close

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ १९:२३

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक नेपालकै अत्याधुनिक रोबोट तयार पारेको हो ।  

स्वयम्‌सेवी भूमिकामा उतारिएको यो रोबोटलाई ०.१ भर्सनको रुपमा प्रस्तुत गरिएको छ । यान्त्रिका नै नेपालको पहिलो अटोमेटिक, हाइटेक, एआईमा आधारित मानवाकारको रोबोट भएको पाण्डेको दाबी छ । 

हाल नेपाली बजारमा देखिने रोबटकै उन्नत भर्सनको रुपमा नास्टले यो रोबोट तयार पारेको हो । यान्त्रिकाले नास्टमा कोही व्यक्ति आउने वित्तिकै नमस्कार गर्छ । मास्क लगाएको वा नलगाएको समेत यसले आफैं पत्ता लगाउन सक्छ ।

यदि मास्क नलगाएको भए आफूसँग भएको मास्क दिने गर्दछ । यान्त्रिकालाई एउटा स्वयम्‌सेवी लेडी रोबोटको रुपमा तयार पारिएको पाण्डेले जनाए । 

रोबोटलाई झोला बोकाइएको छ । जसमा मास्कहरु राखिएको छन् । मास्क नलगाएको थाहा पाउने वित्तिकै भेन्डिङ मसिनले मास्क झार्छ र रोबोटले त्यसलाई समातेर आगन्तुकलाई लगाउन आग्रह गर्दछ ।

साथै हात सफा गर्न स्यानिटाइजर समेत रोबोटले नै दिने गर्छ । यसले नास्ट प्रवेश गर्ने व्यक्तिहरुको शरीरको तापक्रम पनि नाप्छ ।

ज्वरो आएको वा शरीरको तापक्रम बढी छ भने रोबोटले नास्टभित्र छिर्नबाट रोक्छ । रोबोटको छातिमा ट्याब्लेट राखिएको छ ।

जसले आफ्नो छातिमा टाँसिएको ट्याब्लेटबाट नास्ट सम्बन्धी जानकारी लिन आग्रह गर्दछ । त्यसो त कतिपय जानकारी सोधेकै भरमा यसले जवाफ समेत दिने गरेको छ ।

आफैं यताउता गर्ने यो रोबोटले आवाजबाट निर्देशन दिएकै भरमा आफूलाई सञ्चालन गर्दछ । विकासकै क्रममा रहेको रोबोटले आउने व्यक्तिको फोटो खिचेर संग्रह गरेर राख्दछ ।

दुई तीन वटा कोणबाट खिचिएको फोटो भएको खण्डमा यो रोबोटले नजिक आउने वित्तिकै नाम लिएरै अभिवादन टक्र्याउँछ । यसमा फिचर थप्दै दशैं लगत्तै सबै फिचरहरु राखिसक्ने योजना रहेको इन्जिनियर पाण्डेले बताए ।  

‘यो वर्षभर यान्त्रिका १.० लाई विकास गर्दै लैजाने योजना छ,’ उनले भने, ‘सन् २०२१ सम्म यान्त्रिका २.० सार्वजनिक गर्ने उद्देश्य अनुरुप अगाडि बढिरहेका छौं ।’

यान्त्रिका २.० भर्सन अहिलेको भन्दा दोब्बर उन्नत हुने उनको भनाई छ । ८ साता लगाएर तयार पारिएको यो स्तरको रोबोट बनाउन सामान्यताः २५ देखि ३० लाख रुपैयाँसम्म लाग्ने गरेको छ ।

यान्त्रिका १.० तयार पार्न सबै मोटर, विद्युतीय उपकरण र प्रोसेसर खरिद गरिएको हो । बाँकी सामग्री भने नेपालमै फेब्रिकेटेड गरिएको छ । रोबोट बनाउन पाण्डे सहित इलेक्ट्रोनिक इन्जिनियर, कम्प्युटर इन्जिनयर, कलाकार लगायत ८ जनाको टिम लागेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३