थे । आज इन्स्टाग्रामले कति सुन्दर ढंगबाट त्यसलाई शेयर तथा प्रस्तुत गर्ने ठाउँ प्रदान गरिदिएको छ । 

नेपालमा अहिले खाना डेलिभरीका लागि कति धेरै स्टार्टअप आइरहेका छन् । यदि तपाईं पनि यही भीडमा छिरेर विराटनगरको नयाँ फुडमाण्डु सुरु गर्छु भनेर नलाग्नुहोस् । किनभने फुडमाण्डु त एउटै पर्याप्त छ ।

तर फुडमाण्डुले दिन नसकेको सेवामाथि वा क्षेत्रलाई चिरेर हेरी यस्तै प्रकृतिको नयाँ स्टार्टअप सुरु गर्न सक्नुहुन्छ । तपाईंको प्लेटफर्ममा के विशेष कुरा छ, जसले गर्दा भइ आएका प्लेटफर्म छोडेर तपाईंकोमा ग्राहक आउन सकुन् भन्ने कुरालाई सुरुमै सुनिश्चित गर्नुपर्छ । 

नेपालमा टुटल आएपश्चात पठाओ आयो । दुवैको सेवा प्रकृति उस्तै छ । तर उनीहरुको बिजनेस मोडालिटी फरक छ ।

यस्तै फुडमाण्डु र फुडमारियो बाहिरबाट हेर्दा एउटै देखिए पनि दुवै कम्पनीको सेवामा फरक छ । एउटाले तपाईंलाई घरमा बनेको खाने कुरा डेलिभरी गर्छ भने अर्कोले रेस्टुरेन्टमा बनेको खाने कुरा डेलिभरी गर्दछ ।

स्टार्टअप एउटा व्यापक अवधारणा हो । यहाँ गर्नलाई प्रशस्तै स्थान छन् । तर सेवा समाधानमुखी र पृथक हुनुको अन्य विकल्प छैन ।  

त्यसपछि कुरा आउँछ संसाधन र पूँजीको । शुन्य लगानीमा तपाईंले कम्पनी सुरु गर्न सक्नुहुँदैन । जुन कुरा यो पुस्तालाई बुझाउनमा हामी कन्चुस्याइ गरिरहन्छौं । 

एउटा उद्यमीले थोरै लगानीमा मानिसहरुलाई अधिकतम फाइदा दिने प्रडक्ट कसरी बनाउने भन्ने कुरा सधै ‘ब्याक अप द माइण्ड’ मा सेट गरेर राख्नुपर्छ ।

स्टार्टअप हामी गर्दैछौ, कुनै प्रडक्ट बनाउँदैछौं भने त्यसलाई धेरैभन्दा धेरै मानिसहरुले प्रयोग गर्नुपर्छ । कम्तिमा आफ्नो लक्षित वर्गले त अनिवार्य प्रयोग गर्नपर्छ ।  त्यस्तो हुन सकेन भने स्टार्टअप सुरु गरेर प्रडक्ट बनाएको अर्थ नै हुँदैन ।

यसका लागि तपाईसँग मानिसको आवश्यकता पुरा गर्ने र उनीहरुले रुचाउने प्रडक्ट हुनुपर्दछ । जबसम्म तपाईंले आफ्नो प्रडक्टलाई बजारमा पुर्‍याउनु हुँदैन तबसम्म तपाईंलाई थाहा हुँदैन कि बजारमा तपाईंको भन्दा राम्रो प्रडक्ट पनि छ र कम्तिमा तपाईंकै जस्तै प्रडक्ट पनि छ ।

यसकारण आफ्नो प्रडक्टको एक्जिक्युसनको पाटो एकदमै महत्वपूर्ण हुन्छ । यसको लागि तपाईंलाई टिम र पूँजीको खाँचो पर्दछ । एउटा राम्रो प्रोडक्ट बनाउँदासम्म जति प्रक्रिया, समय र लगानी लाग्छ, त्यहीँ समयमा नै धेरै जसो स्टार्टअपहरु फेजआउट हुने गरेका छन् ।

अझ हाम्रो जस्तो मुलुकमा जहाँ स्टार्टअपका संस्थापकहरु यति कम उमेर समूहका हुन्छन् कि उनीहरुसँग लगानीका लागि प्रारम्भिक बचत हुँदैन । अनुभवको उत्तिकै कमि देखिन्छ यस क्षेत्रमा ।

