close

ब्लगः फेसबुकको न्युज फिडमा हराउँदा

शंकर ढकाल शंकर ढकाल

कात्तिक १३, २०७७ १४:१

ब्लगः फेसबुकको न्युज फिडमा हराउँदा

यो दशैंको विदामा मैले फेसबुकको न्युजफिडमा केही समय बिताउने मौका पाएँ । फेसबुकका हजारौं साथीहरुमाझ हरेकको पोस्टसँग अपडेट हुँदा एकदमै थकान महसुस हुँदो रहेछ ।

मेरो न्युज फिडमा देखा पर्ने सयौं साथीहरुको अनावश्यक पोस्टलाई हटाउन सकिनँ । यसबीच कति साथीहरुका महत्वपूर्ण पोस्टहरु छुटिरहेका थिए। 

तब दिक्क भएर मैले यो समस्याको सम्भावित हल खोज्न थालेँ । तर के गर्ने, के नगर्ने, मलाई केही थाहा थिएन । यसैले मैले सामान्य मानिसहरुले प्रयोग गर्ने समाधानको तरिका अपनाएर अनफलो र अनफ्रेण्डलाई नै रोजेँ । 

मैले पुरै एकदिन फेसबुकका साथीहरुलाई अनफलो र अफ्रेण्ड गरेरै बिताएँ । कति त दुर्भाग्यले पनि अनफ्रेण्ड भए । दुर्भाग्यले अनफ्रेण्ड भएका त्यस्ता साथीहरुलाई म यो एउटा भर्चुअल प्लेटफर्म मात्र हो र मैले यसलाई व्यवस्थापन गर्न खोजिरहेको हुँदा तपाईंहरु दुःखी नहुनुहोला भनेर आग्रह गर्न चाह‍न्छु । वास्तविक विश्वमा हाम्रो सम्बन्ध र मित्रता अझै प्रगाढ छ । 

यसैबीच विज्ञान, सूचना तथा सञ्चार प्रविधिमा तथ्यपूर्ण जानकारी प्रदान गर्दै आइरहेको समाचार पोर्टल टेकपानाका गोपाल साउदले मलाई पछिल्लो समय विकास भएको फेसबुक एल्गोरिदम ‘सी फर्स्ट’ वा ‘फ्रेब्रेट’ अप्सन प्रयोग गर्न सुझाव दिए । 

त्यस लगत्तै मैले केही साथीको नाममा यो अप्सनलाई परीक्षण गरेँ । जसमा मैले नास्टका प्रविधि संकायका प्रमूख डा. रविन्द्रप्रसाद ढकाल, नास्टकै उपकूलपति डा. सुनिलबाबु श्रेष्ठको नाम सी फर्स्टमा राखेँ । 

तब यसले तत्कालै परिणाम देखायो । मैले हेर्न छुटेका उहाँहरुका दशैंको शुभकामना पोस्ट आफ्नो वालमा पाएँ । मैले दिनभर गरेको फेसबुक क्लिनअपको अभियानले पनि त्यसलाई सहयोग पुर्‍याएको थियो कि, मलाई थाहा छैन । 

यसबीच म तपाईंलाई काम लाग्न सक्ने अन्य केही कुरा पनि यहाँ जोड्न चाहन्छु । यदि तपाईं केही सीमित व्यक्ति जस्तै तपाईंको कार्यालय प्रमुख, साथीभाइ, तपाईंको परिवारका सदस्यको पोस्ट आफ्नो न्युज फिडमा देख्न चाहनुहुन्छ भने ‘सी फर्स्ट’ तथा ‘फेब्रेट’ अप्सनले तपाईंलाई सहयोग गर्दछ । 

यसो गरिरहँदा केही गम्भीर प्रश्नहरु पनि मनमा उठ्न सक्छन् । यसरी केही मान्छेलाई प्राथमिकतामा राखी ‘सी फर्स्ट’को सूचीमा राख्दा एउटै व्यक्तिका धेरै पोस्टहरु आएर न्युज फिड नै फोहोर देखिने पो हो कि ? वा यसरी सी फर्स्टको अप्सन प्रयोग गर्दा त्यसमा समेट्न नसकेका अन्य महत्वपूर्ण व्यक्तिहरुका पोस्टहरु नदेखिएर छुट्ने पो हो कि ?

मेरो विचारमा यसको सबैभन्दा महत्वपूर्ण समाधान भनेको आफ्नो प्राथमिकताको विषयको आधारमा पोस्टहरु हेर्नलाई यो अप्सन प्रयोग गर्ने र कुनै अनावश्यक विषयका पोस्टहरुलाई आफ्नो फिडमा नदेखाउन फेसबुकलाई आग्रह गर्न सकिने विकल्प प्रयोगकर्ताहरुले पाउनुपर्ने हो । 

तर त्यो सुविधा उपलब्ध हुने समयसम्म म एकदमै कम साथी बनाउने र थोरैलाई मात्र फलो गर्ने सोचमा छु ।

यस्तै हाम्रो कार्यालय, घर तथा छिमेकमा भएका केही व्यक्तिहरुका पोस्ट यस्ता किसिमका हुन सक्छन्, जसलाई तत्काल ध्यानाकर्षणको जरुरत पर्दछ । 

उदाहरणका लागि हामीलाई कुनै प्रकोप वा आपतको बारेमा चेतावनी दिने उद्देश्यले आउने पोस्टहरु, तथा हाम्रो सरोकार वा जानकारीका लागि महत्वपूर्ण हुने कार्यक्रम वा गतिविधिका पोस्टहरुलाई पनि फेब्रेटमा राख्न सकिन्छ । 

फेसबुक जस्तो लोकप्रिय डिजिटल सोसल कनेक्सन प्लेटफर्मले व्यापक ठूला अवसरहरु ल्याएको छ । यी अवसरहरुसँगै पैदा हुने समस्याले फ्रेण्ड फलोविङ पोलिसीलाई कस्टमाइजेसन गर्नुपर्ने तथा राम्रोसँग प्लानिङ गर्नुपर्ने जस्ता मागहरु पनि जन्माएको छ । हामीले समयमै आफ्नो प्राथमिकतालाई थाहा पाएर त्यसै अनुसार काम गर्नु नै बुद्धिमानी हुन्छ । 

त्यसैले यस्ता कुरामा गहिरोसँग चिन्तन गरौं । यस्ता चुनौतीलाई कसरी लिने, यसको बारेमा आइडिया साँटासाट गरौं । ता कि फेसबुक तथा अन्य सोसल मिडिया डेभलपर र अनुसन्धानकर्ताहरुका लागि राम्रो विषय बन्न सकोस् । 

इंजिनियरिङमा विद्यावारिधी गरेका ढकाल इन्टरडिसिप्लेनरी स्ट्रक्चरल इंजिनियरिङ अनुसन्धानकर्ता, परामर्शदाता तथा नास्टको प्रविधि संकायका वरिष्ठ प्राविधिक अधिकारी हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०