close

सा‌ओमीले ल्यायो बिना तार १९ मिनेटमै फोन फुल चार्ज गर्न सकिने प्रविधि

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ १४:०

सा‌ओमीले ल्यायो बिना तार १९ मिनेटमै फोन फुल चार्ज गर्न सकिने प्रविधि

काठमाडौं । साओमीले आफ्नो एड्भान्स फास्ट चार्जिङ प्रविधि सार्वजनिक गरेको छ । ८० वाट रेटिङका कारण सओमीको यो वायरलेस चार्जिङ प्रविधिलाई विश्वकै सबैभन्दा फास्ट चार्जिङ प्रविधि मानिएको छ ।

कम्पनीले दाबी गरे अनुसार यो प्रविधिको सहयोगमा ४००० एमएएच क्षमताको ब्याट्री भएकाे स्मार्टफोन केवल १९ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । साथै यस्ताे क्षमताको ब्याट्रीलाई याे प्रविधिबाट ८ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ ।

यसअघि साओमोले सबैभन्दा फास्ट वायरलेस चार्जिङ प्रविधि सार्वजनिक गरेको थियो । जुन ५० वाट रेटिङको रहेको थियो । यो प्रविधिलाई कम्पनीले यसै वर्षको अगस्टमा सार्वजनिक भएको एमआई टेन स्मार्टफोनमा अफरको रुपमा दिइरहेको छ ।

मार्च २०२० मा कम्पनीले आफ्नो ४० वाटको फास्ट वायरलेस चार्जिङ ल्याएको थियो । वायरलेस चार्जिङ प्रविधिको मामिलामा साओमीले अनेक चमत्कार गरिरहेकाे छ ।

कम्पनीले सबैभन्दा पहिला एमआई मिक्स टु एस स्मार्टफोनमार्फत वायरलेस चार्जिङ प्रविधि सुरुवात गरेको थियो । यो स्मार्टफोनमा ७.५ वाट फास्ट चार्जिङको सपोर्ट रहेको थियो ।

त्यसपछि कम्पनीले मी मिक्स थ्री सार्वजनिक गर्‍यो । जसमा १० वाटको वायलेस फास्ट चार्जिङ राखिएको थियो । यसैगरी गत वर्ष सार्वजनिक मी नाइन स्मार्टफोनमा २० वाटको फास्ट चार्जिम दिइएको थियो ।

केही दिनअघि मात्र आएको खबरमा साओमी एक सय वाटको फास्ट चार्जिङ प्रविधिमा काम गरिरहेको छ । यो प्रविधि आउँदो वर्ष सार्वजनिक हुने आशा गरिएको छ । जुन कम्पनीको आउँदो फ्ल्यागशिप स्मार्टफोनमा समावेश हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३