ग्लोबल ट्रेण्ड हेर्ने हो भने एउटा स्थापित मान्छेले आफ्नो काम र सेवालाई छोडेर प्रतिबद्ध भएर स्टार्टअपमा लागेको एकदमै कम देखिन्छ । 

ग्लोबल ट्रेण्डलाई पछ्याउँदै गर्दा स्टार्टअपमा देखिएको उमेर हदबन्दीको ट्याबूबाट हामीले कहिल्यै आफूलाई अलग्याउन सकेनौं । अहिले नयाँ प्रडक्ट बनाउन र नयाँ अवधारणा जन्माउन जुन पुस्ता लगेका छन् ती सबै २१ देखि ३० त्यो उमेर समूहका छन् ।

जुन उमेर समूहकाहरुसँग न त अनुभव न त लगानीका लागि बचत नै हुन्छ । स्टार्टअप कुनै एउटा वेबपेज तयार गर्नु मात्र होइन । यो एउटा व्यवसाय हो जसलाई सुरु गर्न धेरै कुराहरुको आवश्यकता पर्छ ।

यी कुराहरुबाट उनीहरु अनविज्ञ हुन्छन् । यस किसिमको अनविज्ञता तर अनाहकको जोशले युवाालई कतै पनि पुर्‍याउन सक्दैन । 

यद्यपि परिवेश यी कुरामा बाधा बनिदिएको छ । हामीले बजारको एउटा परिवेश र अवधारणा देखिरहेका छौं । यही परिवश नै पनि वास्तवमा स्टार्टअप उद्यमशीलताको क्षेत्रमा उमेर हदबन्दीको ट्याबूलाई मलजल गरिरहेको छ ।

नेपाल जस्तो ठाउँमा ३० वर्षपछि हामीसँग कुनै करियर र अप्सन हुँदैन । जीवनसँग एउटा व्यक्तिले प्रयोग गर्न पाउँदैन । हाम्रा अनेक कर्म सुरु गर्नुपर्ने समय आउँछन् । जिम्मेवारीहरु हुन्छन् ।

यसैले मान्छेहरु आफूसँग जुन अप्सन वा काम छ त्यसैमा टाँसिएर बस्छन् आइडिया भए पनि अर्कोतिर लाग्ने सोच्ने फुर्सद उनीहरुसँग हुँदैन ।

यसैले पनि हामी २१ वर्षे कलेज ब्वाइ मार्क जुकरवर्गको सफलतालाई आदर्शको रुपमा लिन्छौं । त्यसबाट प्रेरित हुन्छौं । हामीले मार्क जुकरबर्ग देख्यौं, जसले करिब २१ वर्षको उमेरमा हावर्डबाट फेसबुकको सुरुवात गरे, जुन लगत्तै ग्लोबल सेन्सेसन बन्यो ।

तर हामीले कहिल्यै यस पछाडिका कुरा बुझ्न थोरै समय पनि खर्चेनौं कि मार्क जुकरबर्गको शिक्षा, ग्रुमिङ, त्यस मुलुकको अर्थ तथा वैधानिक व्यवस्था सबै कुरा फरक छन् ।

किनभने तपाईंले जे सोच्नुहुन्छ त्यो तपाईंले पाएको शिक्षाको नै प्रतिफल हो । परिवेश फरक भए पछि सबै कुरा स्वत: फरक पर्छन् । दूरको उदाहरण हेरेर त्योसँग आफूलाई जोडी त्यसलाई अबलम्बन गर्नु खोज्नु उचित हुँदैन । यसैले मार्कसँग तुलना गर्नु ठीक होइन । 

जति पनि मानिसहरु स्टार्टअपमा लागिरहेका छन्, उनीहरुले धेरै कुरासँग सम्झौता गरिरहेका हुन्छन् । धेरै कुरा बाजीमा राखेका हुन्छन् । पूँजी बाजीमा राखेका हुन्छन् । तर सबैभन्दा महत्वपूर्ण कुरा त आफ्नो मूल्यवान् समयलाई उनीहरुले बाजीमा राखेका हुन्छन् ।

स्टार्टअपमा दिने समय कतै अन्य संस्थामा लगानी गरेको भए कति अनुभव बटुल्न सक्थे, तर त्यसलाई यता लगानी गरेका हुन्छन् । अझ स्टार्टअप सुरु गर्दै गर्दा कतिले सबैतिरको जिम्मेवारी आफैले बहन गर्छन् ।

