close

जोकसैले समान किन्न र बेच्न सक्ने अनलाइन मार्केट प्लेस – गो लिस्टेड

टेकपाना टेकपाना

कात्तिक २, २०७७ २०:१३

जोकसैले समान किन्न र बेच्न सक्ने अनलाइन मार्केट प्लेस – गो लिस्टेड

काठमाडौं । दुई वर्षअघि कालोपुलस्थित एक कोवर्किङ स्पेस ‘वर्कअराउण्ड’मा सोभित पौडेल र सुरेन्द्र योन्जनको भेट भयो । प्राविधिक पृष्ठभूमीका दुवै व्यक्ति त्यहाँ फ्रिल्यान्सरको रुपमा काम गर्दै थिए ।

त्यस समय सोभित र सुरेन्द्र दुवैले आ-आफ्नो कम्पनी क्रमश: भेरिस्क र डियरवाक छोडेर नयाँ केही गर्ने योजनामा एउटा असल साझेदार तथा सहयात्रीको खोजी गरिरहेका थिए । सामान्य चिनजानसँगै उनीहरू नयाँ भेन्चरका लागि एकअर्कालाई सहयात्री देख्न थाले ।

कोवर्किङ स्पेसमै सोच र भिजनहरु एकआपसमा साझा गरेपछि एक महिनासम्म निरन्तर छलफल र वर्कआउट पछि दुवैले २०७५ सालमै ट्रुनेरी कम्पनीको स्थापना गरे । 

डेभलपरको रुपमा काम गर्दै आइरहेका दुबै युवाले सफ्टवेयर डेभलपमेन्ट कम्पनी ट्रुनरी स्थापना गरे । दुई वर्षमा दुईको टिम बढेर दश जनामा पुग्यो ।

तर खाली क्लाइन्टको मागअनुसार तयार गर्ने सफ्टवेयर डेभलपमेन्टबाट सोभित र सुरेन्द्रको व्यवसायिक लक्ष्य पुरा हुने थिएन । ट्रुनेरी सुरु गर्नुअगावै दुवैकाे लक्ष्य प्रोडक्ट फोकस रहेर काम गर्नु थियो ।

यसैले ट्रुनरीको माध्यमबाट क्लाइन्ट र अनुभव बटुलेर आफ्नै सर्भिस मोटिभ प्रोडक्ट बजारमा ल्याउने योजना ल्याए ।

यस्तै योजना अन्तर्गत रहेर काम गर्दै गएका साेभित र सुरेन्द्रकाे सपनाले मूर्तरूप पाएकाे छ । सफ्टवेयर डेभलपमेन्ट कम्पनीबाट सोभित र सुरेन्द्र दुवै अब स्टार्टअप उद्यमशीलताको मार्गमा लागेका छन् ।

एक महिनाअघि मात्र यी युवाले अनलाइन मार्केट प्लेस गो लिस्टेड नेपाली बजारमा ल्याएका छन् ।   

‘गो लिस्टेडलाई हामीले कोभिड सुरु हुनुभन्दा अलिक अगाडि सुरु गर्न लागेका थियौं,’ सोभित भन्छन्, ‘तर लकडाउन भएर मार्केटिङ गर्न पाइएन । यसैले अहिले फेसबुक लगायतबाट मार्केटिङ गर्दै एक महिनाअघि लञ्च गर्‍यौं ।’ 

३२ वर्षे सोभित र ३० वर्षिय सुरेन्द्रले सार्वजनिक गरेको ‘गो लिस्टेड’ नेपाली बजारमा नयाँ अनलाइन मार्केट प्लेस होइन । नेपाली बजारमा हाम्रो बजार जस्ता अनलाइन मार्केट प्लेस जाइन्टको राम्रो दबदबा छ ।

तर ‘गो लिस्टेड’ आफैमा पृथक पहिचान बोकेको विशुद्ध नयाँ फिचरसहित नेपाली बजारमा आएको उनीहरू बताउँछन् । 

