close

एनसीएचएलको सिस्टममा जोडियो एनपीएस, विद्युतीय भुक्तानी थप सहज हुने

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ १८:५०

एनसीएचएलको सिस्टममा जोडियो एनपीएस, विद्युतीय भुक्तानी थप सहज हुने

नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ हाउसबीच सहकार्य सुरु भएको छ । नेपालको डिजिटल भुक्तानीको ईकोसिस्टमलाई थप प्रवर्द्धन गर्न दुई संस्थाबीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य सुरु भएको हो ।

सम्झौताअनुसार मंगलबारदेखि एनपीएसको प्रणाली इन्टिग्रेसन भई सञ्चालनमा आएको छ । अब एनपीएसले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी यसभित्र रहेका एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार र फर्छ्यौट गर्न सक्नेछ ।

त्यसैगरी आगामी दिनमा एनसीएचएलले एनपीएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनि प्रयोग गर्न सक्ने बताइएको छ । एनपीएस र एनसीएचएल दुवै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को अनुमतिपत्र प्राप्त संस्थाहरु हुन् ।

यो नै दुई पीएसओबीच सहकार्यको सम्झौता भएको नेपालमै पहिलो पटक हो । जसबाट नेपालको भुक्तानी पूर्वधारको क्षेत्रलाई थप विस्तार र अन्तरआवद्धता स्थापनाका लागि बाटो खुल्ला हुने विश्वास लिइएको छ ।

एनसीएचएलले एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस ई पेमेन्ट र कनेक्ट आरटीजीएस र एनपीआई प्रमाणाली सञ्चालन गर्दै आएको छ । बैंक वित्तीय संस्थाहरुका साथै यसले आफ्नो भुक्तानी प्रणालीहरुमा विभिन्न पीएसपी तथा पीएसओहरुलाई इन्डाइरेक्ट र प्राविधिक सदस्यका रुपमा आवद्ध गराएर सेवा प्रदान गर्दै आएको छ ।

एनपीएस आईटी र फिन्टेक (वित्तीय प्रविधि) क्षेत्रका विज्ञहरुद्वारा पृथक तथा नवीनतम भुक्तानी पूर्वाधारहरु प्रदान गर्न स्थापना गरिएको संस्था हो । यसले विभिन्न भुक्तानीका सेवाहरु एकीकृत गरी एग्रिगेटेट र एपीआईमा आधारित विभिन्न भुक्तानीका माध्यमहरुको विकास गर्दै आएको छ ।

साथै यसले अन्तरआवद्धता मार्फत बैंक तथा वित्तीय संस्था तथा अन्य सदस्यहरुलाई थप सुविधाहरु समेत दिँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३