close

किन सञ्चालनमा आएन इन्टरनेटसँगै चल्ने टेलिकमको आईपीटीभी ?

टेकपाना टेकपाना

कात्तिक ५, २०७७ १८:३१

किन सञ्चालनमा आएन इन्टरनेटसँगै चल्ने टेलिकमको आईपीटीभी ?

काठमाडौं । सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फाइबर इन्टरनेट दिन थालेसँगै आईपीटीभीको चर्चा सुरु भयो । चर्चामात्रै नभएर घोषणा भएकै लामो समय बितिसक्दा समेत कम्पनीले इन्टरनेट ब्याण्डविथमा आधारित टेलिभिजन (आईपीटीभी) सेवा सुरु गर्न सकेको छैन ।

त्यसो त टेलिकमले गत फागुन ७ गते नै आईपीटीभी सेवाको परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको थियो । त्यससँगै वैशाख १ देखि ग्राहकलाई सेवा उपलब्ध गराउने घोषणा पनि गरेको थियो ।

कोभिड १९ को महामारी आदि कारणले दशैंअघि ग्राहकलाई आईपीटीभी सेवा उपलब्ध गराउने भन्दै टेलिकमले अर्को भाखा राख्यो । तर पछिल्लो भाखा पनि पुरा नहुने देखिएको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशी बिलिङ सिस्टम तयार नहुँदा समयमै सेवा सञ्चालन गर्न नसकिएको बताउँछन् ।

‘दशैं तिहारसम्म आईपीटी आउँछ भन्ने थियो,’ टेकपानासँगको कुराकानीमा उनले भने, ‘बिलिङ सिस्टमको तयारी पुरा नहुँदा सेवा सञ्चालनमा केही ढिलो हुने देखियो । अब तिहारलगत्तै सेवा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने छ ।’

बिलिङ सिस्टम बाहेक सम्पूर्ण प्राविधिक तयारी पुरा भएको प्रवक्ता जोशीले बताए । हाल टेलिकमले फाइबर इन्टरनेटसँगै ल्याण्डलाइन टेलिफोन सेवा भने इन्टिग्रेट गरिसकेको छ ।

आईपीटीभी सेवा समेत सञ्चालनमा आएको खण्डमा टेलिकम एउटै तारबाट तीन फरक प्रकारका सेवा प्रदान गर्ने नेपालकै पहिलो सेवाप्रदायक हुनेछ ।

‘हाम्रो एउटै फाइबरमा भ्वाइस, इन्टरनेट र टेलिभिजन गरी तीन वटै सेवा उपलब्ध हुनेछन्,’ उनले भने, ‘एउटै केबलमा विभिन्न सेवा पाउने अवस्थामा घरमा अनेकथरी तार तान्नुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।’

वर्ल्डलिंक, भायनेट, सुबिसु, क्लासिक टेक लगायतका इन्टरनेट सेवा प्रदायक कम्पनीले भने दुई/ तीन वर्षदेखि नै इन्टरनेटसँगै टेलिभिजन सेवा प्रदान गर्दै आएका छन् ।

अन्य इन्टरनेट सेवा प्रदायकले इन्टरनेटसँग बण्डलिङ गर्दै आईपीटीभी सेवा निःशुल्क रुपमा नै उपलब्ध गराइरहेको अवस्थामा आईपीटीभीका लागि थप शुल्क लाग्ने गरी बिलिङ सिस्टम तयार भएको खण्डमा टेलिकमलाई बजारमा प्रतिस्पर्धा गर्न भने कठिन हुने आँकलन गरिएको छ ।

यद्यपि तीनै प्रकारका सेवा हुने भएकाले टेलिकमको अस्तित्व नै फरक हुने बुझाइ कम्पनीको नेतृत्वमा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३