‘गो लिस्टेड’ वेब एप्लिकेसन भन्दा पनि नेपाली उपभोक्तामैत्री मोबाइल एप्लिकेसनमा लक्षित छ । यो एन्ड्रोइडआइओएस दुबैमा उपलब्ध छ । 

‘गो लिस्टेड’मा मानिसहरुले आफ्नो पुरानो तथा नयाँ जुनसुकै सामाग्री नि:शुल्क रुपमा किन्न र बेच्न पाउँछन् ।

प्रोडक्ट रेन्जमा कुरा गर्दा टु ह्विलर्स, फोर ह्विलर्स, ग्याजेट, होम अप्लाइन्स, फर्निचर, रुम/फ्ल्याट जस्ता कुराहरुको सेग्मेन्ट नै छुट्याएको छ । विधा अनुसारका सामान राख्न मिल्ने सोभित बताउँछन् ।  ।

गो लिस्टेडले व्यक्तिगत प्रयोगकर्ता बाहेक थर्ड पार्टी भेन्डरलाई समेत ठाउँ दिन सेग्मेन्ट बनाउने तयारीमा रहेको उनले बताए । 

याे प्लेटफर्म प्रयोग गर्न चाहनेहरुले मोबाइल नम्बर इन्ट्री गरेर निशुल्क साइनअप गर्न सक्छन् । नम्बर भेरिफाई भएपछि उनीहरुले प्रोडक्ट लिस्टिङ गर्न सक्छन् । 

प्रोडक्ट लिस्टिङका लागि पनि गो लिस्टेडको युआई अर्थात् युजर इन्टरफेस एकदमै सजिलो भएको सुरेन्द्र बताउँछन् । 

‘गो लिस्टेडको युआई एकदमै आधुनिक, सजिलो र सफा छ । अहिलेको अन्य एपहरुमा एड पनि धेरै हुन्छ । अनि प्रविधि पनि पुराना हुन्छन् । तर नेपाली अडिन्यसका लागि हामीले नयाँ आधुनिक युआई बनाएका छौं,’ सुरेन्द्रले टेकपानासँगकाे कुराकानीमा भने । 

गो लिस्टेडको अहिलेको अनलाइन मार्केट प्लेसमा गोपनीता जोखिमको समस्यालाई पनि राम्रो तरिकाले सम्बोधन गरिएकाे सुरेन्द्र बताउँछन् । 

‘अहिलेका मार्केट प्लेसमा देखिएको समस्या भनेको प्रयोगकर्ताहरुको फोन नम्बर तथा इमेलहरु खुल्ला रुपमा राखिएको हुन्छ,’ सुरेन्द्र भन्छन्, ‘यसले गोपनीयतामा ठूलो असर गर्छ । यसकारण हामीले प्राइभेट म्यासेजमा मात्र कुरा गर्न मिल्ने सुविधा दिएका छौं ।’

उनी अगाडि थप्छन्, ‘हामी कुनै पनि सम्पर्क नम्बर वा अकाउन्ट एड्रेसहरु खुल्ला रुपमा बााहिर राख्दैनौं । कम्युनिकेसनको च्यानल प्राइभेट छ ।’ 

गोपनीयतालाई प्रमुख प्राथमिकतामा राखेको कारण ट्रस्ट र सेफ्टी सेक्सनहरु पनि ल्याउने तयारीमा रहेको उनले सुनाए । 

यसबाहेक अनलाइन मार्केट प्लेसमा हुने खुल्ला मोलमोलाइ र त्यसबाट बिक्रेतालाई हुने क्षतिबाट पनि गो लिस्टेडले बचाउने सोभित बताउँछन् । 

‘हाल बजारमा देखिएका केही अनलाइन मार्केटप्लेसमा मानिसहरु खुल्ला रुपमा भेण्डरहरुसँग बार्गेनिङ गरिरहेका हुन्छन् । त्यसले बिक्रेतालाई असर पुर्‍याउने हुँदा यसलाई गोप्य राख्न हामीले प्राइभेट च्याट फिचर ल्याएका छौं । जसमा क्रेता र बिक्रेताले जुनसुकै पोस्टमा पनि गोप्य च्याट गरी मोलमोलाइ गर्न सक्छन्,’ सोभितले भने । 

