close

भ्रामक सन्देश फैलाउनेलाई कानूनी कठघरामा ल्याउन स्प्यारो एसएमएसको माग

टेकपाना टेकपाना

कात्तिक ४, २०७७ १८:२४

भ्रामक सन्देश फैलाउनेलाई कानूनी कठघरामा ल्याउन स्प्यारो एसएमएसको माग

काठमाडौं । एनसेल र स्मार्ट टेलिकमका प्रयोगकर्ताहरुलाई लोकसेवा आयोगको सेन्डर आईडी प्रयोग गरी गलत सन्देश (एसएमएस) प्रवाह भएकोमा जानकी टेक्नोलोजी प्रालिले ध्यानकर्षण भएकाे जनाएको छ ।

नेपालमा कर्फ्युको घोषणा गरिएको भन्दै अङ्ग्रेजी भाषाको सूचना व्यापक रुपमा पठाइएपछि धेरै व्यक्तिहरू भ्रममा परेका थिए । यस्तो सूचनाको स्क्रिनसट सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले शेयर गरिरहेका थिए ।

याे सूचनामा नेपाल सरकारले आकस्मिक कर्फ्यु लगाएको र कोही पनि इन्टरनेट प्रयोगकर्ता घरबाट बाहिर निस्कन नपाइने भन्दै गलत सूचना प्रवाह गरिएकाे थियाे । यसपछि प्रहरीले साइबर ब्युरोलाई अनुसन्धानका लागि खटाएकाे छ ।

जानकी टेक्नाेलाेजीका अनुसार स्प्याराे एसएमएसका एक सेवाग्राहीको एपीआई टोकन प्रयोग गरी गलत एसएमएस प्रवाह भएकोबारे छनिबिन गरी दोषी पत्ता लगाउन र कानून बमोजिम कारबाही गर्न गृह मन्त्रालयले छानबिन अगाडि बढाइ रहेको छ ।

एसएमएस सेवा प्रदायक स्प्याराे एसएमएसले गलत सन्देश प्रवाह गर्ने व्यक्तिलाई प्रहरीले छानबिन गरी दाेषी कानूनी कठघरामा आउने विश्वास लिएकाे छ ।

साथै जानकी टेक्नाेलाेजीले यस प्रकारको छानबिनमा आफ्नो पूर्ण सहयोग र समर्थन रहने उल्लेख गरेकाे छ । साथै कम्पनीले भ्रामक एसएमएसबाट पर्न गएको असुविधाप्रति क्षमा समेत मागेकाे छ ।

जानकीकाे एसएमएस सेवा प्लेटफर्म स्प्याराे एसएमएस १२ वर्षदेखि नेपालका प्रमुख टेलिकम प्रदायक कम्पनीहरुसँग सहकार्य गरी विभिन्न किसिमका संस्था तथा सरकारी कार्यालयहरुलाई एसएमएस सेवा प्रदान गर्दै आएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३