close

नेपालमा यस्ता रहे इन्टरनेटका पछिल्ला ५ वर्ष

टेकपाना टेकपाना

कात्तिक १३, २०७७ १६:४०

नेपालमा यस्ता रहे इन्टरनेटका पछिल्ला ५ वर्ष

काठमाडौं । आज हाम्रो दैनिकी इन्टरनेटसँग जोडिएको छ । हरेक कुरा इन्टरनेटमै निर्भर हुने अवस्था सिर्जना भइरहेको छ ।

व्यवसायहरु इन्टरनेटमा आधारित हुँदै गइरहेका छन् । किनमेल अनलाइबाटै हुन थालेको छ । क्यासलेस कारोबारले प्राथमिकता पाइरहेको छ ।

यस्तो अवस्थामा इन्टरनेट बिनाको दैनिकी सोच्नै नसकिने भएको छ । अझ कोभिड–१९ ले सिर्जना गरेको अहिलेको अवस्थामा त यसको आवश्यकता झन बढ्दै गएको छ ।

सामाजिक दुरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा घरबाटै कार्यालयको काम गर्नुपर्ने वाध्यता छ । कोभिड पश्चात कतिपय कार्यालय इन्टरनेटमै निर्भर छन् ।

यस्तो अवस्थामा इन्टरेटको प्रयोग बढ्नु स्वभाविक नै हो । जसको परिणाम स्वरुप विश्व परिवेशमै इन्टरनेटको प्रयोग दैनिकरुपमा बढ्दै गएको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् ।

विगत पाँच वर्षको तथ्याङ्कलाई केलाएर हेर्ने हो भने नेपालमा पनि इन्टरनेट प्रयोग गर्नेको संख्या ठूलो मात्रामा वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७६/०७७ को नेपाल दूरसञ्चार प्राधिकरणको हालैको वार्षिक प्रतिवेदनअनुसार गएको असार मसान्तसम्म नेपालमा इन्टरनेट प्रयोग गर्ने ग्राहकको संख्या दुई करोड १८ लाख तीन हजार ३४५ रहेको छ ।

जुन पछिल्ला पाँच आर्थिक वर्षमा भएको निरन्तरको वृद्धिको प्रतिफल हो । गत आवसम्म मोबाइल इन्टरनेट सब्सक्राइबरको संख्या एक करोड ६२ लाख ८८ हजार र फिक्स इन्टरनेट सब्सक्राइबर ५५ लाख १४ हजार रहेको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार आव २०७२/०७३ मा एक करोड ३६ लाख ८४ हजार ब्रोडब्याण्ड सब्सक्राइबर थिए । त्यसमा मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ३४ लाख २७ हजार ५१४ थियो भने, फिक्स ब्रोडब्याण्ड तर्फ ३ लाख ५७ हजार १ सय ४ रहेको थियो ।

ब्रोडब्याण्ड सब्स्क्राइभर

आव २०७४/०७५ इन्टरनेट सब्सक्राइबरमा कमी आएको भएता पनि त्यसपछिका दुई आवमा भने निरन्तर वृद्धि भएको देखिन्छ ।

नेपालमा इन्टरनेट पहुँच

इन्टरनेट सब्सक्राइबरको संख्यामा आएको वृद्धिको सकारात्मक प्रभाव नेपालमा इन्टरनेट पहुँचमा समेत देखिएको छ । विगत पाँच वर्षमा नेपालमा इन्टरनेट पहुँच झन्डै २० प्रतिशतले वृद्धि भएको छ ।

आव २०७२/०७३ मा नेपालको कुल जनसंख्याको ५२.०३ प्रतिशतमा इन्टरनेटको पहुँच रहेको थियो । हाल इन्टरनेट पहुँच उलेख्य रुपमा वृद्धि हुँदै गएको छ । यसरी असार मसान्तसम्म ७२.९८ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०