गो लिस्टेडको प्रोडक्ट सर्चमा पनि अन्य मार्केट प्लेसमा भन्दा नवीन सुविधा पाउन सकिन्छ । यसमा लोकेसनमा आधारित सर्चको सुविधा राखिएको छ ।

उदाहरणका लागि कोही व्यक्ति उपत्यकाबाहिर हेटौंडाबाट गो लिस्टेडमा सामान खरिद गर्न खोज्दैछ भने लोकेसन आधारित सर्च अप्सनबाट उसले आफ्नो क्षेत्र वरिपरी उपलब्ध आवश्यक वस्तु खोज्न सक्छ । यसरी क्रेताले आफूलाई आवश्यक सामाग्रीहरु सर्च गरेर हेर्न सक्छन् ।

गो लिस्टेडको प्लेटफर्ममा ठगी तथा फर्जी व्यापार तथा व्यक्तिगत सुरक्षाका लागि इमेलको सट्टा मोबाइल नम्बरबाटै अनिवार्य अकाउन्ट भेरिफाइ समेत गर्ने गरेको उनीहरु बताउँछन् । 

‘हामीसँग भेरिफाइड युजर्स भएका कारण पेमेन्टहरु हामीले हेरेका छैनौं । कनेक्सन मात्र ब्युल्ड गरेका छौं । बिक्रीका लागि राखेको सामान भेरिफाइ गर्ने कुरा पनि इन्टिग्रेट गर्दै जाने छौं,’ साेभितले सुनाए ।

हालसम्म गो लिस्टेडमा भेन्डरहरुलाई एड गरिएको छैन, तर आगामी दिनमा ल्याउने योजना कम्पनीकाे छ ।

‘यद्यपि कोही व्यवसायीहरु व्यक्तिगत नम्बर राखी इन्ट्री गरिरहेका छन् । तर बिजनेस नै भनेर हामीले छुट्टै क्याटागोरी राखेका छैनौं । विस्तारै सुरु गर्दैछौं,’ उनले सुनाए ।

सोभित भन्छन्, ‘क्युरेटेड लिस्टको सेक्सन पनि बनाउँदैछौं । जसका लागि हामीले टिममा एकजना व्यक्ति राखेका छौं । सुरुवाती अवस्थामा कतिपयले आफ्नो प्रोडक्ट लिस्ट गर्न जान्दैनन् ।

त्यसको लागि पनि हामी आफैंले राखिदिन्छौं । बाटोमा केही राम्रो कुराहरु देख्यौं भने पनि हाम्रो युजर्सहरुका लागि त्यस्ता प्रोडक्ट लिस्टिङ गरिदिने गरेका छौं ।’ 

एक महिनाअघि सार्वजनिक गरेको गो लिस्टेडको मार्केटिङ अर्गानिक भएको दाबी गर्दै सोभित आफ्नो एप एन्ड्रोइडमा पाँच सय र आईओएसमा तीन सयभन्दा धेरै डाउनलोड भएको बताउँछन् ।

साथै गो लिस्टेडमा दैनिक सात/आठ वटासम्म प्रोडक्टहरु लिस्टिङ भइरहेको छ । सेवालाई सफा र सहज बनाउन अहिलेसम्म कुनै पनि विज्ञापन नराखेको सोभितले बताए । 

ट्रुनरी कम्पनीकै टिमबाट सञ्चालन भएको गो लिस्टेड इन हाउस डेभलप प्रोडक्ट भएको र लगानी पनि ट्रुनरीबाटै लगानी भइरहेको कारण कम्पनीले आगामी दिनमा अझै राम्रो प्रदर्शन गर्ने उनीहरुको अपेक्षा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३