close

ईकमर्समा भविष्य खोज्दै ‘सानोहाट’

टेकपाना टेकपाना

कात्तिक ६, २०७७ १९:५७

ईकमर्समा भविष्य खोज्दै ‘सानोहाट’

काठमाडौं । चार महिनाअघि झापाको शहर बिर्तामोडबाट सुरु भएको थियो, ‘सानोहाट’ । ईकमर्शमा सुनौलो सपना सजाएर होमिएका युवाले सानोहाटलाई इटहरीहुँदै हाल काठमाडौंमा विस्तार गरेका छन् ।

ईकमर्श कम्पनी सस्तोडिलको म्यानेजमेन्ट टिममा काम गरिसकेका त्रिलोक कर्ण, सस्तो डिलकै पूर्व अपरेसन हेड अस्कल शाक्य, चार्टर्ड अकाउन्टेन्ट सुजन राई र सफ्टवेयर इन्जिनियर पवन शाहको कोर टिमले सुरु गरेका हो, सानोहाट ।

सुपर एप बनाउने लक्ष्यका साथ यी युवा उद्यमशीलतामा संघर्ष गरिरहेका छन् । मोफसलमा खानारखाजा तथा पेय पदार्थको डेलिभरीबाट सेवा सुरु गरेको सानोहाटले सेवा सुरु गरेको चार महिनामा उत्साहजक प्रतिक्रिया बटुरहेको छ ।

‘सानोहाट सुरु गरेदेखि अहिलेसम्म हामीसँग करिब १५ सय कस्टमरबेस दर्ता भएका छन्,’ कम्पनीका सहसंस्थापक त्रैलोक भन्छन्, ‘यीमध्ये ६० प्रतिशतभन्दा धेरैले एकपटक सेवा लिइसकेका छन् ।

यस्तै सेवा लिएकामध्ये ८० प्रतिशतले तेस्रो र चौंथो पटकसम्म सेवा लिने गरेका छन् । सपिङ गरेका ६० प्रतिशत कस्टमरले महिनामा तीनपटक सम्म सपिङ गर्छन् । यसर्थ सेवाग्राहीहरु सन्तुष्ट रहेकाे महसुस गरेका छाैं ।’

उनका अनुसार ईकमर्श क्षेत्रको ठूलो समस्या ढिलो र अनियमित डेलिभरीलाई सानोहाटले आफ्नो स्थापनाकालदेखि नै सम्बोधन गर्दै आयो, जसमा उ धेरै हदसम्म सफल पनि भयो ।

‘हामीले लेट नाइट डेलिभरी पनि दिइरहेका हुन्छौं । यसका लागि हामी स्थानीय डेलिभरी कम्पनीहरुसँग साझेदारी गरिरहेका हुन्छौं । यसले हामी दुवैमा भ्याल्यु एड गर्न मद्दत गर्छ,’ उनले भने ।

सानोहाट अघि पनि बिर्तामोडमा फुड डेलिभरी सर्भिस थिए । तर उनीहरुमा कुनै निश्चित संरचनागत च्यानल नभएका कारण सफल हुन नसकेकाे ठम्याइ उनकाे छ ।

व्यवस्थित संरचना र दीर्घकालीन भिजन लिएर अगाडि बढेको सानोहाटको आक्रमक विस्तार पछि मोफसलको सानो शहर बिर्तामोडमा अन्य ईकमर्श प्लेटफर्म पनि उदय भएका छन् ।  

कम्पनी विस्तार गर्दै जाँदा सानोहाटले आफ्नो पुराना बजारमा पनि स्थानीय टिम निर्माण गरेको छ । वास्तवमा ईकमर्शको सफलता ग्राहककको कृपा होइन । यो त एउटा भिजन र रणनीतिको सन्तुलित र सफल कार्यान्वयन हो भन्ने साेचमा त्रैलाेक र उनकाे टिम दृढ छ । 

काठमाडौंमा चुपचाप छिरेको सानोहाट अहिले धेरैको नजरमा परेको छैन । नेपालका लागि स्टार्टअप तथा ईकमर्शको हब हाे, काठमाडौं शहर ।

भर्खरै यहाँ छिरेको याे कम्पनीले फुड डेलिभरीलाई छोडेर ग्रोसरी डेलिभरीलाई प्राथमिकतामा राखेको छ । 

‘हामी काठमाडौंमा कुनै ब्राण्डको रुपमा धुमधामले छिरेका छैनौं,’ अर्का सहसंस्थापक सुजन भन्छन्, ‘यहाँ च्याउसरी ईकमर्शहरु छन् । तर ग्रोसरी डेलिभरीलाई अहिलेसम्म कसैले पनि राम्रोसँग सम्बोधन गरेका छैनन् ।’

उनी अगाडि थप्छन्, ‘अलिक फरक गर्न खोजिरहेका छौं । हाम्रो फास्ट डेलिभरीको स्ट्राटेजी ग्रोसरीमा गर्ने रणनीति छ । काठमाडाैंमा ग्रोसरीका सामान आधा घण्टामै डेलिभरी गर्ने योजनामा छौं ।’

काठमाडौंमा डिसेम्बरको अन्त्यतिर मात्र फुड डेलिभरी गर्ने सोचे रहेको सुजनले बताए । ‘हामीसँग १५ देखि २० वटा रेस्टुरेन्ट सम्पर्कमा छन् । तर अहिले कुनै पनि रेस्टुरेन्टलाई लिस्टिङ गरेका छैनौं । फुड डेलिभरीमा तत्कालका लागि कुनै योजना छैन ।’

