close

फेसबुकमा बलात्कारी संगठन बनाउने अर्का एक जना पक्राउ

टेकपाना टेकपाना

कात्तिक ४, २०७७ १९:३५

फेसबुकमा बलात्कारी संगठन बनाउने अर्का एक जना पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसियसन (बलात्कारी संगठन) नामक पेज तथा ग्रुप बनाउने अर्का एक जनालाई पक्राउ गरेको छ । केही दिन अघि नवलपरासीबाट एक जना पक्राउ गरेको साइबर ब्यूरोले मंगलबार पाल्पाबाट अर्को एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माथागढी १ पाल्पाका अभिषेक नेपाल रहेको ब्यूरोले जनाएको छ । रेपर एसोसियसनको नाममा बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील तथा आपत्तिजनक सामग्री पोस्ट र कमेन्ट गर्ने लगायतका कार्य भइरहेको गुनासो आएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

ब्यूरोले महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव तथा शिष्टाचार विरुद्धका सामग्री पोस्ट तथा कमेन्ट गर्ने लगायतका कार्य गरेको भन्दै नेपाल विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही अगाडि बढाइएको छ ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय पाल्पाको सहयोगमा पक्राउ परेका उनीमाथि थप अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ । ब्यूरोले शुक्रबार मात्रै प्युठान झिम्रुक गाउँपालिका ७ घर भई हाल कावासोती नगरपालिका १६ बस्ने १९ वर्षीय नवीन बस्नेतलाई पक्राउ गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३