close

अमेरिकामा चुनावी अराजकतासँग जुध्न के गर्दैछन् सामाजिक सञ्जाल ?

टेकपाना टेकपाना

कात्तिक १६, २०७७ १४:१४

अमेरिकामा चुनावी अराजकतासँग जुध्न के गर्दैछन् सामाजिक सञ्जाल ?

काठमाडौं । मतदान भएकै रात चुनावी परिणाम आउने कुरामा धेरै अमेरिकीलाई विश्वास नै छैन । मतदान हुलाकबाट गरिने भएका कारण मतपरिणाम आउन सम्भवत: कैयौँ दिन लाग्न सक्छ।

यस्तो अनिश्चितताको समयमा नागरिक प्रदर्शन हुनसक्ने डर पनि छ । दुवै पक्षले आफ्नो विजयको दाबी गर्न सक्छन् र मतपरिणामबारे झुटा हल्लाहरु फैलाउन सक्छन् ।

सामाजिक सञ्जालमा व्यक्त हुने आक्रोश, झुटा समाचार र घृणास्पद अभिव्यक्तिहरूले थप तनाव बढ्न सक्छ । यस्तो अवस्थामा ठूला प्रविधि कम्पनीहरूले के गर्लान् ?

केही समयका लागि ती एप नै बन्द गर्नु अन्तिम विकल्प हुनसक्ने बीबीसीको विश्लेषण छ । सामाजिक सञ्जाल कम्पनीहरू भने सकेसम्म त्यस्तो अवस्था आउनै नदिने पक्षमा छन् ।

ट्वीटरले निर्वाचनको दिनपछि मतपरिणाम सार्वजनिक नहुन्जेल उम्मेदवारहरूलाई जितको दाबी गर्न नदिइने बताएको छ । कम्पनीका अनुसार निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने खालका विषयवस्तुहरु उम्मेदवारले ट्वीट तथा रिट्वीट गर्न पनि सक्ने छैनन् ।

ट्वीटरले अगाडि भनेको छ, ‘त्यस्तो अवस्थामा मानिसहरूलाई निर्वाचन अवस्थाबारे सटीक र अद्यावधिक विवरण शेयर गर्न निर्देशन दिइनेछ ।’

यसले के सङ्केत गर्छ भने ट्विटरले त्यस्ताखाले ट्वीटहरू हटाउने वा दबाउने छैन । तर ती ट्वीटहरूमा विशेष प्रकारको चिन्ह लगाइदिनेछ।

गत महिना फेसबुकका निक स्लेगले फाइनान्सियल टाइम्सका हानाह मर्फीसँग गम्भीर अवस्थामा आफूहरूसँग केही “ब्रेक-ग्लास अप्सन” रहेको बताएका थिए । तर ती विकल्पहरु के हुन् भन्ने विषयमा फेसबुकले स्पष्ट पारेको छैन ।

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार फेसबुकले हिंसा निम्त्याउन सक्ने र झुटा समाचारका भाइरल पोस्टहरूलाई नदेखिने बनाउने लगायतका उपायहरू तयार पारेको छ । त्यसमा चुनावबारे भ्रम फैलाउने केही ह्यासट्यागलाई डिएक्टिभेट गरिदिन समेत सक्नेछ ।

त्यसखाले उपायहरू फेसबुकले श्रीलङ्का र म्यानमारमा अपनाइसकेको छ । चुनावपछि निश्चित विवरण पाउन फेसबुकले समाचार संस्था रोयटर्ससँग मिलेट एउटा टिम समेत बनाइसकेको छ।

फेसबुक र ट्वीटरभन्दा रेडिट झन् एक कदम अगाडि देखिएको छ । चुनावी नतिजाबारेका गलत सूचना दिने कार्यलाई आफूले अनुमति नदिने र त्यस्ता सूचनाहरू हटाइने उसले स्पष्ट पारेको छ ।

कम्पनीले चुनावपछि के हुन्छ भन्ने जानकारी दिन एउटा पेज समेत बनाएको छ । उक्त साइटले चुनावपछि “आस्क मी एनिथिङ” कार्यक्रमका श्रृङ्खलाहरू पनि चलाउनेछ ।

मतदान विज्ञहरू मानिसहरूका प्रश्नको उत्तर दिन तयारी अवस्थामा रहनेछन् । गुगलले चुनावी नतिजाको सही सूचना दिन एसोसिएट प्रेस (एपी) सँग सहकार्य गरेको छ ।

त्यसैले चुनावपछि तपाईंले ‘कसले चुनाव जित्छ ?’ भनेर सर्च गर्नुभयो भने गुगलले तपाईंलाई एपीको चुनावी नतिजासम्बन्धी पेजमा पुर्‍याइदिनेछ ।

उसले चुनावपछि आफूले जित्ने दाबी गरिएका उम्मेदवारहरूको विज्ञापन पनि स्थगित गरिदिने बताएको छ । चुनावपछिका भ्रमहरु हटाउन त्यसो गर्न लागिएको गुगलले जनाएको छ ।

युट्युवले मतदान र लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्नेखाले भ्रामक दाबीहरूलाई अनुमति नदिने जनाएको छ । उसले हुलाकबाट गरिएको मतदानको नतिजालाई तोडमोड गर्न सकिन्छ भन्ने दाबी गरिएका सामग्रीहरू समेत हटाउने बताएको छ ।

स्न्यापच्याट अन्य भन्दा केही फरक देखिएको छ । अन्य सामाजिक सञ्जालमा जस्तो सामग्री भाइरल हुने न्यूज फlड यसमा छैन ।

यद्यपि उसले आफ्ना स्टारहरूलाई गलत सूचना नफैलाउन सचेत गराउने जनाएको छ । ती स्टारहरूका सामग्रीहरू स्नापच्याटको ‘डिस्कभर’ सेक्सनमा देखिन्छन् ।

कम्पनीको आन्तरिक कार्यदलले यस्ता गतिविधि रोक्न काम गर्ने गरेको छ । टिकटकले चाहिँ चुनावको समयमा फ्याक्ट चेक गर्ने स्वतन्त्र व्यक्तिहरूसँग मिलेर काम गरिरहेको छ ।

उसले चुनावसम्बन्धी गलत सूचनाहरू हटाइने स्पष्ट पारेको छ । कम्पनीले चुनाव सम्बन्धी गलत सूचनाबारे जानकारी दिन मिल्ने सुविधा पनि एपमा थपेको छ । त्यसका आधारमा प्रयोगकर्ताले गलत सूचनाबारे टिकटकलाई सूचित गर्न सक्नेछन्।

समग्रमा हेर्दा सामाजिक सञ्चालहरू चुनाव र चुनावपछिको अवस्थालाई लिएर निकै गम्भीर देखिएका छन् । तर यी कम्पनीहरुले अपनाउने उपायहरु कति पर्याप्त छन् वा छैनन् भन्ने कुरा भने हेर्न बाँकी छ ।

बीबीसीबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०