close

स्टार्टअप आइडिया कल हुँदै, नि:शुल्क तालिम र १ प्रतिशत ब्याजदरमा कर्जाको सुविधा

टेकपाना टेकपाना

कात्तिक ५, २०७७ १९:१०

स्टार्टअप आइडिया कल हुँदै, नि:शुल्क तालिम र १ प्रतिशत ब्याजदरमा कर्जाको सुविधा

काठमाडौं । उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनकाे संयुक्त आयोजनामा स्टार्टअप आइडिया कल आयोजना हुने भएको छ ।

युवाको ज्ञान, सीप र क्षमतालाई संकलन गरी उत्कृष्ट आइडिया मध्येबाट छनोट भएको आइडियाको लागि उद्यमशीलता सम्बन्धी नि:शुल्क तालिम प्रदान गरिने उल्लेख गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमार्फत छनाेट भएका युवा उद्यमीका लागि १ देखी ३ प्रतिशतसम्ममा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने उल्लेख गरिएको छ । यसका लागि तीन संस्थाबिच बुधबारमात्रै सम्झौता भएको हो ।

यस कार्यक्रम मार्फत प्रवाह गरिने कर्जा न्यूनतम एक देखि अधिकतम तीन प्रतिशत ब्याजदरमा १५ लाख रुपैंया सम्म कर्जा प्राप्त गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताएका छन् ।

बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निशुल्क रुपमा तालीम प्रदान गर्ने बताए ।

उनले ज्ञान, सीप र प्रविधिसहित निकै सस्तो ब्याजदरमा बिनाधितो युवाहरुले कर्जा समेत प्राप्त गर्ने भएकाले यो आर्थिक वर्षमा एकसय भन्दा बढी नयाँ स्टार्टअप कम्पनीहरु स्थापना हुने समेत उल्लेख गरेको छन् ।

नवप्रवर्द्धन प्रस्ताव आह्वान, तालिम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नयाँ युवा उद्यमीका पूर्ण प्याकेज सहितको कार्यक्रम डिजाइन गरिएको जानकारी दिए ।

नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कसलाई भेट्ने, लगानी कसरी खोज्ने, तालिम कसरी लिने भनेर दुविधामा रहेका युवाहरुलाई नि:शुल्क रुपमा सरकार, निजी क्षेत्रसहितको साझेदारीमा यो कार्यक्रम अगाडि सारिएको उल्लेख गरिएको छ ।

सम्झौता अनुसार मङ्सिर पहिलो हप्ताबाट आइडिया कल सुरु हुनेछ भने, पुस र माघ महिनामा आइडिया पठाउने युवालाई तालिमप्रदान गरी फागुन र चैत महिनामा सहुलियतपूर्ण कर्जा प्रवाह गरिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३