close

किन फेला पर्दैनन् हराएका र चोरी भएका मोबाइल ?

टेकपाना टेकपाना

कात्तिक ५, २०७७ २०:३२

किन फेला पर्दैनन् हराएका र चोरी भएका मोबाइल ?

काठमाडौं । मोबाइल फोन हराएको भन्दै उजुरी दिनेको संख्या लगातार रुपमा बढिरहेको छ । गत आर्थिक वर्षमा मात्रै महानगरीय प्रहरी परिसर टेकु र नेपाल दूरसञ्चार प्राधिकरणमा गरी कुल १३ हजार ७ सय १३ वटा मोबाइल फोन हराएको उजुरी दर्ता भएको थियो ।

तर दर्ता भएका मोबाइलमध्ये १ हजार ३ सय ७४ वटा मात्रै भेटिए । यसको अर्थ हराएका सय वटा मोबाइलमा दशवटा मात्रै फेला पर्ने गरेको देखिन्छ । यो तथ्याङ्कले नेपालमा हराएका तथा चोरी भएका फोन निकै कम संख्यामा मात्रै भेटिने गरेको देखिन्छ ।

सरकारी तथ्याङ्क अनुसार पछिल्ला तीन वर्षमा मोबाइल हराएको भन्दै ४६ हजार ७ सय ३१ निवदेन दर्ता भएका थिए । तर, प्रहरी त्यसमध्ये ५ हजार ८९ वटा मोबाइल मात्र पत्ता लगाउन सफल देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणमा विगत तीन वर्षको अवधिमा २,४४६ वटा मोबाइल हराएको उजुरी परेको छ । त्यसमध्ये जम्मा १५४ मात्रै ल्याच अर्थात् ट्रेस हुन सकेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् । 

हराएका तथा चोरी भएका मोबाइल थोरै मात्र फेला पर्नुमा सेवाप्रदायक र प्रहरी संगठनको सक्रियता नै मूख्य कारण रहेको नियामक प्राधिकरणको बुझाइ छ ।

सेवाप्रदायकले हराएका तथा चोरी भएका मोबाइल ट्रेसिङ गर्न म्यानुअल पद्दति अपनाउने भएका कारण थोरै मात्र मोबाइल ट्रेसिङ गर्न सम्भव भएको प्राधिकरणका एक अधिकारी बताउँछन् ।

‘सेवाप्रदायकको नेटवर्कमा ल्याच हुने वित्तिकै हराएको मोबाइल भेटियो भन्न मिल्दैन,’ उनी भन्छन्, ‘मोबाइल ट्रेस भइसकेपछि मोबाइल धनीलाई बोलाएर प्रहरीमा सिफारिस गर्छौं । त्यसपछिको खोज्ने काम प्रहरीको हो । कति ट्रेस भएका मोबाइल भेटिए वा भेटिएनन् भन्ने कुरा न त पीडितले जानकारी गराउँछन् न त प्रहरीले नै कुनै विवरण उपलब्ध गराउँछ ।’

त्यसो त हराएको मोबाइल ट्रेसिङ हुँदा पिडित नै सम्पर्कमा नआएको प्राधिकरणको भनाई छ । नियामकका अनुसार ट्रेसिङ भएका १५४ मोबाइलमध्ये ७२ वटा केसको मात्रै प्रहरीमा रिपोर्ट भएको छ । बाँकी ८२ वटा केसमा भने पिडित नै सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ । 

‘पिडित सम्पर्कमा नआएको खण्डमा भने हामी प्रहरीमा सिफारिस गर्दैनौं,’ प्राधिकरणका प्रवक्ता अर्याल भन्छन् । प्राधिकरणले आफ्ना सबै सेवा पूर्णतः अटोमेसन प्रणालीमा लगेको छ । 

यसको अर्थ प्रयोगकर्ताले आफ्नो मोबाइल हराएको उजुरी अनलाइनबाटै प्राधिकरणमा दर्ता गराउन सक्छन् । त्यसका लागि यहाँ क्लिक गरी आवश्यक विवरण भर्नुपर्ने हुन्छ । 

हराएको तथा चोरी भएको मोबाइल ट्रेस हुन सफल भएमा स्वचालित रुपमा नै पीडितको ईमेलमा जानकारी पठाउने गरिएको छ । धेरैजसो पीडितहरुले मोबाइल हराउँदा वा चोरी हुँदा प्रहरीमा उजुरी गर्ने गरेको देखिन्छ । 

प्राधिकरणले प्रहरीमा गए पनि प्राधिकरणको अनलाइन प्रणालीमार्फत समेत उजुरी दर्ता गराउन सुझाव दिएको छ । टेलिकमका प्रवक्ता राजेश जोशी भने अनुरोध भएर आएका मोबाइल नेटवर्कको सम्पर्कमा आउने वित्तिकै रेकर्डमा बस्ने बताउँछन् ।

‘हराएको वा चोरी भएको मोबाइल नेटवर्कको सम्पर्कमा आएको खण्डमा त्यसको रेकर्ड हाम्रो सिस्टममा बस्छ,’ उनी भने, ‘तर कुन नम्बर ट्रेसिङ भयो वा भएन भनेर चाहिँ बेला बेलामा म्यानुअल रुपमै हेर्नुपर्ने हुन्छ ।’ 

प्राधिकरणले अवैध मोबाइल नियन्त्रण गर्नका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली लागु गर्ने अन्तिम तयारी गरिरहेको छ । उक्त प्रणाली लागू भएको खण्डमा हराएका तथा चोरी भएका मोबाइल भेटिने दर बढ्ने नियामकको अपेक्षा छ ।

प्रहरीले मोबाइल हराएका घटनामा त्यति चाँसोका साथ अनुसन्धान नगरेको नियामक प्राधिकरणको बुझाई छ । प्राधिकरणका एक उच्च अधिकारी भन्छन्, ‘यदि प्रहरीले अन्य चोरीका घटनामा जस्तै मोबाइलको विषयमा चाँसो देखाउने हो भने ६० देखि ७० प्रतिशत फेला पार्न सकिन्छ ।’

तर नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायत हरेक नागरिकका विषयलाई समान रुपमा व्यवहार गर्ने गरेको बताउँछन् ।

‘हराएका तथा चोरी भएका मोबाइलको विषय अपराध अनुसन्धान महाशाखाले हेर्ने गरेको छ,’ उनी भन्छन्, ‘त्यस्ता मोबाइल प्रयोगमा आएको खण्डमा पत्ता लगाउने हो । तर प्रहरीलाई सिस्टममा सोझै एक्सेस कति छ भन्ने कुरा पनि ख्याल राख्नुपर्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३