close

अनलाइनमा यसरी आफैं बनाउनुहोस् आकर्षक शुभकामना कार्ड

टेकपाना टेकपाना

कात्तिक ४, २०७७ १६:४

अनलाइनमा यसरी आफैं बनाउनुहोस् आकर्षक शुभकामना कार्ड

काठमाडौं । विभिन्न अवसरमा दिइने शुभकामनाका लागि अब अनलाइनमा सहजै विभिन्न प्रकारका कार्ड बनाउन सकिने भएको छ । शुभकामना डटकमशुभकामना-योर अन नेपाली डिजाइन एन्ड कोट्स एपमार्फत सहजै आकर्षक कार्ड बनाउन सकिने भएको हो ।

गत वर्षको दशैंमा वेब भर्सनबाट टेस्टिङ सुरु भएको शुभकामनाको सेवा हालै मात्रै औपचारिक रुपमा सार्वजनिक भएकाे छ ।

यससँगै अब दशैं, तिहार लगायतका चाडबाड र अन्य अवसरमा आवश्यक शुभकामना कार्ड बनाउन डिजाइनरलाई दिनुपर्ने बाध्यताको अन्त्य भएको छ । 

शुभकामनाको वेब तथा एपमा तस्वीरको रुपमा तथा जीआईएफको रुपमा कन्टेन्ट तयार पार्न सकिन्छ । आफूलाई आवश्यक फर्म्याट छनौट गरी प्रयोगकर्ताले सहजै शुभकामना कार्डको आकर्षक डिजाइन तयार पार्न सक्नेछन् । 

वेब तथा एपमा शुभकामनाले करिब दुई हजार डिजाइनहरु राखेको छ । जसमध्ये आफूलाई मन परेको डिजाइन छनौट गरी शुभकामना कार्ड तयार पार्न सकिन्छ ।

त्यसका लागि कुनै एउटा डिजाइमा क्लिक गरिसकेपछि सेलेक्ट गर्न, त्यसलाई एडिट गर्न, आफ्नै अक्षरहरु राख्न सकिने विकल्पहरु देख्न सकिन्छ ।  

साथै यसमा आफैं कुनै फोटो राख्न सक्ने सुविधा समेत उपलब्ध छ । हाल फेसबुकमार्फत लगईन गरी शुभकामना कार्ड तयार पार्न सकिने विकल्प रहेकोमा कम्पनी आगामी दिनमा फोन नम्बर र जिमेल आईडीबाट समेत अकाउन्ट क्रियट गर्न दिने योजनामा छ ।

सफ्टवेयर कम्पनी उपभेद टेक्नोलोजी प्रालिले तयार पारेको यो प्लेटफर्ममा डिजाइन तयार पार्दा हाल कम्पनीको वाटरमार्क भने देखिने बनाइएको छ ।  

अकाउन्ट क्रियट गर्न पनि एकदमै सहज छ । आफ्नो फेसबुक आईडी छनौट गर्दा यसमा सोझै अकाउन्ट बन्छ ।

कम्पनीका डाइरेक्टर सुवोधराज सत्यालका अनुसार यसमा गुडमर्निङ तथा गुड आफ्टरनून, जन्मदिन, वैवाहिक वर्षगाँठका लागि समेत कार्डको डिजाइन गर्न सकिने सुविधा रहेको छ ।

दशैं, तिहार लगायतका नेपालीका मुख्य चाड पर्वहरुको अवसरमा उपयोग गर्न सकिने कार्डका डिजाइन समेत यसमा राखिएको छ । 

यति मात्र होइन कुनै कार्यक्रम तथा अवसरमा आमन्त्रण गर्दा आवश्यक पर्ने कार्डको डिजाइन पनि प्रयोगकर्ताले आफैं गर्न सक्नेछन् । 

सामाजिक सञ्जालमा गरिने पोस्टका लागि आकर्षक डिजाइन तयार पार्ने काममा समेत शुभकामनाको सेवा उपयोगी हुन सक्छ । यो सबै सेवा कम्पनीले हाल निःशुल्क रुपमा उपलब्ध गराइरहेको छ । 

तयार पारिएका कार्डहरु आफ्नो मोबाइल तथा कम्प्युटरमा डाउनलोड गर्न सकिनुका साथै ह्वाट्सएप, लिङ्कडिन, फेसबुक, म्यासेन्जर आदि माध्यमबाट सहजै शेयर तथा पोस्ट गर्न समेत सकिने सुविधा यसमा रहेको छ ।

प्रयोगकर्ताले आफ्नो केवाईसी भरेको खण्डमा वाटर मार्क हटाउन सकिने सुविधा दिने योजना समेत डाइरेक्टर सत्यालले सुनाए ।

उनले भने, ‘यो भोलिको कुरा हो । हामीले सामान्य प्रयोगकर्ताबाट कुनै प्रकारको शुल्क लिने योजना भने बनाएका छैनौं । तर बिजनेस हाउसहरुबाट चाहिँ निश्चित शुल्क लिने किसिमको मोडालिटी भने हुन सक्छ ।’

उपभेदले किट्टी, धुम्मल लगायतका गेमिङ एप समेत तयार पारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३