कस्तो होला फाइभजी आएपछिको जिन्दगी ?

what exactly will change 5G on our lives

काठमाडौं । आईफोनका पारखीहरुका लागि एप्पलले केही दिनअघि मात्र नयाँ कोसेली सार्वजनिक गर्‍यो । कम्पनीले कोरोना भाइरसका कारण ढिलो गरी आईफोन ट्वेल्भ सिरिजलाई अनलाइन इभेन्टमार्फत सार्वजनिक गरेको थियो ।

यो नै एप्पलको पहिलो फाइभजी स्मार्टफोन हो । एप्पलले फाइभजी आईफोन सार्वजनिक गरेपछि पुनः एक पटक फाइभजीको चर्चा चुलिएको छ ।

केही वर्षयता सुन्दै आएको विषय भएपनि फाइभजी आखिर के हो भन्ने विषयमा अझै धेरैमा अनेकाैं किसिमका जिज्ञासा छन् । त्यस किसिमका जिज्ञासा शान्त पार्न आज हामी तपाईंका लागि केही सामग्री पस्किँदै छौं ।

आखिर के हो त फाइभजी ?
फाइभजी तीव्र इन्टरनेटको यस्तो संसार हो, जहाँ सारा काम क्षणभरमै संभव छ । फाइभजीको दुनियाँमा उपकरणहरुले आपसमै सञ्चार गर्नेछन् र एउटा उन्नत किसिमको नेटवर्क तयार हुनेछ ।

विज्ञहरुका अनुसार फाइभजीमा स्पिड मात्र फास्ट हुने छैन, यसले प्रविधि विश्वको अनुभवलाई नै अर्को स्तरमा लैजानेछ । यदि तपाईं अहिले मोबाइल डेटाबाट स्मार्टफोनमा इन्टरनेट चलाइरहनु भएको छ भने फोरजी, एलटीई वा थ्रीजी लेखिएको देखाइरहेको होला ।

यसमा लेखिएको जीको अर्थ जेनेरेसन अर्थात पुस्ता हो । मानव पुस्ता जस्तै यो नेटवर्कको पुस्ता हो । सन् १९८० मा सबैभन्दा पहिला वान जी आएको थियो ।

यसमा केवल कल गर्न सकिने सुविधा थियो । डिभाइस पनि एकदमै स्लो र गह्रौं हुने गर्दथे । त्यसपछि सन् १९९० मा टुजी आयो । यसमा कलसँगै म्यासेजको सुविधा पनि मिल्न थाल्यो ।

साथै यसमा जीपीआरएस पनि चलाउन मिल्थ्यो, तर इन्टरनेट स्पिड निकै स्लो थियो । जीपीआरएसको प्रयोग खासगरी ईमेल तथा ससाना साइजका फाइलहरु ट्रान्सफर गर्नका लागि हुने गर्दथ्यो ।

सन् २००३ मा थ्रीजी आएसँगै नेटवर्कको दुनियाँमा एउटा क्रान्तिकारी परिवर्तन देखा पर्‍यो । थ्रीजीले इन्टरनेट प्रयोगको अनुभवलाई नै बदलिदियो । फोनमा इन्टरनेट कनेक्टिभिटी निकै तीव्र भयो ।

यहाँसम्म कि फोनमा कुनै फिल्म डाउनलोड गरेर हेर्न सकिने कुरा संभव भयो । त्यसपछि सन् २००९ मा नेटवर्कको विकास थप एक कदम अगाडि बढ्यो । त्यसमा फोरजी आएको थियो ।

फोरजी नेटवर्कमा सय एमबीपीएसको स्पिड थियो । जसबाट एचडी क्वालिटीको भिडियो कल संभव भयो । त्यसैले त अहिले भिडियो कन्फ्रेन्सिङ एपहरुको जमाना छ । हाई डेफिनेसन गेमहरु अनलाइनमै खेल्न सम्भव भएको छ ।

फोरजीले स्मार्टफोनलाई एउटा सानो कम्प्युटरको स्थानमा उभ्याइदियो । अब फोरजी पछिको पुस्ता, अर्थात फाइभजीको कुरा गरौं ।

यहाँसम्म आईपुग्दा तपाईंले पक्कै सोचिरहनु भएको हुनसक्छ, फाइभजी कति फास्ट होला ? साच्चिकै यो फोरजीको तुलनामा सय गुणा बढी फास्ट हुनेछ ।

एउटा उदाहरणकै रुपमा हेरौं है त ! थ्रीजी नेटवर्कमा एक वा दुई घण्टाको एचडी फिल्म डाउनलोड गर्न २६ घण्टा लाग्ने गर्दथ्यो ।

फोरजीले यो समयलाई घटाएर पाँच सात मिनेटसम्ममा सीमित गरदियो । अब फाइभजी आएपछि यो समय ३.५ सेकेन्ड वा त्यसभन्दा पनि कममा झर्नेछ ।

फाइभजीले स्पिड बाहेक केमा परिवर्तन ल्याउला ?