यसो हुँदा उनीहरु ‘ज्याक अफ अल मास्टर अफ नोन’ बनिदिन्छन् । तर तीनचार वर्ष लगानी गरेको स्टार्टअप डुब्यो भने अब के गर्ने त ? उनीहरुसँग अप्सन हुँदैन ।

त्यस्तो छुट्टै क्षमता र विज्ञता नभएको मान्छेलाई त हाम्रो उद्योगमा बाँच्न गाह्रो हुन्छ । यी कुराहरु लेखिरहँदा उद्यमीहरुलाई हतोत्साहित गर्ने मेरो आशय होइन ।

तर यस्ता कुरा हामीले यो पुस्तालाई बुझाउनु पर्छ ताकि उनीहरुले स्टार्टअपको यो पाटो भोग्नुअघि तयारी रहन सकुन् । काम गर्नुअघि राम्रो तयारी गर्ने र प्रक्रियामा जाने गरियो भने असफल भएको अवस्थामा धेरै निराश हुनुपर्दैन । धैर्यता राख्न सिक्छन् ।

समयमा हामी धैर्यता राख्दैनौं र प्रक्रियामै विश्वास गर्दैनौं भने परिणाम नै पाउँदैनौं । 

स्टार्टअप युवाहरुको ठेक्का हो भन्ने दिगभ्रम त्याग्नुहोस् । कोही युवामा स्किल राम्रो देखिएको छ भन्दैमा उसको आइडिया राम्रै हुन्छ भन्ने हुँदैन । तपाईंले कसरी सोच्नुहुन्छ । तपाई जति भर्सटाइल र सिर्जनात्मक सोच्नुहुन्छ त्यसले तपाईंलाई युवा बनाउने हो ।

तपाईं ४० वर्षको उमेरमा आए पनि बजार डिस्रप्ट गर्नसक्ने आइडिया ल्याउन सक्नुहुन्छ । पूँजी चाहिन्छ । लगानी अत्यावश्यक हो । कति लागत आवश्यक हो त्यसको पूर्वानुमान गर्नुहोस् ।

प्रडक्ट तयार गर्दाको चरणमा बजार पुर्‍याउनुअघि त्यसको मूल्य कटौती गर्न सकिन्छ कि त्यसलाई हिसाब गर्नुहोस् । एउटा प्रडक्ट बनाउँदा न्यूनतम र अधिकतम खर्चको हिसाब निकाल्नुहोस् । ताकि प्रक्रियालाई हामी आफ्नो बजेटअनुसार लिएर अगाडि बढाउन सकौं । 

यसैकारण कुनै पनि प्रडक्ट तयार गर्नुअघि बजारमा एकपटक निरीक्षण गर्नुहोस् । तपाईंको जस्तो प्रडक्ट बजारमा छ वा छैन सुनिश्चित गर्नुहोस् । छ भने उसको प्लेटफर्म कुन क्षेत्रमा केन्द्रीत भएर काम गरिरहेको छ र केमा केन्द्रित भएर काम गराउने हो त्यो बुझ्नुहोस् । 

तर कहिलेकाहिँ प्रडक्ट एकै किसिमको भएपनि पछाडि आउने प्रडक्टहरु राम्रोसँग चल्न सक्छन् । त्यसलाई मार्केटिङले फरक पार्दछ । यहाँ फस्ट कमरभन्दा पनि फास्ट कमरहरुले बजारलाई डिस्रप्ट गर्न सक्छन् ।

ह्याण्डसेट ब्राण्ड नोकियालाई पछि आएका स्मार्टफोन ब्राण्ड सामसङ आइफोनहरुले यसरी विस्थापन गरिदिए कि बजार डिस्रप्ट भइदियो ।

यी त भए पछिका कुरा । तर सुरुवातको कुरा गर्दा तपाईं स्टार्टअप सुरु गरेर अगाडि बढ्न चाहनुहुन्छ भने जोडिन नसकेका मानिसलाई जोडिदिनुहोस् । समस्या समाधान गरिदिनुहोस् । 

यसका लागि स्टार्टअप एउटा सजिलो कुरा हो, जसले पनि गर्न सक्छन् भनेर यसलाई फ्यान्टसाइज गर्नुको सट्टा हामीले युवाहरुलाई यी कुरा सम्झाउनु पर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३