close

इन्स्टाग्राममा अब ४ घण्टासम्म भिडियो स्ट्रिमिङ गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १३, २०७७ १९:८

इन्स्टाग्राममा अब ४ घण्टासम्म भिडियो स्ट्रिमिङ गर्न सकिने

काठमाडौं । कोभिड–१९ का कारण पछिल्लो समय लाईभ स्ट्रिमिङ चर्चाको विषय बनेको छ । यो समयमा कलाकारहरुले पनि आफ्ना विभिन्न सामाजिक सञ्जालमार्फत लाइभ आएर आफ्ना फ्यान फलोअरलाई कोभिडबारे जनचेतना फैलाउने तथा मनोरञ्जन गराउने खालका काम गरे ।

त्यतिमात्रै नभएर विभन्न प्रयोजनका लागि पनि लाइभ स्ट्रिमिङको प्रयोग पछिल्लो समय ठूलोमात्रामा बढेको छ । त्यसैलाई मध्यनजर गर्दै इन्स्टाग्रामले पनि कोभिडको समयमा विभिन्न सुविधा थप गर्दै आएको छ, जसले गर्दा यो समयमा इन्स्टाग्रामका प्रयोगकर्ता समेत उल्लेख्य रुपमा वृद्धि भएको जनाइएको छ ।

कोभिडको सयमा फेसबुक म्यासेन्जरमा कनेक्ट गर्न सकिने सुविधा ल्याएको कम्पनीले अहिले भिडियो लाइभ स्ट्रिमिङ परिवर्तन गरेको जनाएको छ । कम्पनीले आफ्नो ट्विटर ह्यान्डलमार्फत लाइभ भिडियो स्ट्रिमिङमा नयाँ सुविधा थप भएको जनाएको छ ।

कम्पनीका अनुसार नयाँ फिचर अनुसार अब इन्स्टाग्राममा ४ घण्टासम्म लाइभ स्ट्रिम गर्न सकिने छ । यसअघिसम्म इन्स्टाग्रामका प्रयोगकर्ताले बढीमा एक घण्टामात्रै लाइभमा जान पाउने सुविधा रहेको थियो । उक्त समय अवधिलाई बढाएर अब ४ घण्टा बनाइएको कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले त्यसरी गरिएको लाइभ भिडियो ३० दिनसम्म सेभ गर्न सकिने नयाँ फिचर पनि सार्वजनिक गरेको छ । सेभ गरिएर राखिएको उक्त भिडियो लाइभ आर्काईभमा रहनेछ । जसलाई आफैंले मात्र हेर्न सकिनेछ ।

त्यस्तै कम्पनीले एक्सप्लोर सेक्शन थप गरेको छ । उक्त एक्सप्लोर बटन नयाँ मेसेन्जर बटनको दायाँ साइडमा रहेको छ । भने, आईजीटिभी एपमा लाइभ नेम नामक नयाँ फिचर थपिएको छ । जसमार्फत लाइभ भिडियो सर्च गर्न सकिनेछ । लाइभ भएका भिडियो आईजीटिभी र भिडियो फर यू जस्ता पेजको सुरुमा देखा पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०