close

प्रविधिमा अमेरिकी हस्तक्षेप कम गर्न आफ्नै संयन्त्र तयार पार्दै चीन

टेकपाना टेकपाना

कात्तिक १४, २०७७ १७:३३

प्रविधिमा अमेरिकी हस्तक्षेप कम गर्न आफ्नै संयन्त्र तयार पार्दै चीन

काठमाडौं । प्रविधिको दुनियाँमा अहिले अमेरिका सबैभन्दा अघि छ । यसैलाई हतियार बनाएर पछिल्लो समय अमेरिका चीनसँग शीत युद्ध नै लडिरहेको छ भन्दा फरक नपर्ला ।

उसले आफूसँग भएको प्रविधिमा चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएर धराशायी बनाउने रणनीति अपनाएको छ ।

अहिले अमेरिकाले चिनियाँ कम्पनीलाई फाइभजी प्रविधिमा पूर्ण प्रतिबन्ध गरेको छ । साथै चिनियाँ कम्पनीले बनाएको कम्प्युटर चिप्स र अन्य उपकरण प्रयोगमा रोक लगाएको छ ।

यसरी प्रविधिको पुहँचमा अमेरिकाको प्रतिबन्धसँग जुध्न चीनले आफ्नो रणनीती सार्वजनिक गरेको छ । त्यसका लागि सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूले पञ्चवर्षीय योजना अघि सारेका छन् ।

पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार सार्वजनिक गरिएको छ । प्रविधिमा अमेरिकी प्रतिबन्धबाट छुटकारा लिने र देशको आर्थिक विकासमा मद्दत पुर्‍याउने लक्ष्यका साथ उक्त पञ्चवर्षीय योजना सार्वजनिक गरिएको बताइएको छ ।

अमेरिकाले पछिल्लो केही वर्षयता सुरक्षा र जासुसीको आरोप लगाउँदै चिनियाँ प्रविधि कम्पनीहरुको सामान किन्न र आफ्ना देशका कम्पनीले बेच्न समेत प्रतिबन्ध लगाइरहेको छ ।

यसरी प्रविधिमा प्रतिबन्ध लगाउँदा आफ्ना देशका कम्पनी धराशायी अवस्थामा पुग्न सक्ने भन्दै राष्ट्रपति सी जिनपिङको नेतृत्व त्यसबाट सिर्जित क्षतिलाई सीमित गर्ने प्रयास गरिहेको छ । त्यसैको प्रतिफल यो पञ्चवर्षीय योजना सार्वजनिक गरिएको हो ।

‘प्रविधिमा भइरहेको विकासका लागि विश्वलाई चीनको आवश्यक्ता छ, चीनलाई विश्वको,’ चिनियाँ विज्ञान तथा प्रविधिमन्त्री वाङ झिग्याङले शुक्रबार आयोजित कार्यक्रममा भने ।

उनले अगाडि भने, ‘त्यसैले देशले आफ्नो प्रविधिको क्षमता विस्तार गरी आफ्नै प्रडक्ट तयार गर्न चाहान्छौं । ताकि हामीले त्यस्ता कोर प्रविधि किन्नका लागि अर्काको मुख ताक्नुपर्ने अवस्था रहने छैन् ।’

उनले अघि बोल्दै भने, ‘हामी विज्ञान र प्रविधिको क्षेत्रमा आत्मनिर्भर हुनु चाहन्छौं । सोहीअनुसार अब विज्ञान र प्रविधिमाथिको सामथ्र्य निर्माणका लागि आवश्यक कार्य द्रुतरुपमा अघि बढ्नेछ । हामी विश्वले प्रविधिमा हात पारेको अनुभवबाट सिक्दै विश्वलाई चिनियाँ प्रविधि चखाउन चाहान्छौं ।’

‘यो योजनाको पूर्ण विवरण अर्को वर्षको मार्चमा सार्वजनिक गरिनेछ,’ उनले भनेका छन, ‘नियमहरुमा संशोधन तथा उद्योगहरुका लागि नयाँ योजना त्यसपछि अगाडि सारिने बताइएको छ ।’

हाल चीनमा विश्वको अधिकांश स्मार्टफोन, कम्प्युटर, इलेक्ट्रोनिक्स सामान उत्पादन हुने गरेको छ । यती सम्मकी अमेरिकाका ठुला प्रविधि कम्पनीहरुको प्रशाेधन केन्द्र नै चीनमा रहेको छ । तर, त्यसका लागि आवश्यक पर्ने चिप्स लगायतका महत्वपूर्ण प्रविधि भने अमेरिका, युरोपेली मुलुक, जापानी कम्पनीहरुले निमार्ण गर्दै आएको छन् ।

जसले गर्दाै चिनियाँ कम्पनीहरुले पनि यस्ता प्रविधिको लागि त्यही कम्पनीहरुसँग निर्भर हुनु परेको छ । हाल चीनले मूल्यका आधारमा कच्चा तेलको भन्दा बढी मूल्यको सेमिकन्डक्टर आयात गर्दछ ।

यसरी सेमिकन्डक्टर लगायतका प्रविधिमा निर्भर हुँदा अहिले अमेरिकाले लगाएको प्रतिबन्धले चिनियाँ कम्पनीहरुमाथि ठूलो मार परिरहेको छ ।

यही मारलाई कम गर्न र आफ्ना कम्पनीहरुलाई विश्व परिवेशमा पुर्‍याउन चीनले यी वस्तुको उत्पादनमा विदेशीसँगको परनिर्भरता तोड्नुपर्ने भन्दै रणनीति अघि बढाएको हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०