close

यसरी आफैं समाधान गर्नुहोस् स्मार्टफोनमा देखिने समस्या

टेकपाना टेकपाना

कात्तिक १४, २०७७ २२:५

यसरी आफैं समाधान गर्नुहोस् स्मार्टफोनमा देखिने समस्या

काठमाडौं । दिन प्रति दिन बजारमा नयाँ नयाँ स्मार्टफोन आइरहेका छन् । जसमा इन्ट्री लेभलदेखि प्रिमियम रेञ्ज सम्मका स्मार्टफोन हुन्छन् ।

स्मार्टफोन जतिसुकै महंगो किन नहोस्, केही समय पश्चात त्यसमा कुनै न कुनै समस्या आइरहेकै हुन्छ । हरेक समस्या समाधानका लागि सर्भिस सेन्टरसम्म पुग्नु पर्छ भन्ने पनि छैन ।

किन कि फोनमा आउने केही समस्याको समाधान तपाईं स्वयम्‌ पनि गर्न सक्नुहुन्छ । आज हामी तपाईंलाई एन्ड्रोइड फोनमा आउने केही समस्या र तिनको समाधानको बारेमा बताउँदै छौं । जुन हरेक एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले जानिराख्न जरुरी छ ।

फोन तात्ने समस्या

एन्ड्रोइड स्मार्टफोन तात्नु सबैका लागि एउटा साझा समस्याको विषय हो । खास गरेर गेमिङ वा भिडियो स्ट्रिमिङको समयमा फोन तात्ने गरेको समस्या प्रयोगकर्ताबाट सुन्नमा आइरहेको हुन्छ ।

यदि फोन केही मात्रामा तातिरहेको छ भने केही टिप्सको सहयोगमा त्यसलाई सामान्य बनाउन सकिन्छ । तर धेरै नै तात्ने गरेको छ भने चाहिँ तपाईंले सर्भिस सेन्टरमै जानुपर्ने हुनसक्छ ।

यदि फोन कल गर्दा, म्यासेज वा च्याट गर्दा समेत स्मार्टफोन तातिरहेको छ भने यो सफ्टवेयरका कारण सिर्जित समस्या हुनसक्छ । यसका लागि सबैभन्दा पहिला आफ्नो फोनमा रहेको सफ्टवेयरलाई अपडेट गर्नुहोस् ।

यस्तो समस्या पुराना स्मार्टफोनमा बढी मात्रामा देखिने गर्दछ । जुन इन्टरनल मेमोरी फुल हुँदा वा क्याश मेमोरी बढी हुँदाको अवस्थामा पनि देखा गर्दछ ।

यस्तोमा तपाईंले आफ्नो फोनबाट अनावश्यक डेटाहरु डिलिट गर्नुपर्ने हुन्छ । फोनको क्याश मेमोरी क्लियर गरिसकेपछि एकपटक स्मार्टफोनलाई रिस्टार्ट गर्नुहोस् । यसबाट तपाईंको समस्या धेरै हदसम्म समाधान हुनेछ ।

ब्याट्री चाँडै सकिने समस्या

नयाँ स्मार्टफोनमा ब्याट्रीले निकै मजेदार पर्फमेन्स दिइरहेको हुन्छ । तर केही समयपश्चात ब्याट्री चाँडै सकिने समस्या देखिन थाल्छ । फोन धेरै पुरानो छ भने ब्याट्री चाँडै सकिने समस्या देखिनु कुनै ठूलो विषय होइन ।

तर तपाईंको फोन बढीमा एक साल पुरानो भएको छ भने चाँडै ब्याट्री सकिनुमा अनेक कारण हुन सक्छन् । यस्तोमा तपाईंले केही टिप्सको सहयोगमा समस्याको समाधान गर्न सक्नुहुन्छ ।