फाइभजी आएपछि स्पिडसँगै आसपासको सबै सिस्टम नै बदलिनेछ । यसमा लेटेन्सी अर्थात् कुनै डिभाइसको रेस्पोन्स सिस्टम निकै फास्ट हुनेछ ।

फोरजीमा ५० देखि सय मिलि सेकेन्ड रहेको लेटेन्सी फाइभजीमा एक मिली सेकेन्डमा सीमित हुनेछ । यसको अर्थ तपाईंले इन्टरनेटमार्फत दिएको कुनै कमान्ड तुरुन्तातुरुन्तै अर्थात रियल टाइममै एक्सनमा उत्रिनेछ ।

फाइभजीमा मसिनहरुले आपसमा कुराकानी गर्नेछन् । कमान्ड दिएकै भरमा स्वचालित रुपमा अनेकौं काम सम्भव हुनेछ ।

उदाहरणको रुपमा तपाईं काठमाडौंबाट दिल्ली हिँड्नुभयो । तर घरमा फ्रिज अन छ । यस्तोमा तपाईं दिल्लीबाट चाहेकै समयमा त्यसलाई बन्द गराउन सक्नुहुनेछ ।

सिंगापुरको कुनै अस्पतालमा रहेको विशेषज्ञ डाक्टरले काठमाडौंमा भएको बिरामीको सर्जरी गर्न सक्नेछ । यसका लागि रोबोटिक्स आर्म (हात पाखुराको रुपमा रहेको रोबोट) को प्रयोग हुनेछ ।

डक्टरले आफ्नो अगाडि रहेको डिभाइसको स्क्रिनमा हेरेरै टाढाबाट अप्रेसन गरिदिनेछन् । सारमा तपाईं सयौं किलोमिटर टाढाको दुरीमा हुँदा पनि इन्टरनेटमार्फत कमान्ड दिँदा तत्कालै काम हुनेछ ।

भीआर प्रविधिको सहयोगमा तपाईं आफ्नो कल्पनामा भएको कुरालाई सजीव रुपमा उतारेर हेर्न सक्नुहुनेछ ।

कसरी काम गर्छ फाइभजी ?

फाइभजीले यति तीव्र रुपमा काम गर्नुको पछाडि यसले मिलीमिटर वेबको भूमिका रहेको हुन्छ । यो एक किसिमको रेडियो तरंग हो ।

हाम्रो स्मार्टफोन तथा अन्य स्मार्ट डिभाइस यीनै मिलिमिटर वेबबाट आपसमा जोडिएका हुन्छन् । यदि कुनै स्थानमा धेरै स्मार्टफोन छन भने यो फ्रिक्वेन्सी बाँडिन पुग्छ र नेटवर्क स्लो हुन थाल्दछ ।

अहिलेको समयमा यो मिलीमिटर वेब ६ गिगाहर्जमा काम गर्दछ । तर फाइभजी आएपछि यो बढेर ३० देखि ३०० गिगाहर्जमा काम गर्नेछ ।

फोरजी नेटवर्कको कुरा गर्ने हो भने ५०० वर्ग किलोमिटरमा १० लाख डिभाइस कनेक्ट हुन सक्छन् । जब कि फाइभजीमा केवल एक वर्ग किलोमिटरमै १० लाख डिभाइस कनेक्ट गर्ने क्षमता रहेको छ ।

त्यसो भए फाइभजी सम्पूर्ण रुपमा पूर्ण छ ?

एउटा भनाई नै छ, कुनै पनि चिज पूर्ण हुन्न । यस्तोमाा फाइभजीमा पनि कयौं क्षमता र विशेषता हुनुका बावजूद केही कमजोर पक्ष पनि छन् ।

यहाँनिर थाहा पाउनुपर्ने कुरा के छ भने मिलिमिटर वेब धेरै टाढासम्म जान सक्दैन । साथै यदि बीचमा कुनै अवरोध आयो भने कनेक्सन टुट्न सक्छ ।

यसका साथै खराब मौसम र वर्षातमा पनि मिलिमिटर वेब प्रभावित हुने गर्दछ । फाइभजी कनेक्टिभिटीका लागि हामीलाई निकै ठूला पूर्वाधार आवश्यक पर्दछन् ।

सबैतिर कनेक्टिभिटी पुर्‍याउने हो भने ससाना इलाकाहरुमा पनि फाइभजीका कयौं ट्रान्समिटर जडान गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team