close

के इन्टरनेट सेवा प्रदायकले तपाईंको अनलाइन हिस्ट्री हेर्न सक्छ ?

टेकपाना टेकपाना

कात्तिक ४, २०७७ ९:१

के इन्टरनेट सेवा प्रदायकले तपाईंको अनलाइन हिस्ट्री हेर्न सक्छ ?

काठमाडौं । पछिल्लो समय इन्टरनेटकाे प्रयाेग बढिरहेकाे सन्दभर्मा अनलाइन गाेपनीयता उत्तिकै महत्वपूर्ण बन्दै गएको छ । अहिले तपाई जे गर्नु हुन्छ, इन्टरनेटसँगै जोडिएरै गर्नुहुन्छ ।

यही कारण हामीले प्रयाेग गरिरहेकाे इन्टरनेटबाट हाम्राे संवेदनशील सूचनामा कसैले निगरानी गरिरहेकाे पाे छ कि ? यस्ताे प्रश्न धेरैले गर्ने गर्छन् ।

त्यस्तै इन्टरनेट सेवा दिने कम्पनीहरूले प्रयाेगकर्ताकाे ब्राउजिङ हिस्ट्री हेरिरहेको छ कि छैन भन्ने विषयबारे धेरै जिज्ञासा हुने गर्छ । यसबारे जानकारी र त्यसबाट बच्ने उपाय सिकाउँदै छौं ।

त्योभन्दा पनि पहिले के इन्टरनेट सेवा प्रदायकले तपाईंको अनलाइन हिस्ट्री हेर्न सक्छ भन्ने प्रश्ननै सबैभन्दा महत्वपूर्ण छ । पक्कै पनी यदि तपाईंले आफूलाई सुरक्षित राख्नु भएको छैन भने इन्टरनेट सेवा प्रदायकले तपाईंको अनलाई हिस्ट्री केलाएर हेर्न सक्छ ।

तपाईंले ब्राउजमा के सर्च गर्नुभयो, के डाउनलोड गर्नु भएको छ भन्ने कुरा इन्टरनेट सेवा प्रदायकले जनुसुकै समयमा पनि हेर्न सक्छन् । तर, यस्तो विषयलाई देशको कानूनले पनि निर्धारण गर्छ । तपाईं कहाँ बस्नु हुन्छ र त्यो देशको कानूनले कस्ताे व्यवस्था गरेको छ भन्ने कुराले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

नेपालमा पनि कानूनी रुपमा सेवा प्रदायकले प्रयोगकर्ताको अनलाइन हिस्ट्री हेर्न पाउँदैनन् । ‘सेवा प्रदायकले त्यसरी कुनै प्रयोगकर्ताको अनलाई हिस्ट्री हेर्न नपाउने भनी अनुमतिपत्रको प्रावधानका साथै दूरसञ्चार ऐनमा पनि उल्लेख गरिएको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन् ।

‘तर, कानून मै अर्को प्रावधान त्यस्ताे रहेको छ, जसले आवश्यक परेको खण्डमा सेवा प्रदायकले त्यस्ता जानकारी उपलब्ध गराउनु पर्ने भनिएको छ,’ उनले भने ।

एकातर्फ हिस्ट्री हेर्न नपाउने भनिएता पनि अर्कोतर्फ सरकारले मागेको खण्डमा त्यस्ता जानकारी उपलब्ध गराउनु पर्ने प्रावधानले भने सेवा प्रदायकले प्रयोगकर्ताको अनलाइन हिस्ट्री हेर्न सक्छन भन्ने प्रस्ट छ ।

तर, त्यसरी हेरेर अन्य कतै प्रयोग भएको खण्डमा कारबाही हुनेछ भनी कानूनमा उल्लेख गरिएको छ ।

अर्कोतर्फ सेवा प्रदायकले विभिन्न विज्ञापनदातासँग सहकार्य गरिरहेका हुन्छन् । त्यसरी विज्ञापन कम्पनीहरुसँग सहकार्य गर्दा उनीहरुले आफ्नो प्रयोगकर्ताको डेटा बिक्री हुने गरेको तथ्याङ्क विश्व परिवेशमा धेरै छन् ।

अर्कोतर्फ सेवा प्रदायकले तपाईंले गर्ने कार्यको निगरानी गरिरहेका हुन्छन् । किन भने यदि कुनै प्रयोगकर्ताले एकैपटक ठूलो मात्रामा डाउनलोड गरिरहेको छ भने उसले तपाईंको इन्टरनेटलाई कम गर्ने खालको प्रावधान नेपालमै पनि रहेको छ । यसको अर्थ प्रयोगकर्ताले गर्ने कामको निगरानी यहाँबाट पनि हुने देखिन्छ ।

यसको अर्थ तपाईंले प्रयोग गर्ने हरेक डिभाइस तपाईंको इन्टरनेट सेवा प्रदायकले निगरानी गरिरहेको हुन्छ । तर, यदि तपाईंले चाहेको खण्डमा त्यसलाई रोक्न भने सक्नुहुनेछ ।
कसरी रोक्ने त ?

इन्टरनेट सेवा प्रदायकले गर्ने तपाईंको अनलाइन हिस्ट्रीको निगरानीलाई नियन्त्रर्ण गर्ने सबैभन्दा महत्वपूर्ण विकल्प भनेको भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्नु नै हो । भीपीएन प्रयोग गर्दा उसले सर्भर परिवर्तन गर्दै तपाईंको डेटलाई इन्क्रिप्ट गर्छ ।

त्यो हुँदा तपाईंको इन्टरनेट सेवा प्रदायकले तपाईंको आईपीमार्फत तपाईंको डेटा हेर्नबाट रोक्न मद्धत गर्छ । तर, भीपीएनमा पनि धेरै कुरा हुन्छ ।

नि:शुल्क रुपमा उपलब्ध हुने भीपीएनबाट तपाईंको डेटा सोचे जति सुरक्षित रहन सक्दैन । त्यसैले केही रकम तिरेर भएपनि राम्राे भीपीएन प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यसका साथै इन्क्रिप्डेट ब्राउजर पनि अर्को विकल्प हुन सक्छ । इन्क्रिप्डेट ब्राउजर प्रयोग गर्दा पनि केही हदसम्म तपाईंको डेटा सुरक्षित रहनेछ । यस्ता ब्राउजरमा टोर एक उदाहरण हाे ।

पछिल्लो समय ब्रेभ, क्रोम लगायतका ब्राउजरमा पनि सेफ मोड उपलब्ध छ । यस्ता मोडको प्रयोग गरी इन्टरनेट चलाउँदा केही हदसम्म सुरक्षित रहन सकिन्छ । तर, यसरी चलाउँदा इन्टरनेटको स्पिड भने तलमाथि पर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३