यदि तपाईंको फोनको ब्याट्रीमै समस्या छ भने यसका लागि फेर्नुको अर्को विकल्प छैन । तर ब्याट्री चाँडै सकिनुको कारण अपरेटिङ सिस्टम वा सफ्टवेयर अपडेट पनि हुनसक्छ ।

स्मार्टफोन कम्पनीहरुले समय समयमा आफ्ना प्रयोगकर्ताका लागि नयाँ नयाँ अपडेट ल्याइरहेका हुन्छन् । ता कि यस्ता कुनै समस्याको समाधान गर्न सकियोस् ।

त्यसैले बेला बेलामा आफ्नो फोन अपडेट गर्न नबिर्सिनुहोस् । अपडेट पश्चात पनि यस्तो समस्या आइरहेको छ भने फोनमा कुन एपले सबैभन्दा बढी ब्याट्री खपत गरिरहेको छ भन्ने कुरा चेक गर्नुहोस् ।

त्यस्तो एपलाई अनइन्स्टल गर्नु नै उत्तम विकल्प हुनेछ । एप अनइन्स्टल गरिसकेपछि एकपटक फोनलाई रिस्टार्ट गर्नुहोस् ।

यस बाहेक फोनको ब्याकग्राउन्ड एप्सलाई बन्द गर्नुहोस् र ब्राइटनेसलाई पनि कम गर्नुहोस् । यसो गर्दा ब्याट्री चाँडै सकिने समस्याबाट पार पाउन सक्नुहुनेछ ।

एप डाउनलोड नहुने समस्या

कतिपय एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले एप डाउनलोड नहुने समस्याको सामना गरिरहेका हुन्छन् । यस्तोमा तपाईं हैरान हुनुपर्ने आवश्यकता छैन ।

यसका लागि केही सामान्य टिप्स अपनाउन सक्नुहुन्छ । जसबाट तपाईंको समस्या सहजै समाधान हुनेछ ।

यसका लागि सबैभन्दा पहिले आफ्नो फोनमो सफ्टवेयर अपडेट गर्नुहोस् । किन कि अपडेट पश्चात कयौं समस्याको समाधान स्वतः हुने गर्दछ । यस बाहेक प्ले स्टोरलाई समेत अपडेट गर्नुहोस् ।

यदि अपडेट पश्चात समेत यस किसिमको समस्या समाधान भएन भने प्ले स्टोरको क्याशलाई क्लियर गर्नुहोस् । यसका लागि फोनको सेटिङ हुँदै एप म्यानेजरमा जानुहोस् ।

त्यसमा तपाईंले क्लियर क्याशको अप्सन पाउनुहुनेछ । यसरी क्याश क्लियर गर्दा तपाईंको यस्तो समस्या समाधान हुनेछ ।

क्यामेरा बीचमै बन्द हुने समस्या

यस्तो समस्या बेहोर्ने प्रयोगकर्ता पनि थुप्रै हुने गर्दछन् । फोनको क्यामेरा अन गरेर फोटो खिच्न खोज्दा क्यामेरा क्र्याश भइरहेको हुन्छ ।

यसलाई तपाईं आफै समाधान गर्न सक्नुहुन्छ । फोनमा आउने धेरैजसो समस्या अपडेट पश्चात समाधान हुने गर्दछन् । त्यसैले यसका लागि पनि फोन अपडेट गर्नु नै पहिलो विकल्प हो ।

यदि फोनको अपडेट उपलब्ध छैन भने फोनको सेटिङहुँदै एप म्यानेजरमा गएर क्यामेरामा जानुहोस् । त्यसमा सबैभन्दा तल तपाईंले क्याश क्लियरको अप्सन देख्नुहुनेछ ।

त्यसमा दबाउनुहोस् । यति गरिसकेपछि क्यामेरा एपलाई फोर्स स्टप गर्नुहोस् । पाँच सेकेन्ड जति एपलाई डिसेबल गरेपछि इनेबल गर्नुहोस् । यसो गर्दा क्यामेरा क्र्याश हुने समस्या समाधान हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०