उनले अगाडि भने, ‘काठमाडौंमा ग्रोसरीमै बढाउँदै जाने योजना छ । ग्रोसरीबाट मानिसहरुमा सानोहाटको छाप परेपछि हामी फुड डेलिभरी पनि गर्छौं ।’

मोफसलको सानो मार्केटप्लेसलाई आगामी दिनमा सुपर एप बनाउने योजना रहेको यो टिमको पाँच वर्षे व्यापक योजना पछि छ ।

कम्पनीले आगामी २०२४ सम्म कम्पनीलाई व्यापक रुप दिने लक्ष्य लिएको छ । यसका लागि उसले आफ्नो ब्राण्डमा थप अन्य मोड्युल पनि थप गर्दै जाने बताएको छ ।

कम्पनीले ईकमर्शहरुका लागि एउटा डेडिकेटेड डेलिभरी च्यानल जिफी डट आईटी पनि सुरु गर्ने परियोजना आफ्नो सूचीमा राखेको छ ।

परियाेजनाबारे सुजन भन्छन्, ‘याे  ईकमर्श केन्द्रित लजिस्टिक्स सोलुसन हो । हामीले हरेक प्रोडक्ट दुई घण्टाभित्रै  डेलिभरी गर्न चार्ज पनि एकदमै प्रतिस्पर्धी राखेका छौं । अहिले केही कम्पनीहरुसँग रिचआउट समेत गरिसकेका छौं,’ सुजनले भने । 

तर डेढ वर्षसम्म आफूले काम गरिरहेको मोडलमै बलियो भइसकेपछि अन्य मोड्युलमा अगाडि बढ्ने सानोहाटको योजना छ । 

सानो अंशको नाफा र बुट्सट्रयापिङबाट कम्पनी सञ्चालन गरिरहेका यी युवाले सानोहाट सञ्चालन गर्न हजाराैं रुपयाँ तलबको जागिर छोडेर दिनमा १८ घण्टा खटिरहेका छन् । 

‘यसबीच चार महिनामा मात्र हामी चारजनाले १६ लाखको अपरच्युनिटी कस्ट गुमाउनु पर्‍यो ।’ त्रैलोक भन्छन् । 

त्यसैले कम मार्जिनमा गरिरहेको व्यवसायलाई बढाउन उनीहरुले आफ्नो पाँच वर्षे योजनामा विभिन्न मोड्युलमा काम गर्ने योजना बनाएका छन् । 

‘अरुको सामान राख्दा १० प्रतिशतसम्म मार्जिन हुन्छ तर आफ्नै इन हाउस प्रोडक्ट बेच्यो भने ३५ देखि ४० प्रतिशतसम्म मार्जिन हुन्छ,’ त्रैलोक भन्छन्, ‘यसैले ग्रोसरी सप्लाइ चेनलाई विभिन्न ठाउँमा आधा घण्टामै सामान पुग्ने गरी व्यस्थित गर्दै नाफाका लागि हामीले लजिस्टिक डेलिभरीमा पनि काम गर्ने तयारी गरिरहेका छौं ।’

यसबाहेक क्लाउड किचेन मोडल अर्थात् सेल्फ प्रोडक्सन पनि पाँच वर्षे योजनामा छ । हाम्रो आफ्नै किचेन भयो भने ३५ प्रतिशत जति मार्जिन राख्न पाइन्छ । यसरी बिजनेस स्केल अप हुँदै जान थाले पछि हामी फाइदामा जान्छौं ।

उनका अनुसार डार्क स्टोर पनि योजनामा छ । त्यसमा रिटेल सप हुन्न । तर अनलाइनबाट ग्रोसरी देख्न सकिन्छ । ठाउँ ठाउँमा इन्भेन्ट्री सेटअप गर्ने र डिमाण्ड भए पछि डेलिभरी गरिदिने ।

तर यति धेरै योजनाका साथ अगाडि बढ्न कम्पनीलाई सधै बुट्स्ट्रयाप र सीमित लगानीले धान्न सक्दैन । तर स्टार्टअपका लागि लगानी जुटाउनु निकै ठूलो समस्या भएको यी युवाले बुझेका छन् । 

नेपालमा एन्जल इन्भेस्मेन्टको संस्कृति विकास नभएको कारण साना-साना स्टार्टअपहरुलाई अगाडि बढ्न धेरै गाह्रो हुने उनीहरु बताउँछन् ।

नेपालका कम्पनी तथा लगानीकर्ताहरुले सानो लगानीमा ठूलो हिस्सा खोज्ने गरेको उनीहरुको गुनासो छ । 

‘हामीले भर्खरै कम्पनी सुरु गरेका छौं, तर भोली कहाँसम्म पुग्ने भनेर हाम्रो योजना लक्ष्य र सोही अनुसार काम भइरहेका छन् । भोलीको हाम्रो भ्याल्युएसनमा सजिलै हिस्सेदारी खोज्न चाहन्छन् यहाँका लगानीकर्ताहरु । उनीहरुले हाम्रो मेहेनत र हाम्रो त्यागलाई बुझ्दैनन्,’ सुजन भन्छन् ।

तर अहिले सानोहाट तीनवटा एन्जल इन्भेष्टमेन्ट कम्पनीहरुसँग वार्तामा रहेको त्रैलोकले सुनाए ।

‘भारत, अमेरिका र श्रृलंकाका कम्पनीहरुसँग वार्तामा छौं । आशावादी छौं र सकरात्मक पनि। केही समयमै सुखद समाचार लिएर आउँछौं । तर एक वर्ष चाहिँ बूट्सट्र्याप गर्दै हम्बल तरिकाले जाने छौं,’ त्रैलोकले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०